काठमाडौँ- काठमाडौँ उपत्यका छाड्न चाहनेलाई बुधबारसम्मको समयसीमा दिइएपछि मंगलबार पोकापुन्तुरा बोकेर घर फर्कनेको ताँती देखियो।

मानिसहरुको चाप बढेपछि काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन अस्तब्यस्त देखिएको थियो।

उपत्यकाका तीनवटै जिल्ला प्रशासनले सोमबार विज्ञप्ति जारी गरी बिहीबार बिहानदेखि एक साताका लागि निषेधाज्ञा जारी हुने घोषणा गरेका थिए। मन्त्रिपरिषद्को निर्णयले यो निषेधाज्ञा कम्तिमा दुई साताका लागि लम्ब्याउने निर्णय गरेको थियो।

गत वर्षको चैतमा लागु गरिएको पहिलो लकडाउन आकस्मिकरुपमा लागू गरिएका कारण हजारौँ मानिसहरु पैदलै घर फर्किएका थिए। त्यसका कारण सरकारको चर्को आलोचना भएको थियो। निषेधाज्ञा कहिलेसम्म कायम रहने निश्चित नभएकाले उपत्यका छाड्ने मानिसहरु बाक्लिएका छन्।