नेइमार पिएसजीमा यो सिजन निकै खुशी

नेइमारले आफू फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा खुशी रहेको बताएका छन् । जारी सिजन पिएसजीमा आफ्नो अति खुशीको सिजन रहेको उनले बताएका हुन् ।

भविष्यलाई लिएर विभिन्न आशंका गरेका बेला नेइमारले आफू पिएसजीमा निकै खुशी रहेको दाबी गरे । पिएसजीसँग उनको हालको सम्झौता आउँदो समरमा सकिन्छ ।

तर २९ वर्षे नेइमारले नयाँ सम्झौता गर्न भने बाँकी छ । नेइमारको नाम उनको पूर्व क्लब बार्सिलोनासहितसँग जोडिने गरेको छ । सन् २०१७ मा उनी विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका हुन् ।

नेइमारले भनेका छन्, ‘यो वर्ष पिएसजी साँच्चिकै सुधार भएको छ र हामीले सुधारको क्रम जारी राख्नका लागि कडा मेहनत गरिरहेका छौँ । म वास्तवमै राम्रो महसुस गरिरहेको छु, खुशी छु । यो सिजन निकै खुशी छु । हामी च्याम्पियन्स लिग जित्न चाहन्छौँ ।’

नेइमारको पिएसजीले बुधबार राति घरेलु मैदानमा च्याम्पियन्स लिग फुटबल सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्ने छ ।

नेइमारले यो वर्ष च्याम्पियन्स लिगका सात खेलमा ६ गोल गरेका छन् । उनले सबै प्रतियोगितामा २४ खेलमा १४ गोल गरेका छन् ।

बैशाख १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्