एउटा साहसी युवतीको कथा

दोस्रो रुटबाट पनि सगरमाथा चढ्ने कल्पनाले शिखर चुम्नेबित्तिकै छोरा सम्झिइन्

पर्वतारोही कल्पना महर्जन।

काठमाडौँ –

उता सगरमाथाको शिखर नजिकिँदै थियो, यता कठिनाइ झन् झन् बढ्दै थियो।

माथि उक्लिन पाइला उचाल्दा शरीरको तागत ओह्रालो झर्थ्यो। यसरी ‘रिभर्स डाइरेक्सन’ मा गइरहेको शरीरको ऊर्जालाई उनी थोपाथोपा बटुलेर फेरि अर्को पाइलामा भर्थिन्।

जमेको हिउँ, कठ्याङ्ग्रिदो चिसो अनि उच्च भेगका जटिलताले कल्पना महर्जनलाई ‘शिखर कसरी चुम्ने’ भन्दा अर्को कुरा सोच्न दिइरहेको थिएन।

यस्तोमा अचानक बिपत्ति आइलाग्यो।

कल्पना महर्जन।

उनी झण्डै ८ हजार सात सय मिटर भन्दा माथि पुगिसकेकी थिइन्। त्यतिबेलै खुट्टाले पत्तै नपाई भुइँ छोड्यो। र, कहालिँदै तल झरिन्।

‘मेरो मनमा ‘गएँ’ भन्ने परिसकेको थियो, तै कम्मरमा बाँधेको डोरीले झुण्ड्याइदिएछ,’ कल्पना भन्छिन्, ‘म बाँचे।’

यो घटना पछिल्लो सगरमाथा आरोहणको बेला भएको थियो। अर्थात्, २०१९ को मे २३ तारिखका दिन।

त्यतिखेर उनी दोस्रोपटक सगरमाथा शिखरतर्फ उक्लने प्रयत्न गरिरहेकी थिइन्। अघिल्लो वर्षमात्र दक्षिणी मोहडाबाट शिखर चुमेकी उनी यसपाला भने तिब्बत अर्थात् उत्तरी मोहडाबाट चढ्न बल गरिरहेकी थिइन्।

‘तिब्बतबाट सगमाथा चढ्दा झण्डै ८ हजार ७ सय मिटर माथि यो ‘मसरुम रक’ भन्ने खतरनाक ठाउँ छ,’ उनले जानकारी दिइन्, ‘ढुंगा मात्रै भएको यो चिप्लो स्थान असाध्यै जोखिमपूर्ण छ।’

त्यही जोखिमपूर्ण चिप्लो ढुंगामै उनका उक्लँदै गरेका खुट्टाले भुइँ छाडेको थियो।

‘हिमाल परबाट हेर्दा जति सुन्दर छ,’ उनी भावुक बनिन्, ‘त्यति नै खतरनाक।’

हिमालको यही सुन्दरताबाट लोभ्भिनेहरु यसको शिखर चुमेर आनन्द लिन चाहन्छन्। यसलाई महसुस गर्न चाहन्छन्। तर, सुन्दर चिज सजिलै प्राप्त हुँदैन। त्यसैले शिखरको यात्रामा उक्लेका सबै फर्कँदैनन्। हिमालको हिउँमै मिसिन्छन्।

दोस्रो पल्ट सगमाथा आरोहण गर्ने निर्णय लिँदै गर्दा कल्पनाले तिब्बततर्फ पर्वतारोहीका धेरै लाशहरु रहेको सुनेकी थिइन्। मसरुम रकबाट खुट्टा चिप्लिएका बेला उनले अब आफू पनि त्यही लाशको थुप्रोमा मिसिन पुग्ने सोचेकी थिइन्। तै, कम्मरका डोरीले झुण्ड्याइदियो।

सगरमाथा चढ्ने तयारी अन्तर्गत पहिलो प्रयास अर्थात् कम उचाइको ‘मेरा पिक’मै हातलागेको असफलताबाटै निराश भइदिएकी भए कल्पना यहाँसम्म आइपुग्ने थिइनन्।

त्यो सन् २०१४ को घटना थियो। उनी मेरा पिक उक्लँदाउक्लँदै बेहोस भएपछि सात दिनसम्म कोमामा पुगेकी थिइन्।

‘त्यति भएपछि पनि मैले सक्दिन भनेर सोचिँन,’ उनी थप्छिन्, ‘त्यसैको प्रतिफलमा चार वर्षपछि २०१८ मा गरेको सगरमाथा चढ्ने प्रयास सफल भएको थियो।’

कल्पनाका अनुसार पहिलोपटक सगरमाथा चढ्नेबित्तिकै उनको आँट झनै बढ्यो। उनका अनुसार त्यतिबेलैदेखि उनले दोस्रो आरोहणको अठोट लिइसकेकी थिइन्। त्यही अठोटलाई ठ्याक्कै एक वर्षपछि तिब्बत तर्फबाट चढेर पूरा गरिरहँदा उनी शिखर नजिकैबाट कहालिएर झरेकी थिइन्।

त्यति बेला कम्मरको डोरीले अड्काएको थाहा पाएपछि कल्पनाको सास फर्कियो। उनी शेर्पाको सहयोगमा फेरी ट्रयाकमा फर्किइन्। त्यो क्षणलाई अहिले सम्झँदा मात्र पनि उनको जिउमा काँडा उम्रिन्छ।

यसरी बेस क्याम्पबाट हिँडेको ४३ औँ दिनमा विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरलाई उनले दोस्रोपटक चुमिन्। सन् २०१९ मे २३ तारिख। एक महिला आरोहीका रुपमा त्यो चानचुने सफलता थिएन। त्यसैले दुबैतर्फबाट सगरमाथाको सफल आरोहीका रुपमा उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता हुन पुग्यो।

चक्रपथ सातदोबाटोबाट थोरै अगाडि बढेपछि चापागाउँतर्फ बाहिरिने बाटो छुट्टिन्छ। त्यो बाटो पछ्याउँदै निकै पर पुगेपछि उपत्यकाकै पुरानो बस्तीमध्येका एक थेँचो देखिन थाल्छ। सयौं वर्ष पुराना इँटाले उभ्याएका परम्परागत घरहरु, पुराना मन्दिर अनि चोकहरु।

त्यसैको एउटा साँघुरो अनि अँध्यारो गल्ली पछ्याउँदै गएपछि कल्पनाको घर आइपुग्छ। म पुगेको बेला त्यहाँ भित्रबाट तोरीको तेल पेल्ने कल कराइरहेको आवाज पनि सुनिँदै थियो।

कल्पना ब्याग बोकेर बाहिर निस्किइन्। अगाडि स्कुटर उभिएको थियो। त्यसपछि हाम्रो यात्रा ठमेलतर्फ सोझियो। बाटोभर उनी मलाई थेँचो र यस स्थानसँग जोडिएका उनका अनुभूतिहरु सुनाइरहेकी थिइन्।

‘यहाँ घरमा मेरो छोरा, श्रीमान् र सासू हुनुहुन्छ,’ उनले थपिन्, ‘विवाह गरेर आउँदा यो ठाउँ झनै साँघुरो थियो।’

कच्ची सडकमा घन्टौं जाम बेहोर्नु पर्थ्यो।

‘विवाहको लागि औँठीको नापो दिन आउँदा म तीन घण्टा जाममा परेकी थिएँ,’ उनी त्यो क्षणलाई सम्झिरहेकी थिइन्,‘फर्कनेबेला अफिसमा ढिला भइरहँदा अब बाँकीको जीवन म कसरी चलाउँछु होला भनेर आत्तिरहेकी थिएँ।’

‘यो बाटो कतिसम्म अप्ठ्यारो थियो भने,’ उनले थपिन्, ‘बच्चा पाउने बेलामा म डेलिभरीका निम्ति तोकिएको समयभन्दा तीन दिन अगावै अस्पताल गएर भर्ना भएकी थिएँ।’

महालक्ष्मीस्थानबाट थेचोसम्मको त्यो बाटो अहिले उतिखेरका तुलनामा चौडा र पक्की पनि भइसकेको छ। कल्पना यो बाटो र आफ्नो जीवनलाई एकअर्काको पर्यायवाची मान्छिन्।

विवाह गरेपछिको वर्षमा सन्तान जन्माएर, घर व्यवहार मिलाएर, पत्रकारको जागिर खाने अनि अहिले सगरमाथाको सफल आरोहणसम्म आइपुग्दा आफ्नो जीवन पनि यो बाटो जस्तै पक्की भइसकेको उनी ठान्छिन्।

ललितपुरको पुरानो बस्ती थेँचोकी कल्पना महर्जन परम्परागत परिवारकी बुहारी हुन्, आमा हुन् र न्युजरुमकी पत्रकार पनि। पछिल्लो समय उनी दुवै मोहडाबाट सगरमाथा शिखर चुम्ने पहिलो महिला पर्वतारोहीका रुपमा वर्ल्ड रेकर्ड बुक्समा नाम लेखाउन सफल पनि भएकी छन्

एउटी परम्परागत नेवार बुहारी कल्पनालाई गिनिज बुकमा नाम लेखाउने पर्वतारोही कल्पना बन्न सजिलो थिएन। उनको यात्रा यसरी अघि बढेको थियो।

सन् २०१२ मा ‘अन्तर मिडिया वाल क्लाइम्बिङ प्रतियोगिता’ भएको थियो। त्यसमा भाग लिनकै निम्ति कल्पनाले पहिलोपल्ट ‘वाल क्लाइम्बिङ’ को तालिम लिइन्। त्यो तालिम ठमेलस्थित ‘एस्ट्रेक क्लाइम्बिङ वाल’मा चलेको थियो। त्यतिबेला कल्पनाको छोरा केवल तीन महिनाका थिए।

यस्तो अवस्थामा कल्पनाको त्यो कदम परिवारलाई सहज भएन। माइती र घर परिवारले उनलाई ‘उट्पट्याङ काम गरेको’भने। उनी भने आफूलाई यस्तो कामका निम्ति इच्छा पनि भएको र शरीरले पनि साथ दिने भएकाले आफू ठीक छु भन्ने अडानमै रहिन्।

‘म पत्रकारितामै पनि पर्यटन र हिमाल आरोहणका कथाहरु लेख्न रुचि राख्थेँ,’ उनी भन्छिन्, ‘त्यसैले आफूलाई पनि यसतर्फ अगाडि बढ्ने इच्छा जाग्दै गएको थियो।’

इच्छा अनुसारै उनी यसतर्फ लगनशील भएर लाग्दै गइन्।

‘म त्यो वाल क्लाइम्बिङ प्रतियोगितामा प्रथम भएँ,’ उनी थप्छिन्, ‘त्यसपछि त झनै आत्मविश्वास बढेर आयो।’

तर, अगाडिको यात्रा त्यति सहज थिएन। त्यसमाथि उनको जागिर पनि थियो। तालिम सिध्याएर अफिस अनि अफिस सिध्याएर घरको काम। त्यसपछि जहिल्यै छोरालाई समयमै दुध खुवाउन हतार।

‘घरमा बुहारीले गर्नुपर्ने कामहरुले कहिल्यै फुर्सद दिँदैनन्,’ उनी भन्छिन्, ‘म अफिसबाट स्कुटरमा फर्कँदै गर्दा पनि बाटोभरि घरकै कुराहरु सम्झिरहेकी हुन्थेँ।’

उनले ती समयहरुमा भोगेका व्यवहारिक कठिनाइहरु यति धेरै छन् कि अहिले सम्झेर साध्य हुँदैन। त्यस्तो स्थितिमा उनले परिवारको साथ भए केही सहज हुने आशा राखेकी थिइन्। यसरी आशा निराशामा बदलिए पनि उनी पछाडि हट्ने मनसायमा भने थिइनन्।

उनको निम्तिआफ्नो लक्ष्य स्पष्ट थियो। त्यो स्पष्ट लक्ष्यका अघिल्तिर घर व्यवहारका झमेलाहरु सामान्य थिए।

‘मैले जसोतसो ती सबै पुरा गरेकी थिएँ,’ उनी भन्छिन्, ‘त्यसैले कसैकाप्रति गुनासो पनि गर्दिनँ।’

सन् २०१२ मा ‘वाल क्लाइम्बिङ’को तालिम, सन् २०१४ मा पहिलोपटक मेरा पिक चढ्दा बेहोस भएको घटना हुँदै सन् २०१८ को मेमा पाँच महिला पत्रकारहरुको सगरमाथा चढ्ने सामूहिक मिसन। त्यो पाँच महिला पत्रकारको सामूहिक प्रयासले सफलता पायो। पाँचमध्ये चारजनाले शिखर चुमे। त्यसपछि पनि कल्पना भने थामिइनन्। उनले लगत्तै अर्को वर्ष त्यही दिन पारेर तिब्बत तर्फबाट पनि सगरमाथाको शिखरमा पाइला राख्न सफलता पाइन्।

‘गिनिजबुक अफ वर्ल्ड रेकर्ड’मा नाम दर्ता भयो।

पहिला अत्याउने बाटाहरुले अहिले उनलाई ऊर्जा थप्छन्। आठ वर्षको छोरो अब त उनलाई सघाउने भइसकेको छ।

‘छोराले मलाई भान्छामा सघाउँछ,’ उनी खुशी साट्दै भन्छिन्, ‘कोठा पनि सफा गरिदिन्छ।’ आफूले बाहिर निस्कनका निम्ति श्रीमान र सासुबाट अनुकूल व्यवहार पाउँदै आएकामा पनि उनी खुशी छिन्।

‘सुरुसुरुमा त मलाई कुरा बुझाउन साह्रै गाह्रो भएको थियो,’ उनी विगत सम्झँदै भन्छिन्, ‘तर, त्यो कठिन समय पनि जसोतसो बितेर गयो र म लगातार आफ्नो लक्ष्यमा लाग्दै गएँ।’

त्यो बेला परिवारले ‘नजाओस्’ भनेजस्तो गरे पनि रोक्ने काम चाहिँ नगरेको उनी स्पष्ट पार्छिन्।

‘बरु यात्रा सफल होस् भनेर परिवारले पूजाआराधना गरेको क्षण अझै सम्झन्छु,’ उनी भन्छिन्, ‘त्यसका निम्ति आभारी छु।’

दोस्रोपल्ट जाँदा उनमा परिपक्वता आयो। पहिलोपल्ट भएका कमी कमजोरीको पहिचान पनि गरिन्। तर, उनका अनुसारजति अनुभवी भएपनि हिमाल चढ्नु ‘भाग्य’सँग पनि सम्बन्धित हुन्छ।
मेरा पिक चढ्ने प्रयास गर्दा फोक्सोमा पानी जमेर उनी साथीहरुसँग उक्लन पाएकी थिइनन्। योपल्ट उनको आरोहणमा अर्को समस्या आयो।

सगरमाथाको ८ हजार ३ सय मिटरमा पुगेपछि बोकेको अक्सिजन सकियो।

‘खोज्न गएका सहयोगी शेर्पाहरुले पनि फर्कन समय लगाए,’ कल्पनाले भनिन्, ‘झण्डै १ घण्टासम्म नआउँदा मनमा टन्नै नकारात्मक कुराहरु खेल्न थालिसकेका थिए।’

त्यस्तो क्षण उनले भिडियोसमेत रेकर्ड गरेकी थिइन्। त्योबेला आफूले मृत्युलाई स्वीकार गरिसकेको उनी बताउँछिन्।

जुन ठाउँमा उनको अक्सिजन सकिएको थियो, त्यस स्थानलाई अनुभवी पर्वतारोहीहरुले नै ‘डेथ जोन’ नाम दिएका थिए।

त्यतिबेलाको अवस्थाले उनलाई सन् २०१४ को मेरा पिक यात्रा सम्झाएको थियो।

उच्च भूभागमा पुग्दा लेक लाग्ने समस्याले त्यतिबेला उनी बेहोस भएर ७ दिनपछि मात्रै बिउँझिएकी थिइन्। मेरा पिकको यात्रा गर्नुका पछाडि पनि कारण थियो। सरकारले सगरमाथा आरोहण गर्नको लागि इच्छुक पर्वतारोहीले पहिले ६ हजार मिटर अग्लो हिमाल चढेको अनुभव माग्ने गर्छ। त्यसै भएर मेरा पिकको आरोहण गर्ने क्रममा कल्पना ५ हजार ३ सय मिटरमै बेहोस भएकी थिइन्।
तै पत्रकार महिला टोलीको सदस्यका रुपमा उनले चार वर्षपछि सगरमाथाकै शिखर टेक्ने मौका पाइन्। त्यसपछि बल्ल जुरेको थियो तिब्बत तर्फको अर्को मोहडाबाट सगरमाथा चढ्ने प्रयास।

चढ्दै जाँदा उनलाई सहयोगी शेर्पाले डेढ घण्टामा शिखर पुग्ने जनाउ दिए। कल्पनाले सगमाथालाई पुकारिन्। अनि बाबालाई सम्झिइन्, जसले उनलाई भनेका थिए, ‘दोस्रो पल्ट सगरमाथा आरोहण गर्ने भए तँ मेरो लागि मरिस्।’

यो यात्रामा उनले आफूलाई सावित गर्नु त थियो नै। त्यसबाहेक ‘शिक्षा मार्फत बालविवाह रोकथाम’को नारालाई समेत आरोहणको उद्देश्य बनाएकी थिइन्। त्यही नारा लिएर सगरमाथाको चुचुरो चुमिन्। उनको ब्यानरले भन्थ्यो ‘कल्पना ब्याक टु एभरेष्ट, क्याम्पेन अगेन्स्ट चाइल्ड म्यारिज थ्रु एजुकेशन–२०१९’।

‘पहिलोपल्ट सगरमाथा चढेपछि मलाई समाजको लागि केही गर्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘त्यसैले ‘शान्ति शिक्षा अभियान नेपाल’सँग आबद्ध भएर काम गरिरहेकी छु।’ सगरमाथाबाट ओर्लिएपछि अब उनलाई व्यवहारको सगमाथा उक्लनु छ। यसको लागि उनी जनचेतना फैलाउने काममा व्यस्त छिन्। कार्यक्रमहरु गरिरहेकी छन्।

अब फेरि पनि सगरमाथा नै चढ्छु भन्ने उनको मनमा तत्काल छैन। बरु, अन्य हिमालहरुको बारेमा सोचिरहेकी छिन्।

यसरी विश्वकै अग्लो शिखरमा पाइला राखेर फर्किँदै गर्दा मानिसलाई सबैभन्दा बढी के कुरा हेर्न आतुरी हुन्छ?

उनको जवाफ थियो ‘छोरा।’

‘सगरमाथाको शिखर चुमेर झर्दै गर्दाको खुशी वर्णन गरेर सकिँदैन। बच्चाको माया कति धेरै हुन्छ। कहिले गएर भेटौँ हुन थाल्छ,’ उनि पर्वतारोहीबाट आमा ‘मोड’मा बग्दै गइन्, ‘हिमालमा अप्ठेरो पर्दा प्रत्येक पटक मेरो बाबु एक्लो होला भनेर मन बलियो बनाउने गर्थें।’

उनका अनुसार प्रत्येक अप्ठ्यारामा उनलाई छोराको अनुहारले उत्साह र साहस थप्ने गर्थ्यो।

बैशाख १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्