फेरि शुरू भएको छ

नदीका किनार र मसानघाटतिर

लासको गन्ती

डढ्दै गरेका

कुनै पालो नपाएर लाइनमा कुर्दै गरेका !

……………

फेरि शुरू भएको छ

चिच्याहट !

बिरामीको- डाक्टरको-कुरूवाको-

भेट्न जाने शुभेच्छुकको-

भर्खरै भेन्टिलेटरमा उपचार गर्दा गर्दै बितेको आफन्तको ।

…………………

फेरि शुरू भएको छ कोरोनाको वंशवृद्धि !

भोजमा,भतेरमा, माइक्रोबसमा, धरहरामा

शाही स्नानमा- घाटमा

गाउँ शहरमा- हाटमा

तिमीले सुनेनौ ?

भोजमा छौ यतिबेला,

बिहेको भोजमा

मोजमा छौ यतिबेला

शहरको मोजमा…

धरहरा अग्लियो- चियर्स !

रानीपोखरी फैलियो- चियर्स !

क्रिकेट जितियो- चियर्स !

मेलम्ची छेलोबेलो भो- चियर्स !

हरामहरूको भीडमा,

बल्ल रामलाई घडेरी मिलाइयो- चियर्स !

पुरातत्व कता छ कुन्नि !

पूरा तत्वहरू भिडाइयो- चियर्स !

तुन्कीको तालमा झल्लिँदै कुनामा कवि गाउँछ-

     छैन कोही गरीब यो शहरमा सबै भएछन् अमिर,

वनमा सक्किसक्यो गुर्जो सबै मुर्ख खोज्छ पालक पनिर !

………………..

जब नेपालगन्ज दुख्दैन

दाङ दर्दराउन्न

काठमाडाैँ काँप्दैन

एउटा कुरा निश्चित छ-

अनिष्ट अवश्यम्भावी छ ।

लाग्छ-

आज पनि ‘ धृतराष्ट्र्’ जस्तै दुरूस्त छ मति

आज पनि ‘गान्धारी’ बनेको छ सत्ताको जिद्दी !

मसानघाटतिर,

फेरि किन दौड्दैछ ‘शकुनि’ ?

घाटे वैद्यको थप तथ्याङ्क लिएर

निराश भई घर फर्किए फर्किएनन् ‘विदुर’ खै कुन्नि !

…………………

फेरि शुरू भएको छ भीड

यता ज्योतिषको डेरामा …..

     वृष लग्नको कुण्डलीमा

मख्ख देखिन्छ अनुहार !

नवौँ भाव (भाग्यस्थान)मा छ लग्नेश या नि कि शुक्र !

त्यसैले भाग्यमानी छ अनुहार !

राज्यस्थानमा छ भानु या नि कि सूर्य !

त्यसैले सत्तान्धो छ अनुहार !

भक्तको जिज्ञासा-

     गुरू ! छक्याउँछ, झूट बोल्छ अनि कुरा बढी कम काम !

ज्योतिषको वाणी-

ठीकै हो, दशौँ भावमा छन् बुध र राहु

त्यसैले ल्याउँछन् वाकपटुता अनि छलछाम !

छोराको चिना देखाउने मख्ख छ-

आत्मालाप गर्दैछ-

शायद देश चलाउनेहरूको पनि यस्तै पो चिना हो कि !

या हाम्रै छोराले पो अब देश चलाइरहने हो कि !!!

बैशाख १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्