अष्ट्रेलियामा त्यो हिमाली घटना

बिहान उठ्ने बित्तिकै…

मंगलबार सबेरै उठ्नेबित्तिकै एक नजर ट्वीटरमा दौडाएँ। कोभिडका निराशाजनक सूचना र पोष्टहरुले टाइमलाइन भरिएको थियो।

औंला सर्सती सार्दै गएँ। एउटा पोष्टमा नाम्चे बजारका घरहरुको दृश्य देखियो। त्यो देखिइरहने दृश्य थियो। खासै नयाँ नौलो थिएन। पछिल्लो समय दुईपटक सगरमाथा क्षेत्र पुग्दा त्यस्ता धेरै तस्बिरहरु मेरै फोल्डरहरुमा यत्रतत्र खामिएका छन्।

तर, त्यस अर्धतस्बिरको मास्तिर लेखिएको लाइनले ध्यान आकर्षित गर्‍यो। आफ्नो पोष्टमा पत्रकार सृष्टी काफ्लेले गीतकार कालीप्रसाद रिजालले लेखेको गीतको पहिलो लाइन उल्लेख गरेकी थिइन्ः ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्।’

यो लाइनले त्यस अर्धतस्बिरको मास्तिर हिमाल पनि देखिएको छ भन्ने जनाउ दिएकाले तस्बिर खोलेँ।

आहा…।

नाम्चे बजारको पृष्ठभूमिमा उभिएर त्यो सिंगो बस्तीलाई असाध्यै लोभलाग्दो बनाउने क्वाङ्दे हिमाल झलमल्ल देखिएको रहेछ। तस्बिर कुनै झ्यालबाट लिइएको देखिन्थ्यो। सायद होटलकै झ्याल हुनुपर्छ।

काफ्ले उतै पुगेको बेला लिइएको तस्बिर भान पार्छ। अनि मंगलबारको बिहान नै सायद खिचिएको पनि होला।

तस्बिर हेर्नेबित्तिकै मेरो दिमाग अर्कैतिर दौडिन थाल्यो।

दुई दशकभन्दा पनि पुरानो घटनातिर।

मैले एकछिनसम्मै त्यो तस्बिर नियालिरहेँ। यादहरु सल्बलाउन थाले। ठ्याक्कै सिड्नी मर्निङ हेराल्ड पत्रिकामा उतिबेला छापिएको नाम्चे र क्वाङ्दे हिमालकै कोणबाट खिचिएको थियो। त्यो पुरानो घटना र यो तस्बिर दुवै मेरा मन र आँखामा नाच्न थाले।

त्योताका म अष्ट्रेलिया बस्थेँ। सिड्नी सहरबाट निकै टाढा त्योबेलाको अनकन्टार ‘टप राइड’ बस्ती रोज्नुको हाम्रो आफ्नै बाध्यता थियो।

मध्य सहरकै कुनै बिजनेस कलेज छाडेर मेरो भाइले टेफ (टेक्निकल एण्ड फर्दर एजुकेशन, अध्ययन संस्थान) मा भर्ना लिएको थियो। उसले पढ्ने विषयका लागि सहरभित्रकै टेफहरुमा ठाउँ पाइएन। अति परको बस्ती ‘टप राइड’मा भने सिट मिल्यो। भर्ना त भयो। तर, सहरबाट आउजाउ गर्न धेरै नै समस्या हुनथाल्यो। भाइले नियमित कक्षा लिन सकिरहेको थिएन। उसको पढाइ नै बिथोलिने भएपछि हामीले सिड्नी सिटीको रमझम त्यागेर ‘टप राइड’को बसोबास रोजेका थियौं। उसको टेफकै छिमेकमा। त्योबेलाको टप राइड एक हिसाबले दुर्गम गाउँ भन्दा पनि हुन्छ।

बसबाट ओर्लिएपछि ब्ल्याक्सल्याण्ड रोडमा रफ्तारले कुदेका मोटरहरुको ताँती हेर्दै परैसम्म हिँड्नु पर्थ्यो। घर पुगुन्जेल झण्डै एक किलोमिटर अघि बढ्दा पनि मुस्किलैले मानिस देखिन्थे। बस्तीकै चहलपहल भन्नु अलिक परको एउटै मात्र सपिङ मल थियो। त्यस्तो अनकन्टारमा बसाइँ भएपछि उता छाडेर आएको सेन्ट्रल नजिकैको चिपेनडेल टोलमा जस्तो साथीभाइको भिडभाड अनि आउजाउ विरलै हुनथाल्यो। हुँदै हुँदैन थियो। त्यो ठाउँबाट नजिकको रेलवे स्टेशन पनि वेस्ट राइडमा पर्थ्यो। अर्थात्, असाध्यै परदेखि उक्लँदै आउनुपर्ने। यति परसम्म को आओस्?

काठमाडौंबाट दुर्गममा सरुवा भएका साथीभाइ भेट्न कोही नगएजस्तै हाम्रो हालत थियो।

तर, एकदिन हाम्रो अपार्टमेन्टको ढोकामा पनि ‘ढक ढक’ आवाज आयो।

दिउँसो करिब दुइ बजेको थियो। रातभर काम र बिहानभरको सुताइपछि म भर्खर उठेको थिएँ। कफी लिएर सोफामा बसिरहेकै बेला त्यो ढोका ढकढक्याएको आवाजले मन असाध्यै रमायो।
‘सिटीबाट केटाहरु आए होलान्,’ मेरो मनमा गुदगुदी चल्न थाल्यो, ‘अब आज पार्टी हुने भयो।’

कफीको कप टेबलमै राखेर कुद्दै गएँ। सुरुमा ढोकाको दुलोबाट चिहाएँ।

अनुहार त नेपाली थिएन। बरु दुइजना गोरा देखिए।

‘यो को चाहिँ खैरेहरुसँग केटाहरुले संगत गरेछन्?’ भन्ने भयो।

‘त्यहाँ को हो?’ मैले सोधेँ।

‘ढोका खोल्नुस्,’ उताबाट आवाज आयो, ‘हामी सरकारी मानिस हौं, जरुरी छ।’

मैले ढोका खोल्नु मात्र के थियो। त्यहाँ त विचित्र पो हुनथाल्यो।

एउटाले सरासर भित्र पसेर मेरो पाखुरामा समात्यो। अर्कोले एउटा हात कम्मरमा भिरेको पिस्तोलतर्फ र अर्को हात ढोकाको लक बन्द गर्नेतर्फ लग्यो।

‘हामी प्रहरी हौं,’ दुवैले एकसाथ जस्तोगरेर आवाज निकाले, ‘तँ विनोद (नाम परिवर्तन) होस्?’

म अक्क न बक्क परेँ।

‘म विनोद होइन,’ मैले पाखुरा तान्दै भनेँ, ‘मेरो नाम गिरीश हो।’

‘अनुहार त उस्तै छ’ भनेर एउटाले भन्यो।

अर्कोले चाहिँ ‘त्यसो भए विनोद कहाँ छ भन्दै’ दुवै हस्याङ फस्याङ गर्दै यताउता खोज्न थाले।

मैले उनीहरुलाई ‘शान्तिसँग बस, कुरो के हो मलाइ बताऊ, तिमीहरुले यसरी चोरलाई जस्तो व्यवहार गर्नु जरुरी छैन, म सहयोगै गर्छु’ भनेँ।

उनीहरुले मलाइ पत्याए।

त्यो दुइवटा सुत्नेकोठा भएको अपार्टमेन्ट थियो। एउटामा म र भाइ बस्थ्यौं। अर्कोमा ती विनोद भाइ बस्थे।

‘मिस्टर जर्नलिस्ट तपाइको देश साँच्चै नै सुन्दर छ र म धेरैपटक त्यहाँ पुगेको छु,’ उनले भनेको अर्को वाक्यले म खंग्रङ्ग भएँ, ‘सगरमाथा नाम्चेबाट देखिँदैन, सगरमाथाको शिखर देखिन नाम्चेबाट अलिक माथिसम्मै हिँड्नु पर्छ, बरु त्यो देखिएको शिखर चाहिँ क्वाङ्दे हिमालको हो।’

पत्रकार सृष्टि काफ्लेको टाइमलाइनमा पोष्ट गरिएको नाम्चे र क्वाङ्दे हिमाल देखिने तस्बिर।

मेरो भाइ त सायद कलेजतिर गइसकेको थियो। मैले अर्को कोठाको ढोका विस्तारै खोलेर हेरेँ। विनोद सुतिरहेका रहेछन्।

‘ऊ कोठामै सुतिरहेको छ,’ मैले ती गोराहरुलाई सोधेँ, ‘कुरा के हो मलाइ भन।’

त्यसपछि उनीहरुले भनेको कुराले म चकित परेँ।

‘हामी अध्यागमनबाट आएका प्रहरी हौं,’ उनीहरुले थपे, ‘विनोदले कानुनले नदिएको सुविधा प्रयोग गर्दै ‘फूलटाइम जब’ (पूर्णकालीन काम) गर्छ भनेर रिपोर्ट परेकोले उसलाई पक्राउ गर्न आएका हौं।’

उनीहरुले विनोद कार्यरत संस्थाबाट आवश्यक कागजातहरु बरामद गरिसकेको जनाउ पनि दिए।

म स्तब्ध भएँ र उनीहरुलाई कारवाही अगाडि बढाउन हाम्रो तर्फबाट समस्या नहुने आश्वस्त गराएँ।

त्यो अपार्टमेन्टमा हामी तीनजना बस्थ्यौं। मेरो भाइ र विनोद दुवै विद्यार्थी भिसामा अष्ट्रेलिया बसोबास गर्दैआएका थिए। त्यसरी विद्यार्थी भिसामा बस्नेले साताको बीस घन्टा मात्र काम गर्ने अनुमति पाउँथे। त्यो विवरण उनीहरुको भिसामै उल्लेख गरिएको हुन्थ्यो। म चाहिँ अर्कै रामकहानीले गर्दा ‘रिफ्युजी’ भिसामा थिएँ र मजस्ताले जतिसुकै काम गरेपनि फरक पर्दैन थियो।

यसरी साताको २० घन्टा मात्र काम गर्ने अनुमतिले कुनै पनि ठाउँमा पूर्णकालीन काम गर्ने अनुमति दिँदैन थियो। अर्थात्, उनीहरुले अष्ट्रेलियाको नियममुताबिक साताको साढे ३८ घन्टा काम गर्न पाउँदैन थिए। तर, विनोद प्रतिभाशाली थिए। काम गर्ने, पढ्ने र फुर्सद्का बेला गितार बजाएर रमाइलो गर्ने रुचि भएका उनी गीत संगीतकै कारणले हामीसँग लहसिएका थिए। उनले डार्लिङ हार्बरकै एउटा प्रसिद्ध होटलमा ‘फ्रन्ट अफिस’मै काम गर्ने अवसर पाए। त्यस्तो राम्रो अवसर हत्तपत्त नेपालीलाई मिल्दैन थियो।

यस्तो मौका खेर फाल्न उनलाई उचित लागेन। उनले आफूसँग केवल २० घन्टा मात्र कामगर्ने अनुमति छ भन्ने कुरालाई लुकाए। केही भनिरहनु भन्दा सोझै ट्याक्स फाइल नम्बर लगेर काम गर्ने ठाउँमा बुझाइदिए। बस्, विनोदले त्यत्ति गल्ती गरे।

यसरी काम गर्ने कानुनी अवधि छलेर बढी समय काम गर्ने विद्यार्थी सिड्नीमा टन्नै हुन्थे। नेपालका करोडपतिको सन्तान हौं भन्नेले पनि त्यो २० घन्टाको अवधि नाघेकै हुन्थे।

त्यस्ताले सानोतिनो काम गरिरहेका छन् भने कसैको आँखा कसैमाथि लाग्दैन थियो। कसैले अलिक गतिलो काम भेटेको छ र अलिक बेग्लै किसिमले बाँचेको छ भने त्यस्तोमा नेपालबाटै गएका कतिपयको नराम्रो नजर पर्थ्यो। र, भाइहरुका अनुसार त्यसरी अध्यागमनमा चुक्ली लगाइदिने काम नेपालीहरुले नै गरिरहेका हुन्थे।

‘विनोदले नयाँ किनेको चिल्लो मोटर केही दिनयता नेपालीहरुको छेउ भएर निकै गुज्रिरहेको थियो,’ मैले मनमनै कल्पना गरेँ, ‘शायद त्यसैमा कसैको आँखा लागेछ।’

म बिस्तारै गएर विनोदलाई उठाएँ र परिस्थिति अवगत गराएँ।

‘एकैछिन पखिदिन भन्नुस् दाइ,’ उनले यसलाई सामान्य रुपमै लिएर अगाडि भने, ‘म तयार भएर निस्कन्छु।’

म फेरि बैठक कोठामा फर्किएँ र ती गोराहरुलाई केही समय पर्खिन अनुरोध गरेँ।

‘बसुन्जेल चिया कफी केही लिने कि?’ मैले उनीहरुलाई सोधेँ।

‘म कफी पिउँछु,’ एउटाले फ्याट्टै हात उठाएर भनिहाल्यो। अर्कोले पनि टाउको हल्लायो।

म भान्सातर्फ लम्केँ। भान्सा बैठक कोठासँगै जोडिएको थियो।

एकजना गोरा चाहिँ म सँगसँगै अलिक परसम्म आयो र भान्साको अगाडि उभियो।

‘वाउ…. नाम्चे बजार?’ उसले हाम्रो बडेमानको फ्रिजमा टाँसिएको उस्तै बडेमानको तस्बिरतर्फ हेर्दै चिच्यायो।

मैले केही दिनअघि मात्र सिड्नी मर्निङ हेराल्डको ‘ट्राभल एडिसन’मा उक्त ठूलो तस्बिर देखेपछि त्यसलाई काटेर फ्रिजमा टाँसेको थिएँ।

म तराईमा जन्मेहुर्केको मानिस। नेपाल हुन्जेल कहिले पनि हिमालहरुमा धेरै रुचि राखिँन। पत्रकारिता नै गरे पनि ठूलो चिज भनेको धरहरा हो र ठूला मानिसहरु भनेका गिरिजाप्रसाद कोइराला र मदन भण्डारी नै हुन् भन्ने नै मैले बुझेको थिएँ।

तर, अष्ट्रेलिया टेकेको क्षणदेखि नै मेरो सिंगो नेपाली पहिचानलाई अधिकांश गोराले चिन्दै नचिन्ने पाएँ। कसै कसैले चिनेको छ भने पनि केवल हिमाल र अलिक बुढापाकाले चाहिँ गोर्खा भनेर नजिकिन्थे।

म आफैँ पनि एउटा पाँचतारे होटलमा काम गर्थेँ। पेशाले म त्यस होटलको धोबी थिएँ। यसरी धोबी काम गर्नका निम्ति पनि लाइसेन्स जरुरत पर्ने भएकाले त्यस होटलले नै मलाइ उसैको खर्चमा टेफमा ‘टेक्सटाइल टेक्नोलोजी’ पढ्न पठाएको थियो। जुन, पढाइ मैले ‘ए ग्रेड’मै पास गरेर हाकिमहरुलाई चकित पारिदिएको थिएँ। त्यहीँका गोराहरुले हत्तपत्त नगर्ने ‘ओभरनाइट’ (रातभर जाग्राम बसेर खटिनुपर्ने) काम भएकाले मैले त्यस होटलमा यस्ता अवसरहरु प्राप्त गरेको थिएँ। फेरि त्यसरी जाग्राम कामगर्ने मानिसले त्यो धोबी विभागमा राति एघार बजेदेखि बिहानसम्मै हाकिमदेखि कारिन्दासम्मको ड्युटी एक्लैले धान्नु पथ्र्यो। जबकि चौबीस घन्टै त्यो धोबी सेवा प्रदान गर्ने होटलको त्यस विभागमा अन्य सिफ्टहरुमा हाकिम र थुप्रै सुपरभाइजर गरेर २० जनाभन्दा बढी हुन्थे। रातभर भने सर्वेसर्वा एक्लो म। यसरी त्यो कामका लागि ‘सबै तवरले योग्य एसियन’ म नै थिएँ।

यो हिसाबले म त्यस बिख्यात ‘फोर सिजन्स, रिजेन्ट’ होटलमा बस्न आउने ग्राहकहरुसँग ‘अर्डर’, ‘डिलेभरी’ हुँदै कुनै समस्या आइपरे ‘डिल’ गर्न पनि नियमित प्रत्यक्ष सम्पर्कमा आइरहन्थेँ।

त्यसरी भेटिएका प्रायः विदेशी ग्राहकले मलाई नेपाली भन्नेबित्तिकै उही हिमालबाटै चिन्ने गर्थे। अरु त अरु, त्यो होटलकै स्टाफ क्यान्टिनमा कामगर्ने वृद्ध एरिक पनि मलाई नेपालका हिमालहरुसँगै जोडेर माया गर्थे।

‘हेर हेर यिनी नेपाली हुन्, यिनको देशमा संसारकै अग्ला हिमालहरु छन्,’ एरिक बेला बेलामा ताना पनि कसेजस्तो गरेर मलाइ चिनाउँथे, ‘तर, यी बबुरा हिमालहरुका मामलामा मथ्थु छन्।’

एरिक त्यो बुढ्यौलीमा त्यसरी होटलमा दिनरात कामगरेको पैसा जोगाएर वर्षेनी नेपालका हिमालहरु हेर्न जान्थे। एकदिन त उनले दुवै हातले भ्याइ नभ्याइ तस्बिरका एल्बमहरु मेरा सामुन्ने ल्याएर राखिदिएका थिए।

सगरमाथा, अन्नपूर्ण, धौलागिरि, मनासलुदेखि लिएर अनेकानेक तस्बिरहरु देखाउँदै मलाइ सोध्थे, ‘यो त चिन्छौ होला नि? चिन चिन। यो काठमाडौंकै छेउको गणेश हिमाल हो।’

म वाल्ल परेर घरि तस्बिर त घरि एरिकको अनुहार हेर्थेँ।

‘ल हेर उसैको देश अनि उसैलाई केही थाहा छैन,’ एरिक बाँकीका साथीहरुतर्फ सानले नाक फुलाउँदै भन्थ्यो, ‘उसको देशको कुनै हिमाल देखाऊ, म यहीँनिर अहिल्यै फ्याट्टै नाम भनिदिन्छु।’

यसरी विदेश गएपछि जताततै नेपालका हिमालहरुले मलाई चुनौती दिन थालेको थियो।

यस्तो अवस्थामा अहिले भर्खर चाहिँ यी अध्यागमनका प्रहरीले मेरो फ्रिजको तस्बिर पहिचान गरिदिएको थियो।

‘तिमी नेपालमा के गर्थ्यौ?’ ती गोराले सोधे।

मैले आफू नेपालकै सबैभन्दा बढी बिक्री हुने अखवारमा पत्रकारिता गर्ने गरेको जानकारी दिएँ।

‘म यहाँबाट पनि नेपाली समुदायको निम्ति एउटा अखबार निकाल्ने तयारी गर्दैछु,’ मैले थप शान लगाएँ।

‘ओहो, पत्रकार!’ उनले मतिर तेर्सो आँखाले हेर्दै भने, ‘त्यसो भए त तिमीलाई धेरै कुराको जानकारी हुनुपर्छ।’

म चुपो लागेर उम्लँदै गरेको दुध चलाइरहेँ।

‘यो नाम्चे बजारभन्दा माथि देखिएको हिमालको नामचाहिँ के रहेछ नि?’ उनले सोधे।

मैले तस्बिरतर्फ हेरेँ।

म त्यसअघि कहिल्यै नाम्चे बजार गएको थिइँन। वीरगन्जमा हुर्कँदाका बेला बुवाले धेरैपटक ‘सगरमाथा जानका निम्ति नाम्चे बजार भएरै उक्लनुपर्छ’ भनेर सुनाउनुभएको थियो।

‘त्यो परको चुचुरो त बेग्लै जस्तो देखिन्छ,’ मैले कत्ति न जानेकै जस्तो गरेर कफी हाल्दै भनेँ, ‘यो वरको शिखर चाहिँ सगरमाथा जस्तै छ… हो सगरमाथा नै हो।’

ती गोराले मलाइ एक टकले नियालेर हेरे।

एकै छिनमा कफीका कप रित्तिए र विनोद भाइ पनि लुगा लगाइवरि पोका बोकेर निस्किए।

सबैथोक सामान्य हिसाबले नै चलिरहेकोले गोराहरुले पनि सहज तवरबाटै व्यवहार गरिरहेका थिए। उनीहरुले मलाइ विनोद भाइलाई भिल्लाउडस्थित अध्यागमनको हिरासतमा राख्न लैजाने जानकारी दिए। तर, विदा हुँदैगर्दा ती अघिका गोरा मतिर फर्किए।

‘मिस्टर जर्नलिस्ट तपाइको देश साँच्चै नै सुन्दर छ र म धेरैपटक त्यहाँ पुगेको छु,’ उनले भनेको अर्को वाक्यले म खंग्रङ्ग भएँ, ‘सगरमाथा नाम्चेबाट देखिँदैन, सगरमाथाको शिखर देखिन नाम्चेबाट अलिक माथिसम्मै हिँड्नु पर्छ, बरु त्यो देखिएको शिखर चाहिँ क्वाङ्दे हिमालको हो।’

यति भनेर उनी मुसुक्क हाँसे र विदा भए।

म रन्थनिएँ। पत्रकार भएकाले कति धेरै कुरा जानेको छु भन्ने मेरो अहंकार चुरचुर भएर भुइँभरि पछारिएको थियो। मेरै देशलाई मेरो एउटा भाइ समात्न आएको गोराले जत्ति पनि चिनेको रहेनछु।

हामीले पत्रकारिता गरेर दिनदिनै बाँड्नेगरेका जानकारीहरु त्रिभुवन विमानस्थलबाट उड्ने बित्तिकै कौडीको भाउमा मिल्कँदा रहेछन्। अनि जुन जानकारीहरुको संसारभर महत्व छ, त्यसबारे हामीलाई कहिलेकाहिँ घुम्नआउने मानिस जति पनि थाहा हुँदैन रहेछ।

म लज्जित भएँ। र, त्यसको केही वर्षमै नेपाल फर्किएँ।

अहिले मैले यहाँ नाम परिवर्तन गरेको विनोद भाइ सिड्नीका एक सफल नेपाली व्यावसायी भइसकेका छन्। उनका सफलताहरु दिनप्रतिदिन चुलिँदै गएका छन्। महत्वपूर्ण गोराहरुसँग बसेर खिचेका तस्बिरहरु सामाजिक सञ्जालमा देखिरहन्छु। उनी अझ सफल बनून्। म सदैव कामना गर्छु।

यता म पनि कम्ता खुशी छैन। हिमाल र नेपाली सम्पदाहरुका बारेमा पहिलेभन्दा धेरै जानकारी समेटिसकेको छु। अझ बढी जान्ने प्रयत्न गरिरहेको छु।

 

बैशाख १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्