काठमाडौँ– कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि काठमाडौँ उपत्यकामा प्रहरीले कडाइ गर्न थालेको छ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने सर्वसाधारणलाई राख्न प्रहरीले ठाउँठाउँमा होल्डिङ सेन्टर बनाएको छ। मास्क नलगाउने, दूरी कायम नगर्नेलाई राख्न होल्डिङ सेन्टर बनाइएको हो।

यससँगै प्रहरीले ‘तपाईंको मास्क खै?’ अभियान सञ्चालन गरेको छ।

कोरोना संक्रमितको संख्या हरेक दिन उकालो लाग्न थालेपछि सरकारले काठमाडौँ उपत्यकामा बिहीबारदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरेको छ।

पछिल्लो २४ घण्टामा मात्रै काठमाडौँ उपत्यकामा १ हजार ९ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँका १६०२, ललितपुरका २४० तथा भक्तपुरका १२४ जनामा संक्रमण पुष्टि भएको छ।