नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलियाको अध्यक्षमा पुनः अरूण तामाङ

सिड्नी – नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलियाको सातौं अधिवेशनले अरूण तामाङलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा चयन गरेको छ।

यही अप्रिल २५ तारिखमा सिड्नीको टेम्पी रिजर्भ पार्कमा सम्पन्न अधिवेशनले तामाङलाई तेश्रोपटक निन्फालाई हाँक्ने जिम्मेवारी सुम्पिएको हो।

अधिवेशनले पेम्बा (लक्षमान) गुरुङ र राम सिप्तुङ्खा राईलाई उपाध्यक्ष, सुदर्शन थापा मगर महासचिव तथा चित्र बहादुर तुम्बाहाम्फेलाई राज्य संयोजक चयन गरेको छ।

अन्य आबद्ध सामुदायिक संस्थाका अध्यक्षहरू स्वतः उपाध्यक्ष हुने संस्थाको प्रावधानअनुसार दीप नारायाण चौधरी, योगेन्द्र राई, सशी सुब्बा र सुन्दोर्जे तामाङ पनि उपाध्यक्षमा समावेश गरिएको छ।

त्यसैगरी सचिवमा मोनिका श्रेष्ठ, कोषाध्यमा दिनेश लामा, सहकोषध्यक्षमा छल बहादुर मगर, पब्लिक अफिसरमा लिल गुरुङ, सह–पब्लिक अफिसरमा सञ्जय राई, सांस्कृतिक सचिवमा रघु जुग्जाली, सह–सांस्कृतिक सचिवमा भिम सम्शेर गुरुङ, खेलकुद विभागमा सचिन ब्याञ्जन्कार, प्राविधिक सचिवमा आशिष लोहोरुङ्ग चुनिएका छन् भने कार्यकारी सदस्यहरूमा उपेन्द्र श्रेठ, घनेन्द्र फियाक, चिराग प्रधान, आशिष शेर्पा, निश्चल राई, मिलन मगर, कमल छन्त्याल, सुरेश शेरचन, समीर बान्तावा रहेका छन्।

गणेश तामाङ र छिरिङ तेन्जी लामा सल्लाहकार रहेको सो कार्यसमितिको संरक्षकहरूमा महेन्द्र श्रेष्ठ, राजेन्द्र थापा मगर, सन्तोष थुलुङ्ग राई र नारायण भट्टचन रहेका छन्।

नवनियुक्त अध्यक्ष अरुण तामाङले निन्फालाई अस्ट्रेलियाका अन्य संघ संस्थाहरूसँग सहकार्य गर्दै आदिवासी जनजातिहरूका हक, हित र नेपाल सरकारले सम्बोधन नगरेका विषयवस्तुलाई समेत बलियोसँग उठान गर्दै लैजाने जानकारी दिए।

‘नेपाल बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो । आदिवासी र जनजातिका हक अधिकारका कुराहरू उठाउँदा कहिलेकाहीँ साथीभाइले यो संस्थाका दृष्टिकोण उग्र भयो कि भन्ने सुझाव पनि दिनुहुन्छ तर सत्य कुरा उठान गर्दा कतिपयलाई त्यस्तो लाग्नु स्वभाविक पनि हो । आगामी दिनमा हामीले विगत दुई दशकभन्दा बढी समयदेखि प्रयोगमा ल्याएको कार्यविधिलाई परिमार्जनसहित अझ प्रभावकारी रूपमा अघि लैजाने र रचनात्मक भूमिकामा पनि जोड दिनेछौं’, अध्यक्ष तामाङले भने।

प्रमुख अतिथि गणेश तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि छिरिङ लामा रहेका थिए भने कार्यक्रमको संचालन चित्र तुम्बाहाम्फेले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि गणेश तामाङले नवनियुक्त पदाधिकारीहरूलाई पद तथा गोपनियताको शपथ खुवाएका थिए।

निन्फाले स्थापनाकालदेखि नै आफ्ना मौलिक भाषा, सांस्कृति, भेषभूषा र रहनसहनको संरक्षण र निरन्तरता दिँदै आदिवासी समुदायका हक, अधिकार र चासोका विषयमा आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको छ।

बैशाख १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्