सगरमाथा आरोहणमा गएका दु्ईमा कोरोना संक्रमण, उद्धार गरी काठमाडौँ ल्याइयो

सगरमाथा आधार शिविरमा आरोहण दल टेन्ट लगाएर बसेका छन् । तस्बिर : निरज सेढाईँ

काठमाडौँ– विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट स्वास्थ्यमा समस्या देखिएपछि उद्धार गरी ल्याइएका कम्तीमा दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहणको क्रम चलिरहेको छ।

सगरमाथा आरोहणका लागि सगरमाथाको बेसक्याम्प पुगेका मध्ये दुईजनालाई स्वास्थ्य समस्या देखिएपछि उद्धार गरी काठमाडौँको अस्पताल ल्याइएको थियो। उनीहरुमा कोरोना भाइरसको संक्रमण पनि पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्याको उपचार गर्दै आएको काठमाडौँको सिविक अस्पतालमा अहिले उपचार भइरहेका मध्ये दुईजनामा कोरोना भाइरसको संक्रमण पनि देखिएको छ। अस्पताल स्रोतले भन्यो, ‘सगरमाथाको आधार शिविर क्षेत्रबाट उद्धार गरी ल्याइएका दुईजनामा कोरोना भाइरसको संक्रमण पनि देखिएको छ। उनीहरु दुवै विदेशी नागरिक हुन्।’

उनीहरुलाई केही दिन पहिले उद्धार गरि काठमाडौँ ल्याइएको हो। सगरमाथासहितका हिमालको आरोहण अनुमित प्रदान गर्ने पर्यटन विभागले भने अहिलेसम्म सगरमाथा आरोहणका लागि अनुमति लिएर आधार शिविरसम्म पुगेका मध्ये सकैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी आफूहरुसँग नरहेको दाबी गरेको छ।

विभागकी निर्देशक मिरा आचार्यले भनिन्, ‘कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएपछि मात्रै आरोहण अनुमति प्रदान हुन्छ। अहिलेसम्म हामीले अनुमति दिएका र आधार शिविर पुगेका मध्ये कसैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी हामीलाई छैन।’

उनले भनिन्, ‘आधार शिविरबाट स्वास्थ्यमा समस्या देखिएपछि उद्धार गरिएका एक विदेशी नागरिकलाई निमोनिया भएको जानकारी डाक्टरले दिएका छन्। तर कोभिड–१९ पुष्टि भएको जानकारी हामीलाई छैन।’

विभागले संक्रमणबारे जानकारी नरहेको बताए पनि उद्धार गरि ल्याइएका बिरामीको उपचार भइरहेको काठमाडौँ स्थित अस्पतालले भने आधार शिविरबाट ल्याइएका दुई विदेशी नागरिकमा कोरोना संक्रमण पुष्टि भएको र हाल उपचार जारी रहेको जानकारी दिएको छ।

सगरमाथा आधार शिविर । तस्बिर : निरज सेढाईँ

यसअघि द आउटसाइड नामक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गोप्य स्रोतलाई उद्धृत गर्दै आधार शिविरमा पुगेका एक आरोहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको खबर प्रकाशित गरेको थियो। सो खबर अनुसार ती व्यक्तिमा देखिएको स्वास्थ्य समस्यालाई अल्टिच्युड सिकनेसका रुपमा लिइएको र उपचार गर्दा पनि निको नभएपछि उद्धार गरि काठमाडौँ ल्याइएको थियो। काठमाडौँमा परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्रोतलाई उद्धृत गर्दै आइटसाइडले लेखेको छ।

हिमालयन रेक्यू एशोसिएशनबाट डाक्टरसहितको टोली सगरमाथाको आधार शिविरमा आरोहण दलका सदस्यहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न तथा आवश्यक परेको अवस्थामा उद्धारका लागि खटिएको छ। हाल आधार शिविरमै रहेका डा. प्रकाश खरेलका अनुसार आफूहरुसँग कोरोना भाइरसको संक्रमण रहे–नरहेको पुष्टि गर्नका लागि प्राविधिक क्षमता नरहेको बताए।

डा. खरेलले भने, ‘हामीले स्वास्थ्य समस्या देखिएका व्यक्तिको उपचार गर्ने गरेका छौँ। यहाँ सम्भव नभएकाहरुलाई उद्धार गरि सम्बन्धित एजेन्सी मार्फत काठमाडौँ पठाउने गरिएको छ। हामीले यहाँ नै कोभिड–१९ को परीक्षण गर्न सक्ने अवस्था छैन।’

उच्च हिमाली क्षेत्रमा देखिने ‘हाइ अल्टिच्युड सिकनेश’ का लक्षणहरु कोरोना भाइरसको संक्रमणका लक्षणसँग मिल्दाजुल्दा हुने भएकाले सावधानी भने अपनाइएको डा. खरेलले बताए। कोरोना भाइरसको संक्रमण फैलिने क्रम जारी रहे पनि यो वर्ष सगरमाथासहितका हिमालहरुको आरोहण भने रोकिएको छैन।

गएको वर्ष कोरोना भाइरसको महामारीका कारण आरोहण रोकिएको थियो। तर यसपटक सम्पूर्ण सुरक्षा मापदण्ड पूरा गरेर आरोहण खुला गरिएको पर्यटन विभागले जनाएको छ। अहिलेसम्म (मंगलबार, वैशाख ७ गते) विभागले सगरमाथा आरोहणका लागि ३९ टिमका २८४ पुरुष र ८७ महिला गरि कुल ३७१ जनालाई अनुमति प्रदान गरिसकेको छ।

यसअघि सन् २०१९ मा कुल ३८१ जनाले सगरमाथा आरोहणको अनुमति पाएका थिए। यो वर्ष अझै अनुमति दिने क्रम जारी रहेकाले संख्या पछिल्लो पटकको भन्दा बढि हुने लगभग निश्चित छ। आधार शिविरमा आरोहण दलको भिडभाड भइसकेको र भौतिक दूरी पनि त्यति कायम नरहेको त्यहा रहेकाहरुले जानकारी दिएका छन्।

बैशाख ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्