काेराेना कहर

सीमामा छैन सावधानी, जहाँ जोखिम, त्यहीँ खेलाची

बुटवल – रुपन्देहीको सीमानाका बेलहियामा सोमबार भारतबाट आएका करिब ५ सय जनामध्ये शंकालागेका ३६ जनाको आरडीटी एन्टिजेन परीक्षण गर्दा पाँचजनामा पोजेटिभ देखियो। शंका लागेका बाहेकका अरु सामान्य ढंगले स्वदेश प्रवेश गरे।

नेपाल–भारत सीमानाका बेलहियाबाट पछिल्लो १३ दिनमा करिब ६ हजार नेपाली स्वदेश फर्किएका छन्। वैशाख १ गतेदेखि १३ गतेसम्ममा स्वदेश फर्किने नेपालीहरुलाई अन्दाजका भरमा घरघर पठाइयो। उनीहरुको स्वास्थ्य परीक्षण, होल्डिङ सेन्टर, क्वारेन्टिनको व्यवस्था छैन। जसले गर्दा शहरदेखि गाउँसम्मै कोरोनाभाइरसको संक्रमण फैलिने जोखिम बढ्दो छ।

भारतका कतिपय शहरमा लकडाउन हुन थालेपछि नेपालीहरु धमाधम फर्किन थालेको सीमा नाकामा खटिएका इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेल बताउँछन्।

‘हामीसँग पर्याप्त श्रोत साधन छैन, जे जति छ त्यसै अनुसार व्यवस्थापन भइरहेको छ’, उनले भने, ‘भारतबाट आउनेहरुको संख्या बढ्दै गइरहेको छ, यस्तो भएमा थाम्न सकिँदैन।’

इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार दैनिक २ सय ५० देखि ४ सय जनासम्म बेलहिया सीमा नाकामा आइपुग्छन्। यो संख्या बढ्दै जानसक्ने अनुमान इलाका प्रहरी कार्यालयको छ।

संख्या बढ्दै गए पनि सावधानी र सुरक्षाका उपाय अपनाउने, हेल्थ डेक्स, होल्डिङ सेन्टर, क्वारेन्टिन,आइसोलेशनको उचित व्यवस्थापन छैन।

नाकामा राखिएको हेल्थ डेस्कमा ज्वरो नाप्ने काम भइरहेको छ भने संक्रमणको शंका लागेकाहरूको मात्रै ऐन्टिजेन परीक्षण भइरहेको छ। त्यो पनि शनिबार हुँदैन।

सीमित कर्मचारीको भरमा सीमामा आउनेहरुको स्वास्थ्य परीक्षणको काम जेनतेन चलिरहेको छ। मुख्य सीमानाका बाहेकबाट अव्यवस्थित रुपमा प्रवेश उस्तै छ। भारतीय सीमावर्ती बजार पुगेर सामान खरिद गर्नेहरु मुख्य नाकाबाट रोकिए पनि साना नाका र चोरबाटो प्रयोग गरिरहेका छन्।

कोरोना भाइरसको संक्रमणले भयावह अवस्था सिर्जना गर्न सक्ने पूर्व संकेत हुँदै गर्दा पनि सरकारी संयन्त्र आफै अलमलमा छ।भारतमा कोरोना संक्रमण फैलिएपछि चैत १० गतेदेखि स्थापना गरिएको हेल्थ डेस्क जनशक्ति अभावले चाहेजसरी काम गर्न सकिरहेको छैन।

जसका कारण भारतबाट आउने अधिकांशले सामान्य सोधपुछ र ज्वरो जाँचमै प्रवेश पाउँछन्। नाकामा आउनेहरु मध्ये तराई मुलका, धेरै सामान बोकेका, भारतमा रोजगारी गरेर फर्किएका जस्ता देखिनेलाई बढी सोधीखोजी गरिन्छ भने अरुलाई सामान्य सोधपुछ गरेर प्रवेश दिइन्छ।

हेल्थ डेस्क स्थापनापछि १५ हजारभन्दा बढी नेपाली बेलहिया नाका हुँदै स्वदेश फर्किएका छन् । त्यसमध्ये डेढ सयको मात्रै एन्टिजेन जाँच भएको छ।

१०० डिग्री भन्दा माथि ज्वरो आएका र सामान्य लक्षण देखिएकालाई मात्रै नजिकैको होल्डिङ सेन्टरमा एन्टिजेन जाँच गर्ने गरेको हेल्थ डेस्ककी कर्मचारी दीया शर्माले बताइन्। यसरी निष्प्रभावी परीक्षण र सावधानीबिनै सीमाबाट प्रवेश पाउँदा उनीहरु मार्फत गाउँशहरमा कोरोना संक्रमणको दोश्रो लहर फैलिएको छ।

सीमामा सावधानी नअपनाए भयावह हुन सक्छ


बेलहिया नाकामा आउनेहरु मध्ये दैनिक ७–१० जनासम्ममा एन्टिजेन पोजेटिभ देखिएको छ। तीमध्ये अधिकांशलाई घरमा गएर क्वारेन्टिन बस्न, आइसोलेशन जान र सुरक्षित रहन सुझाव दिएर पठाइन्छ । केही होल्डिङ सेन्टरमै बस्ने भनेर भाग्ने गरेका छन्।

सीमामा कडाईका साथ नियम नगर्न र सरकारले तोकेका सबैमा पदण्डको पालना गर्न निर्देशन दिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । उनले सीमानाकाको चेकजाँचलाई अरु प्रभावकारी बनाउने बताए।

सीमामा कडाईका साथसाथै संक्रमितलाई उचित व्यवस्थापन नगर्ने हो भने अवस्था भयावह हुने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् । सीमामा कडाईका साथ नियमन र जिल्लाभित्रको आवतजावतलाई रोक्न नसके कोरोना भाइरसको संक्रमण अनियन्त्रित हुने उनले बताए ।

बढ्दो छ संक्रमण


रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय७० पुगेको छ। सोमबार २ सय ६३ जनाथपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय७० पुगेको हो। जसमध्ये सबैभन्दा धेरै बुटवलमा छन्। रुपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको छ ।

निधेषाज्ञाको तयारी


संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले रुपन्देहीमा निषेधाज्ञाको तयारी गरेको छ। दैनिक संक्रमित दर र मृत्यु हुनेको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले निषेधाज्ञाको तयारी गरेको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मंगलबार स्थानीय तहका प्रमुखहरु, व्यवसायी र सञ्चारकर्मीहरुसँगको छलफलपछि के गर्ने भन्ने निर्णय गर्ने जानकारी दिए।

सरकारले पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सयभन्दा धेरै सक्रिय संक्रमित भएमा निधेषाज्ञा लगाउन सक्ने अधिकार दिएको छ।

बैशाख १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्