काेराेना भाइरस

कोभिडका बिरामीले अस्पताल भरिभराउ, आइसियु र भेन्टिलेटर पाउन हम्मे

काठमाडौँ – कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै देशका विभिन्न अस्पतालमा बिरामीले बेड (शैय्या) पाउन छाडेका छन्। शैय्या अभावमा उपचार सेवा प्रभावकारी हुन सकेको छैन।

अझ संक्रमणबाट गम्भीर भएका बिरामीहरु आइसीयू वा भेन्टिलेटरमा राख्नु पर्छ । तर गम्भीर बिरामी आइसीयू तथा भेन्टिलेटर नपाउने अवस्थामा पुगेका छन्। गम्भीर प्रकृतिका बिरामीलाई आक्सिजनको सहायता चाहिन्छ, सो सुविधा नपाएमा उनीहरुको अकालमै ज्यान जाने जोखिम हुन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार देशभर २ जना ५२ जनाको आइसीयूमा उपचार भइरहेको छ भने ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। जसमध्ये सबै भन्दा धेरै बागमती प्रदेशमा उपचाररत छन्। बागमती प्रदेशमा विभिन्न अस्पतालका आइसीयूमा १२७ जना उपचाररत छन् भने भन्टिलेटरमा ४४ जना छन्।

बागमती प्रदेशका विभिन्न अस्पतालमा गरी आइसीयू बेड संख्या ५८९ रहेका छन् भने २६५ भेन्टिलेटर छन्। बागमती प्रदेशपछि दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ। जहाँ आइसीयूमा ६४ जनाको र भेन्टिलेटरमा १६ जनाको उपचार भइरहेको छ। यो प्रदेशमा आइसीयू बेड संख्या ११४ र भेन्टिलेटर बेड संख्या ५८ छ।

फाइल तस्बिर।

बागमती र लुम्बिनी प्रदेशपछि प्रदेश १ छ, जहाँ आइसीयूमा २१ जनाको उपचार भइरहेको छ भने भेन्टिलेटरमा कुनै पनि बिरामी छैनन् । यो प्रदेश विभिन्न अस्पतालमा गरि आइसीयू बेड संख्या ११० छ भने भेन्टिलेटर बेड संख्या भने ४० रहेको छ।

यस्तै कर्णाली प्रदेशमा आइसीयूमा १६ जना उपचाररत छन्। यो प्रदेशमा आइसीयू बेड संख्या ३४ तथा १२ वटा भेन्टिलेटर उपलब्ध छन्।

पाँचौँ नम्बरमा सुदूरपश्चिम प्रदेशमा रहेको छ। जहाँ आइसीयूमा १० जना उपचाररत छन् भने भेन्टिलेटरमा चारजनाको उपचार भइरहेको छ। यो प्रदेशमा २५ वटा आइसीयू र १७ वटा भेन्टिलेटर बेड उपलब्ध छन्।

आइतबार मनत्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अन्य प्रदेशहरुको तुलनामा आइसीयू र भेन्टिलेटरमा सबैभन्दा धेरै बिरामीको उपचार गरिरहेका प्रदेशमा प्रदेश २ र गण्डकी प्रदेश हुन्। प्रदेश २ मा आइसीयूमा ९ जनाको उपचार भइरहेको छ भने गण्डकी प्रदेशमा आइसीयूमा ९ जनाको र भेन्टिलेटरमा एकजनाको उपचार भइरहेको छ।

प्रदेश २ मा आइसीयू बेड संख्या ५६ छ, भने १९ वटा भेन्टिलेटर रहेका छन्। त्यस्तै गण्डकी प्रदेशमा २४१ वटा आइसीयू बेड छन् भने भेन्टिलेटर बेड ६७ रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा गरि आइसीयूमा बेड संख्या १ हजार १६९ रहेको छ भने भन्टिलेटर बेड संख्या ४ सय ७८ रहेको छ।

उपत्यकामा कुन–कुन अस्पतालमा कति उपचाररत?


मन्त्रालयको आइतबारसम्मको तथ्याङ्क अनुसार उपत्यकामा मात्रै आइसीयूमा ८२ र भेन्टिलेटरमा ४० जनाको उपचार भइरहेको छ। संक्रमितको संख्या बढ्दै जाँदा उपत्यकाका विभिन्न अस्पतालमा आइसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ। बिरामीहरु बेड नपाएर छट्पट्टिन थालेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसीयूमा ९ जना र भेन्टिलेटरमा १० जना उपचाररत छन्। सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइसीयूमा १० जनाको भेन्टिलेटरमा ८ जनाको उपचार भइरहेको छ। वीरेन्द्र अस्पताल छाउनीमा आइसीयूमा ४ जना उपचाररत छन्। वीर अस्पतालको आइसीयूमा ५ जना र भेन्टिलेटरमा एकजनाको उपचार भइरहेको छ।

त्यसैगरी नेपाल प्रहरी अस्पतालको आइसीयूमा ५ जनाको उपचार भइरहेको छ भने त्रिवि शिक्षण अस्पतालको आइसीयूमा ५ जना भेन्टिलेटरमा पनि ५ जना छन्। पाटन अस्पतालको आइसीयूमा ९ जनाको र भेन्टिलेटरमा ८ जनाको उपचार भइरहेको छ।

निजामती कर्मचारी अस्पतालको आइसीयूमा १ जनाको उपचार भइरहेको छ भने ग्राण्डी अस्पतालको आइसीयूमा ३ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन्। ह्याम्स अस्पतालमा आइसीयूमा ९ जना र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ। नेपाल मेडिसीटीमा आइसीयूमा २२ जना र भेन्टिलेटरमा ४ जना उपचाररत छन्।

यस्तै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा र भक्तपुर अस्पतालमा कुनै पनि बिरामीलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको छैन।

बैशाख १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्