एउटी फिटनेस ट्रेनर युवतीको संघर्ष

१ सय १५ किलोकी सभाना खातुनले कसरी घटाइन् तौल? (भिडियो अन्तर्वार्ता)

काठमाडौँ– जिमखानामा सेवाग्राहीलाई ‘वर्क आउट’ गर्ने तरिका सिकाइरहेकी थिइन्, सभाना खातुन। कसैलाई ‘लिफ्टिङ’ त कसैलाई स्क्वाट। सायद ती नयाँ सेवाग्राही थिए। अन्य सेवाग्राही भने ‘म्युजिक’को तालमा ‘वर्कआउट’ मा व्यस्त थिए। उनीहरु सभानाको निर्देशन अनुसार ‘वर्कआउट’ गरिरहेका थिए।

सभानाले नयाँ सेवाग्राहीलाई समय दिए पनि उनको नजर सबैमा बराबर हुन्छ। नयाँ पुराना सेवाग्राहीलाई पालैपालो समय दिइरहेकी थिइन्।

सभाना जिम ट्रेनर हुन्। उनी महिलालाई ‘वर्कआउट’ गर्ने तरिका सिकाउँछिन्। त्यसका लागि उनले महिलाहरुका लागि कान्तिपथमा ‘सभाना फिटनेश’ संचालनमा ल्याएकी छन्। अनौपचारिक रुपमा करिब एक महिनाअघि संचालनमा आएपनि औपचारिक रुपमा भने करिब दुई हप्ता भएको सभाना बताउँछिन्।

‘सभाना फिटनेश’ महिलाहरुका लागि मात्र खोलिएको जिमखाना हो। उनका अनुसार महिला पुरुषसँगै जिम गर्दा अधिकांश महिलाहरुले संकोच मानेर जिम गरिरहेका हुन्थे। ती सबै कुरा आफूले भोगेको र महशुस गरेका कारण महिलाहरुका लागि मात्र जिम सञ्चालनमा ल्याएको उनी बताउँछिन्।

‘जिममा पुरुष साथी होस् या ट्रेनर, सही तरिकाले हेरे पनि या छोए पनि कतिपय महिलालाई अनकम्फर्टेबल लाग्ने हुन्छ,’ उनले भनिन्, ‘त्यो कुरा मैले पनि भोगेकी हुँ, जिमर अथवा ट्रेनर हुँदा। त्यो कुरा फिल गरेको छु। त्यो कुरालाई मध्यनजर गर्दै महिलाहरुका लागि मात्र जिम खोलेँ। ताकि उनीहरुले कुनै लाज संकोच नमानेर आफ्नो फिटनेशमा मात्र ध्यान दिन सकून्।’

उनका अनुसार धेरै परिवारले अझै पनि जिम जाने कुरालाई प्रोत्साहन गर्दैनन्। प्राय जिम भनेको पुरुष जाने ठाँउ भन्ने धेरैको बुझाइ पनि छ। महिलाहरु पनि जिम जाँदा पुरुषहरुसँग त्यति सहज महशुस नगरेको अवस्था छ।

आफू महिला भएकाले अन्य महिलाहरुको कुरा पनि सहजै बुझ्न सक्ने विश्वासले आफ्नो जिम सञ्चालनमा ल्याएको उनको भनाइ छ। सभाना यसअघि फिटनेश पार्कमा महिला जिम ट्रेनरका रुपमा काम गर्थिन्।

‘फिटनेश पार्कमा जिम गर्नका लागि गएकी थिएँ। जब म त्यहाँ जिम गर्न थालेँ, उहाँहरुले मेरो जिम गर्ने तरिका हेर्नुभयो,’ उनले भनिन्, ‘त्यसपछि मलाई महिला ट्रेनरका रुपमा काम गर्न एप्रोच गर्नुभयो। र त्यसपछि मैले काम गर्न सुरु गरेँ।’

उनले त्यहाँ करिब ३ वर्ष काम गरिन्।

ट्रेनर बन्नुअघि उनी आफै जिम गर्थिन्। त्यही क्रममा उनले जिमका बारेमा थाहा पाइन्। त्यति मात्र होइन, सभानाले थप जानकारीका लागि सामाजिक सञ्जाल तथा साथीहरुसँग बाहिरबाट किताब मगाइन्। र अध्ययन पनि सुरु गरिन्।

‘पहिले धेरै जिमहरु थिएनन्। सामाजिक सञ्जालमा वर्कआउटका भिडियो हेर्थेँ। बाहिर भएका साथीहरुसँग वर्कआउट अध्ययनका लागि बुक मगाएर अध्ययन गर्न थालेँ। त्यसबाट मैले धेरै सिकेँ,’ उलने भनिन्।

उनले अध्ययनभन्दा आफ्नो कडा मेहनत र मोटोपन घटाउने प्रक्रियामा जिमका सबै तौरतरिका सिकिन्। त्यसपछि मात्र उनी महिला जिम ट्रेर्नरबाट ‘सभाना फिटनेश’ की संचालक बनिन्।

कसरी बनिन् महिला ‘जिम ट्रेनर’?


किशोरावस्था सभाना निकै ‘फुडी’ थिइन्।  ‘म जे पनि खाइदिन्थेँ, जंक फुड होस् या नहोस् केही मतलब नै नहुने,’ उनी भन्छिन्, ‘म मोटो नै थिएँ। अझ बढ्दै गएँ।’

सभानाको तौल ११५ किलो पुग्यो। तर पनि उनमा एक रत्ति चिन्ता थिएन। अक्सर मान्छेले ‘ओहो’ म मोटाएँ भनेर चिन्तित हुन्छन्। डाइटिङ गर्न थाल्छन्। उनी भने ‘बिन्दास’ थिइन्। रमाइलो गर्न, खान उनलाई खुब मन पर्थ्यो।

विस्तारै उनको मोटोपनलाई लिएर मजाक उडाउन थालियो।

‘मोटी, भैंसी, कति मोटाको’ लगायतका मान्छेका प्रतिक्रिया आउन थाले। साथीभाइ तथा आफन्तबाटै। तर कतिपय आफन्तले उनका बाआमालाई भन्न थाले, ‘छोरीलाई कति पुल्पुल्याएर राखेको। कति मोटी भइसकी। भोलि बिहेको लागि केटा पनि पाउँदैन।’

तर उनका बाआमाले कहिले पनि सभानालाई मोटोपनको महशुस गराएनन्। उनका आफन्तले भने कुनै कसर छोडेनन्।

‘मोटोपनले गर्दा मैले जीवनमा धेरै नै उतारचढाव देखेँ। हरेक कुरामा स्ट्रगल गर्नुपर्ने। त्यो चाहे समाजमा होस्, आफ्नै परिवारका सदस्यसँग होस् निकै चुनौतीको सामना गरेँ,’ उनले भनिन्, ‘लुगा लगाउनेदेखि बाहिर हिँड्ने। मान्छेसँग बोल्ने बेला कन्फिडेन्स नआउने।’

उनी सोच्थिन्, ‘पातलो मान्छेको लाइफ कस्तो हुँदो रहेछ?’

यस्ता कुराहरु खेलाउँदा खेलाउँदै आफू ‘डिप्रेशन’मा पुगेको उनी बताउँछिन्। ‘म रुन्थेँ। कसैसँग बोल्न मन पर्थेन। कतै पार्टी भोजमा जान मन लाग्थेन। एक्लै बस्न मन पर्थ्यो,’ उनले भनिन्।

विस्तारै उनको स्वास्थ्यमा पनि समस्या आउन थाल्यो। त्यसपछि डाक्टरले वजन घटाउन सुझाव दिए। स्वास्थ्यमा समस्या आएपछि उनलाई पनि लाग्यो, ‘होइन अब घट्नुपर्छ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर वर्षेनी करिब २८ लाख मानिस बढी तौल वा मोटोपनका कारणले ज्यान गुमाउँछन्।

कुनै समय बढी आय भएका देशहरुसँग सम्बन्धित थियो मोटोपन। हाल भने मध्यम तथा निम्न आय भएका देशहरुमा पनि मोटोपन व्याप्त भएको डब्लुएचओको तथ्यांक छ।

सभाना पनि स्वास्थ्यमा समस्या आएकै कारण मोटोपन घटाउन तयार भइन्। अनि सुरु भयो उनको नयाँ दैनिकी।

उनी जिम जान थालिन्।

जिममा अनुशासित, लगनशील भएर ‘वर्कआउट’ गर्न थालिन्। एक हप्ता उनको जिउ निकै दुख्यो। त्यो दुखाइ सहन नसकेर उनले आमालाई रुँदै भनिन्, ‘म सक्दिनँ। अब जान्न।’

परिवारले उनलाई हौसला दियो। र उनमा जसरी पनि घट्छु भन्ने हुटहुटी थियो। त्यही हुटहुटीले उनले आफ्नो दैनिकी पछ्याउन थालिन्। खानपिनदेखि सबैकुरामा सन्तुलन मिलाउन थालिन्।

‘घट्न त्यति सजिलो रहेनछ। एक हप्ता यति जिउ दुख्यो, निकै रोएँ,’ उनले भनिन्, ‘धेरै हाडवर्क चाहिन्छ। खाना, वर्कआउट सेड्यूल सबैमा ब्यालेन्स मिलाउनु पर्छ। एक घण्टा जिम गर्ने र जे मन लाग्यो त्यो टन्न खाने हो भने घटिँदैन। फिट हुन सेल्फ कन्ट्रोल हुनुपर्छ। म यसो गर्दिनँ भनेपछि गर्नु भएन।’

यो प्रक्रिया एक वर्षसम्म चल्यो। जब उनी तौल मेसिनमा आफ्नो तौल घटेको देख्थिन्, त्यो कुराले उनलाई अझै गर्नुपर्छ भन्ने प्रेरणा दिन्थ्यो।

करिब एक वर्षमा उनी ११५ किलोबाट घटेर ५९ किलोमा पुगिन्। यो उनका लागि ठूलो सफलता थियो।

‘११५ किलोबाट ५९ केजी पुग्दा मैले आफूलाई धेरै फरक पाएँ। जुन ऐनामा मोटो मान्छे देखिरहेको हुन्थ्यो, त्यही ऐनामा आफूलाई डिफ्रेन्ट इमेज देख्ने बेलामा म आफै अचम्म भएकी थिएँ। केही समयमा मेरो लाइफ नै चेन्ज भयो।’

उनको जिम जाने दैनिकी नै बन्यो। उनी जिम ‘लभर’ नै भइन्। यसै क्रममा उनी पार्क फिटनेशमा पुगिन्। त्यहाँ महिला जिम ट्रेनरका रुपमा काम गरिन्।

उनको सफर मोटोपन घटाउनबाट सुरु भएर जिम ट्रेनरसम्म पुग्यो। उनले कहिल्यै कल्पनासमेत गरेकी थिइनन्। तर आज उनी अरुका लागि प्रेरणाको स्रोत बनेकी छन्।

आउँदा दिनमा उनले अन्य जिमखाना खोल्ने योजना बनाएकी छन्। हाल सरकारले जिमखानालाई पनि कोरोनाको जोखिमले गर्दा बन्द गरेपनि जोखिम कम भएसँगै आफ्ना योजना अगाडि बढाउनतिर लाग्ने उनले बताइन्।

यसमा उनको परिवारको पनि त्यति नै साथ छ। भौतिक रुपमा जिमखाना बन्द भएपनि उनले अनलाइन कक्षा संचालन गरेकी छन्। यसअघि लकडाउन हुँदा सुरु गरेको अनलाइन कक्षामा स्वदेशी तथा विदेशी सेवाग्राही रहेको उनी बताउँछिन्।

सभाना खातुनलाई Instagram र Facebook मा फलो गर्न सक्नुहुनेछ।

INSTAGRAM: https://www.instagram.com/shabana_fitness/?hl=en

FACEBOOK: https://www.facebook.com/Shabana-Fitness-102726461909710

बैशाख १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्