साप्ताहिक विश्लेषण (वैशाख ५ देखि ११)

काेराेना भाइरस: नेपालको अवस्था दक्षिण एसियामा सबै भन्दा खतरापूर्ण

कोरोना प्यान्डेमिकले विश्वलाई कैयौँ पटक झट्का हानिसकेको अवस्थामा दक्षिण एसियालाई दोस्रो पटक यसको झट्का लाग्दै छ। धेरैलाई थाहा नहुन सक्दछ कि दक्षिण एसियाको यसपालीको झट्का पहिलोभन्दा करिब तीन गुणा ठूलाे भइसकेकाे छ।

ओर्ल्ड़ोमिटर (Worldometer) र WHOका अनुसार दक्षिण एसियामा प्यान्डेमिकको  पहिलो झट्का गत वर्षको सेप्टेम्बर महिनातिर उच्च बिन्दुमा पुग्दा अधिकतम दैनिक करिब ८५०००-९५००० नया संक्रमित पुग्थे भने हाल यो संख्या ३५०००० को हाराहारीमा पुगिसकेको छ।

हाल दैनिक रुपमा विश्वको कुल नयाँ कोरोना संक्रमितको करिब ४० प्रतिशत यस क्षेत्रमा देखिन थालेको छ भने विश्वको कूल दैनिक कोरोना मृत्युको २० प्रतिशत भन्दा धेरै यहीँ देखिन थालेको छ।

माथिको तथ्यबाट पछिल्लो समयमा भूगोलको यस क्षेत्रमा कसरी कोरोना संक्रमण र प्यान्डेमिकले आतंक मच्च्याइरहेको छ भन्ने कुरा स्पष्ट हुन्छ। याे स्थिति दक्षिण एसियाका लगभग सबै देशहरुकाे छ। भुटानमा यस वर्ष फेब्रुअरी र मार्च दुई महिनामा जम्मा १३ जना मात्रै नयाँ संक्रमण देखिएकोमा अप्रिल महिना को १ देखि २३ सम्म जम्मा १३२ जना नयाँ संक्रमण देखिइसकेको छ।

भारतमा हरेक दिन तीन लाखभन्दा धेरै नया संक्रमण र दुई हजारको हाराहारीमा नयाँ कोरोना मृत्यु देखिनु अनौठो हुन छाडेको छ। त्यहाँ दैनिक पोजिटिभिटी अर्थात् दैनिक संक्रमण दर हाल करिब १९ प्रतिशत पुगेको छ। बंगलादेशमा झन्डै विगत तीन हप्तादेखि दैनिक पोजिटिभिटी २० प्रतिशत भन्दा उच्च रहिआएको छ भने पाकिस्तानमा करिब १० प्रतिशत जति छ।

नेपालमा पछिल्लो समयमा दैनिक संक्रमण गुणात्मक हिसाबले वृद्धि हुँदै गई दैनिक संक्रमण दर २५ प्रतिशत नाघिसकेको छ। नेपालमा प्यान्डेमिकको इतिहासमा गतवर्ष २०७७ साल कत्तिक १ देखि १४को दुई साता (सन् २०२० अक्टोबर १७-३० ) को समय संक्रमण अधिकतम देखिएको समय थियो जुन बेला दैनिक संक्रमण दर औसतमा २३ प्रतिशत रहेको थियो।

त्यति बेला दैनिक परीक्षण करिब १२०००-१५००० जति गर्ने गरिन्थ्यो। विसं २०७७ कत्तिक १० सोमबारका दिन (२०२० अक्टोबर २६) का दिन संक्रमण दर ३४ प्रतिशत नाघेको थियो जुन त्यति बेला विश्वकै उच्च संक्रमणदर मध्ये एक थियो। त्यस दिन ५००६ मात्रै परीक्षण गरिएकोमा १७४१ मा संक्रमण देखिएको थियो।

त्यसपछिको उच्च संक्रमणदर अक्टोबर २१ का दिन देखियो जुन दिन जम्मा २०११८ परीक्षण गरिएको मा ५७४३ नया संक्रमण देखिएको थियो। यो त्यही दिन थियो जुन दिन नेपालमा हालसम्म सबैभन्दा धेरै PCR परीक्षण गरिएको थियो र फलस्वरूप सबैभन्दा धेरै नयाँ संक्रमण पनि देखिएको थियो।

भाग्यवस त्यसपश्चात बिना कुनै विशेष प्रयास नेपालमा कोरोना संक्रमण क्रमिक रुपमा घट्दै गयो। वर्तमान अवस्थामा औसतमा दैनिक करिब ८००० परीक्षण गर्दा पोजिटिभिटी अर्थात् संक्रमण दर २५ प्रतिशत पुगेको छ भने पहिला जस्तै दैनिक २०००० परीक्षण गर्‍याे भने यो दर अझै उच्च भई दैनिक संक्रमण निकै धेरै पुग्ने देखिन्छ।

चित्र नम्बर १ मा, ओर्ल्ड़ोमिटरका अनुसार, विश्व र दक्षिण एसियाको विगत ८  दिनको दैनिक संक्रमण देखाइएको छ जसले हरेक दिन संक्रमणको संख्या बढ्दै गएको देखाउँछ। यस चित्रले विश्व र दक्षिण एसियाको दैनिक संक्रमणको तुलनात्मक चित्रण पनि गरेको छ।

त्यस्तै चित्र न. २ ले दक्षिण एसिया र विश्वको बाँकी भागमा विगत  ८ दिनको दैनिक संक्रमणको अनुपात देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो समयमा दक्षिण एसियामा विश्वको कुल दैनिक नयाँ संक्रमण मध्ये ४०% भन्दा धेरै देखिन थालेको छ जुन अति भयानक र भयाभह अवस्था हो। यदि प्यान्डेमिकको  यही क्रम जारी रहने हो भने निकट भविष्यमा  विश्वको आधाभन्दा धेरै दैनिक संक्रमण दक्षिण एसियामा देखिने निश्चित छ।

स्मरण रहोस्  विश्वको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या दक्षिण एसियामा रहेको छ। जति धेरै संक्रमित थपिए उति धेरै उपचारको हिसाबले मात्रै होइन सामाजिक र आर्थिक हिसाबले पनि समाज र सिंगो देशमा भोकमरी लगायत अन्य अपराधिक गतिविधि बढ्ने सम्भावना हुन्छ जस्तो अहिले ब्राजिलमा भइराखेको छ।

चित्र न. ३ ले पछिल्लो अवास्थामा दक्षिण एसियामा दैनिक संक्रमण र दैनिक मृत्यु देखाएको छ जुन तीव्र गतिमा बढ्दै गएको छ। त्यस्तै चित्र न.४ ले आवर ओर्ल्ड इन डाटा (Our World in Data)र जोन्स होप्किन्सविश्वविद्यालय (Johns Hopkins University)ले साप्ताहिक औसतको रुपमा हिसाब गरेको दक्षिण एसियाका विभिन्न देशहरुको दैनिक संक्रमण दर (पोजिटिभिटी ) देखाएको छ।

यस क्षेत्रमा बंगलादेशको संक्रमण दर सबैभन्दा धेरै छ जुन विगत केही हप्ता देखि करिब २० प्रतिशत जतिमा स्थिर देखिन्छ। हाल त्यहाँ लकडाउन गरिएको हुनाले संक्रमण दर स्थिर रहेता पनि अझै यो दर अति उच्च छ। स्मरण रहोस् WHO का अनुसार ५ प्रतिशत भन्दा धेरै संक्रमणदर हुनु भनेको प्यान्डेमिक अनियन्त्रित हुनु हो।

चित्रमा देखाइए जस्तै नेपालको दैनिक संक्रमण दर अन्य देशहरुको दाँजोमा निकै तीव्र गतिमा उकालो लागेको देखिन्छ र हाल नेपाल दक्षिण एसियामा साप्ताहिक औसत संक्रमण दरको हिसाबले दोस्रो स्थानमा छ। चित्रमा देखाइए जस्तै सक्रमण दर वृद्धिको गति नेपालमा सबैभन्दा उच्च देखिन्छ। यस्तै रहे संक्रमण दरको हिसाबले अर्को हप्ता नेपाल पहिलो स्थानमा पुग्ने निश्चित छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) द्वारा जारी गरिएको विवरण अनुसार दक्षिण एसियामा अप्रिल २२ बिहीबारका दिनसम्म जम्मा १ कराेड ७९ लाख १५ हजार २ सय २० जना कोरोना संक्रमित भइसकेका छन् भने २ लाख १८ हजार ४०९ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

गतहप्ता साताभरि जम्मा १८ लाख ६४ हजार २६१ जना नयाँ कोरोना संक्रमित र १२ हजार ९ सय ६० जना नयाँ मृत्यु थपिए।  गत चार साताको साप्ताहिक कोरोना संक्रमण र साप्ताहिक मृत्यु सुरु देखि पछिल्लो सातासम्म क्रमसः ५२१४०२ र  ३२४२, ७६८९५५ र ४७०८, १३१११२८ र ८००३, १८६४२६१ र १२९६० रह्यो जुन तीव्र गतिमा बढ्दै गएको देखिन्छ। यसरी दक्षिण एसिया फेरि एक पटक कोरोना प्यान्डेमिकको केन्द्र र प्रमुख हिस्सा बन्दै गएको पुष्टि भएकोछ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,सन् २०२१ अप्रिल १८ देखि २४ (बि सं २०७८ वैशाख ५देखि ११) जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन्। जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि। 

गत हप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उताभचडाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ।

दैनिक नयाँ संक्रमण


यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो। गतहप्ता सन् २०२१ एप्रिल १८ देखि २४ (बि सं २०७८ वैशाख ५देखि ११) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमितको संख्या चित्र न.५ मा प्रस्तुत गरिएको छ।

चित्रमा देखाइए जस्तै गतहप्ता अघिकोभन्दा केही धेरै संख्यामा परीक्षण गरिएको छ र त्यही अनुसार नयाँ संक्रमण पनि बढ्दै गएको देखिन्छ। त्यस्तै गत हप्ताको पूर्वाधमा परीक्षण केही धेरै गरिए तापनि उत्तरार्धमा परीक्षण केही कम गरिएको छ। यद्यपि दैनिक संक्रमणको संख्यामा भने कमि आएको देखिँदैन। प्रशस्त परीक्षण गरिए वास्तविक संक्रमण पनि अहिलेकोभन्दा धेरै हुने निश्चित छ।

यस्तो अवस्थामा प्रशस्त परीक्षण गरी प्यान्डेमिकको सही मापन र व्यवस्थापन गरी एकातिर जनस्वास्थ्यको सुरक्षा गर्नु जरुरी छ भने अर्कोतिर सामाजिक जनजीवन तथा आर्थिक गतिविधिलाई पनि निरन्तरता दिनु अत्यावश्यक छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता वैसाख ११ गते शनिबारसम्म देशभरि जम्मा १३ हजार ४ सय २९ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या २९७०८७ पुगेको छ। यसरी चैत्र महिनाको साप्ताहिक जम्मा संक्रमण हेर्ने हो भने सुरुदेखि पछिल्लो  समयसम्म क्रमसः ६५१, ९२१, १०१८, १९५७ बाट ३९३३ पुगेको थियो भने वैशाखको पहिलो हप्ता यो संख्या ४ गुणाभन्दा धेरैले बढेको छ। यस अर्थमा नयाँ वर्ष नेपालको लागि शुभ नहुने संकेत देखिएको छ जसको लागि नेपाल सरकार र समस्त नेपाली जनता होशियार हुनु पर्ने देखिन्छ।

त्यस्तै चैत्र महिनाको साप्ताहिक जम्मा मृत्यु हेर्ने हो भने सुरु देखि पछिल्लो  समयसम्म क्रमसः २, ११, ५,७ बाट ३६ पुगेको थियो भने वैशाखको पहिलो हप्ता यो संख्या ६१ पुगेको छ। यसले नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण निकै तीव्र गतिमा बढ्दै गई दक्षिण एसिया मात्रै होइन नेपाल पनि कोरोना संक्रमणको केन्द्र बन्दै गएको देखिन्छ।

चित्र न.६ ले नेपालको देशभरिको जम्मा दैनिक संक्रमण र काठमाडौँ उपत्यकाको जम्मा दैनिक संक्रमणको तुलनात्मक विश्लेषण देखाएको छ। चित्रमा देखाइए जस्तै गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको ४३.७७% देखिन्छ अर्थात् आधा भन्दा कम देखिन्छ।

दुई हप्ता अगाडि काठमाडौँको कोरोना संक्रमण समग्र नेपालको करिब ४४.८४% थियो। यसरी पछिल्लो समयमा कोरोना संक्रमणको ठूलो हिस्सा काठमाडौँ बाहिर बढ्दै गएको देखिन्छ। यसरी पछिल्लो समय दैनिक संक्रमण काठमाडौँ उपत्यकाभन्दा बाहिर धेरै देखिनुले सीमा पारीबाट आएका र मानिसको आवतजावत धेरै हुने ठाउँमा धेरै संक्रमण भेटिएको संकेत  गर्दछ।

गत शनिबार  धेरै  संक्रमण देखिएका जिल्लाहरुमा क्रमसः बाँके-३५२, रुपन्देही-२६८, दांग-१७२, चितवन -१२३,कैलाली-८२, पर्सा -६८ आदि छन्। प्यान्डेमिकको पहिलो लहरको बेला काठमाडौँमा ७०% सम्म संक्रमण देखिएको थियो भने हाल यो अवस्था उल्टिएको हुनाले बढी संक्रमित ठाउँबाट अर्को ठाउँमा मानिसको आवत जावत नियन्त्रण गर्नु पर्ने देखिन्छ।

दैनिक संक्रमण (पोजिटिभिटी)दर(Positivity Rate)


प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटीदर (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ। चित्र न.७ले  नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ ।

गत हप्ता नेपालको प्यान्डेमिक उकालो लाग्ने क्रम जारी रहेको देखिन्छ। गतहप्ता पोजिटिभिटीदर न्यूनतम १७.५३% देखि अधिकतम ३३.०४% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर२३.९७%  रह्यो।

चैत्र महिनाको सुरुदेखि पछिल्लोसातासम्मकोऔसत पोजिटिभिटी दर क्रमसः ३.१६%,३.५५%, ४.५%, ७.०४%,१२.४२% रहेका थिए। स्मरण रहोस् WHO का अनुसार पोजिटिभिटी ५% भन्दा धेरै हुनु प्यान्डेमिक अनियन्त्रित भएको लक्षण हो।

दैनिक संक्रमण ३३% हुनु भनेको विश्वकै उच्च मध्ये एक हो र दक्षिण एसियामा गत हप्ताको साप्ताहिक औसतको हिसाबले संक्रमण दर बंगलादेशको सबैभन्दा धेरै भए तापनि दैनिक संक्रमण दरको हिसाबले नेपालको पछिल्लो संक्रमण दर यस क्षेत्रका अन्य देशहरुभन्दा निकै माथि पुगेको देखिन्छ। यो निकै ठूलो खतराको सूचक हुन सक्दछ।

संक्षेपमा माथिका तथ्यांकहरुबाट अधिकांश दक्षिण एसियाली देशहरुमा प्यान्डेमिकको अवस्था तीव्र गतिमा वृद्धि हुँदै गएको देखिन्छ र पछिल्लो समयमा यस क्षेत्रको प्यान्डेमिकको  दोस्रो लहर पहिलो भन्दा तीन गुणा ठूलो भइसकेको छ। नेपालको अवस्था अन्यको भन्दा झनै खतरापूर्ण भएको छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। प्यान्डेमिकको पहिलो लहरबाट लिएको अनुभव र शिक्षालाई फेरि एक पटक व्यवहारिक रुपमा नेपाल सरकार र नेपाली जनताले लागु गर्ने पर्ने बेला आएको छ।

विशेष गरी हाल नेपाल र  छिमेकी राष्ट्रहरुमा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको हुनाले नेपालले कोरोना प्यान्डेमिकलाई नियन्त्रण गर्न र छिमेकबाट संक्रमण आयातित हुनबाट रोक्न सम्पूर्ण प्रयाश गर्नु पर्ने दखिन्छ। नेपाली जनताले पनि प्यान्डेमिकको पछिल्लो यथार्थ बुझी आफ्नो तर्फबाट गर्न सक्ने होशियारी तथा सतर्कता हरपल यथासक्य पालना गर्नु पर्दछ।

हरेक व्यक्तिले भौतिक दूरी कायम  गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ।

prabinshrestha@hotmail.com

(डा. श्रेष्ठ बीएण्डबी अस्पताल ग्वार्को, ललितपुरका कन्सल्टेन्ट न्यूरोसर्जन हुन्।)

बैशाख १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्