सगरमाथाः संक्रमण जोखिमका बाबजुद विगत भन्दा धेरैलाई आरोहण अनुमति

सगरमाथा आधार शिविर । तस्बिर: ट्वीटर ह्याण्डल @Everest_NP बाट

काठमाडौँ – बढ्दो क्रममा रहेको कोरोना भाइरसको संक्रमण तथा उच्च हिमाली क्षेत्रसम्मै जोखिमका बाबजुद वसन्त ऋतुको आरोहण सिजनका लागि अनुमति लिनेको संख्या विगतको भन्दा बढि पुगेको छ।

पर्यटन विभागका अनुसार शुक्रबारसम्म ३९४ जना विदेशी आरोहीले यो सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति पाएका छन्।

सगरमाथा आरोहणका लागि एक सिजनमा कति आरोहीलाई अनुमति प्रदान गर्ने भन्ने कानूनी व्यवस्था छैन। निर्देशक आचार्यका अनुसार कानूनले तोकेको आधार पूरा गरेर आउने सबैलाई अनुमति प्रदान गरिने छ।

८ हजार ८४८.८६ मिटर उचाईको सगरमाथा आरोहणका लागि गएको शुक्रबार (वैशाख १० गते) सम्ममा ४२ टिमका ३०३ पुरुष र ९० महिला गरि कुल ३९४ जनालाई आरोहण अनुमति प्रदान भएको विभागकी पर्वतारोहण शाखाकी निर्देशक मिरा आचार्यले जानकारी दिएकी छन्।

गएको चैत १३ गते विभागले यो वर्षका लागि पहिलो आरोण अनुमति जारी गरेको थियो। यो वर्षको वसन्त ऋतु सिजनमा पहिलो आरोहण अनुमति पाउनेमा बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको १६ सदस्यीय टोली थियो।

यो पटक आरोहण गर्नेहरुले उचाई थपिएको सगरमाथा चढ्ने छन्। गत वर्ष नेपाल र चीनले संयुक्त रुपमा गरेको मापनमा सगरमाथाको उचाइ केही बढेर ८ हजार ८४८.८६ मिटर पुगेको थियो। त्यसअघि सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर थियो।

आरोहण अनुमतिका लागि लिइने शूल्क बापत हालसम्म सगरमाथाबाट मात्रै ४७ करोड ७७ लाख ७४ हजार भन्दा धेरै राजश्व संकलन भएको विभागले जनाएको छ। सन् २०१९ मा सगरमाथा आरोहणका लागि ३८१ जनलाई विभागले अनुमति दिएको थियो।

सगरमाथा आधार शिविरमा संक्रमण नियन्त्रण प्रयासका लागि भौतिक दूरी कायम गरिएको पर्यटन विभागले दाबी गर्दै आएको छ। तस्बिरः पर्यटन विभागकी निर्देशक मिरा आचार्यको ट्वीटरबाट

गएको वर्ष कोरोना भाइरसको महामारीका कारण आरोहण रोकिएको थियो। तर यो वर्षको वसन्त ऋतु सिजनमा महामारी नियन्त्रणका सबै उपाय अपनाएर आरोहण खुला गरिएको विभागले जनाएको छ। आरोहणका लागि जान चाहनेले कोरोना संक्रमण नभएको रिपोर्ट पेश गर्नु पर्छ।

यति हुँदा हुँदै पनि अनुमति लिएर सगरमाथा आधार शिविर पुगेका कम्तीमा दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएको स्रोतहरुले बताएका छन्। यसबारे अहिलेसम्म पर्यटन विभागले आधिकारिक जानकारी भने दिएको छैन। आफूहरुलाई अहिलेसम्म आधार शिविर पुगेका कसैमा कोरोना संक्रमण भएको खबर नरहेको विभागले बताउँदै आएको छ।

आरोहीमा संक्रमण र मुख्य दिनमा भिडको चिन्ता


सगरमाथाको आधार शिविर पुगेका केहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अवस्थामा त्यहाँ अरु आरोहीहरुमा फैलिन सक्ने संक्रमणलाई लिएर चिन्ता थपिएको छ। तर पर्यटन विभाग भने सावधानीका सम्पूर्ण उपायहरु लागु गरिएको र आरोहीको सुरक्षाको पूर्ण ख्याल गरिएको दाबी गर्छ।

३९४ जनाले आरोहण अनुमति लिएको तथा अझै केही अनुमतिको पर्खाईमा रहेको अवस्था छ। यसले गर्दा आधार शिविर तथा आरोहणको क्रममा मौसमी अवस्था राम्रो भएको दिनमा सगरमाथामा भिडभाड उच्च हुने सम्भावनालाई लिएर चिन्ता थपिँदै गएको छ।

सन् २०१९ को आरोहणको मुख्य दिनमा सर्वोच्च शिखरको सगरमाथाको माथिल्लो भागमा आरोहीको भिड अत्याधिक देखिएको थियो। अहिले पनि यो वर्षको आरोहण मुख्य दिनमा सगरमाथामा आरोहीको ‘ट्राफिक जाम’ हुन सक्ने अवस्थालाई लिएर चिन्ता थपिएको हो। यो वर्ष कोरोना भाइरसको संक्रमणको जोखिम र भिडलाई लिएर गम्भीर सावधानी नअपनाइए अवस्था असहज हुन सक्ने विज्ञले बताएका छन्।

सगरमाथा आधार शिविरमा आरोहण दल टेन्ट लगाएर बसेका छन् । तस्बिर : निरज सेढाईँ

भिड नियन्त्रणका लागि भन्दै गएको बुधबार पर्यटन विभागले कोटा प्रणाली लागु हुने नियम जारी गरेको थियो । आरोहण अनुमितका आधारमा पहिलो ‘वेदर विन्डो’ (मौसमी रुपमा शिखरमा पुग्नका लागि उपयुक्त समय) मा आरोहण गर्न पाउने छन् । पहिलो, दोस्रो तथा उपयुक्त हुने समयमा अधिकतम १७० आरोहीले शिखर चुम्न पाउने गरि विभागले नयाँ नियम जारी गरेको हो । तर सो नियम अनुसार हुन नसकेमा आरोहीले आपसमा सहकार्य गर्न सक्ने उल्लेख छ । सगरमाथाको शिखर चुम्नका लागि मे को दोस्रो हप्तादेखिएको समय उपयुक्त मानिन्छ ।

हिमालयन रेक्यु एशोशिएसन मार्फत सगरमाथा आधार शिविरमा आरोहीहरुको स्वास्थ्य सेवा तथा उनीहरुको उद्धारका लागि खटिएका डा. प्रकाश खरेलले आफूहरुलाई सेवा प्रदानका लागि भ्याइनभ्याइ रहेको बताएका थिए। केही दिनअघिको कुराकानीको क्रममा उनले आरोहीको संख्या थपिँदै जाँदा दिनु पर्ने सेवाको चाप पनि बढ्ने बताएका थिए।

आरोहीको संख्या अधिक हुँदा उनीहरुको स्वास्थ्य सेवा तथा हिमालमा हुन सक्ने ट्राफिक जाम मात्र नभई हिमालको बहन क्षमतालाई लिएर पनि चिन्ता हुने गरेको छ। जलवायु परिवर्तनका असरहरु देखिन थालेको सगरमाथासहितका हिमाली क्षेत्रमा आरोही बढि हुँदा उनीहरुले छोड्ने सामग्रीका कारण फोहोर बढि हुने भन्दै संरक्षणकर्मीले चिन्ता जताउँदै आएका छन्।

सरकारी पहलमा सफा हिमाल अभियान अन्तर्गत सफाई टोलीको नेतृत्व गरेर आधार शिविर पुगेका नेपाली सेनाका सेनानी आदित्य कार्कीका अनुसार आधार शिविर तथा त्यो भन्दा माथि पनि अत्याधिक मात्रामा फोहोर देखिएको छ।

 

बैशाख ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्