गर्भ तुहिने समस्या अश्वेत महिलामा धेरै

गर्भ तुहिने समस्या श्वेतको तुलनामा अश्वेत महिलामा अत्याधिक रहेको पछिल्लो एक अध्ययनले देखाएको छ।

लान्सेटले सात देशका ४६ लाख गर्भवती महिलाको तथ्यांक विश्लेषण गर्दा अश्वेत महिलामा गर्भ तुहिने जोखिम ४३ प्रतिशत बढि हुने देखिएको हो।

अनुसन्धानकर्ताहरुले १५ प्रतिशत गर्भ तुहिने आँकलन गरेका छन्। एक प्रतिशतमा सो समस्या बारम्बार दोहोरिने गरेको देखिएको छ।

गर्भ तुहिने समस्याबाट गुज्रिएका सबै महिलामा ब्लड क्लट्स, मुटु सम्बन्धी रोग र डिप्रेशनसहितका समस्या दीर्घकालमा देखिने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

२० वर्षभन्दा मुनि र ४० वर्षभन्दा माथिका महिलामा गर्भ तुहिने समस्याको जोखिम बढि हुने गरेको छ। यस्तै विगतमा गर्भ तुहिएको भए, कम वा बढि तौल भए, लामो समय लगातार काम गर्नु पर्ने भए, अश्वेत भए, धुम्रपान गर्ने भए वा रक्सी बढि पिएमा गर्भ तुहिने समस्या बढि हुने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

द लान्सेट जर्नलमा प्रकाशित भएको अध्ययन प्रतिवेदनमा सम्भावित गर्भ तुहिने समस्या रोक्नका लागि गर्भ बस्नु अघि नै सावधानी अपनाउने या आवश्यक स्वास्थ्य सेवा लिने, गर्भावस्थाको सुरुदेखि नै नियमित परीक्षण र स्वास्थ्य सेवा लिने, भर्गको अवस्था हेर्नका लागि पेल्भिक अल्ट्रासाउण्ड गर्ने, हर्मोन ट्रिटमेन्ट गर्ने, ब्लड क्लट्स रोक्नका लागि त्यस सम्बन्धी इन्जेक्सन लगाउनेसहितका उपाय अपनाउनु पर्ने उल्लेख छ।

अध्ययनमा सहभागी महिलाहरु स्वीडेन, फिनल्याण्ड र डेनमार्कका छन्। यस्तै अमेरिका, बेलायत, क्यानडा तथा नर्वेका महिलाहरुको तथ्यांक पनि अध्ययनमा विश्लेषण गरिएको हो।

 

बैशाख १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्