नेपाललाई ‘ट्रान्जिट’ नबनाउने सरकारको निर्णयपछि विचल्लीमा भारतीय

दिदी र भान्जा–भान्जीसँग नरुद्दिन। तस्बिरहरुः दिपा दाहाल/देश सञ्चार।

काठमाडौँ – भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि विदेशमा काम गर्नेहरुको यात्रा एकाएक रोकियो। त्यसमा साउदी अरेबिया ताकेकाहरु पनि परे। तर जसरी पनि आफ्नो जागिर र परिवार बचाउनु पर्ने बाध्यतामा उनीहरु थिए।

श्रीलंका, माल्दिभ्स र नेपाल ट्रान्जिट भएर साउदी पुग्नुपर्ने विकल्प उनीहरुका लागि खुल्ला थियो। नेपाल सरकारले कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको यथार्थ भुलेर हवाई र स्थलमार्गका सीमा नाकाहरु खुल्लै राख्यो।

निगरानीमा पनि उसले समय खर्च गरेन। त्यसको मौका छोपेर भारतीय नागरिकहरु धमाधम नेपाल छिरे। तीमध्ये धेरैजसो १४ दिन होटल क्वारेन्टिनमा बसेको दाबी गरिएको छ।

तर संक्रमण नियन्त्रणबाट हात झिकेको आरोप खेपेको सरकारले हाल आएर परस्पर विरोधी निर्णयहरु गर्न थालेको छ। यसबाट भारतीय नागरिकले पनि अनावश्यक सास्ती भोगेका छन्। उनीहरुको आउजाउले पनि नेपालमा संक्रमण तीब्र हुने आँकलन र जोखिम बढेको छ।

०००

बुधबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुग्दा पीसीआर परीक्षण गर्नेहरुको बाक्लो भीड देखिन्छ। भीडमा नेपाली मात्रै होइन भारतीय नागरिक पनि प्रशस्त भेटिन्छन्। यही भीडका एक हुन् केरलाका नरुद्दिन आलुङेल तोडी।

संक्रमित वृद्धा आमाबुवालाई अस्पताल भर्ना गरी साउदी जान उनी १७ दिनअघि दिल्ली हुँदै काठमाडौँ आएका थिए, आफ्नी बहिनी र बहिनीका स–साना तीन छोराछोरीसहित। नरुद्दिन भन्छन्, ‘भारतमा कोरोना बढ्यो। भारतबाट सिधै साउदी जान पाइएन। उडानमा रोक लगाइएको छ। खुल्ला सीमाना र भीसा नलाग्ने भएकाले हामी नेपाल आएको हो।’

आफ्ना दुई साथीसहित साउदी जान कर्नाटक, बेंगलोर जिल्लाका सिरिल पनि नेपाल आएको १४ दिन भयो। साउदीमा पाइप इन्जिनियरको रुपमा कार्यरत उनको साउदी जानुपर्ने बाध्यता उस्तै छ। उनी भन्छन्, ‘घरतिर कोरोना बढ्दैछ। हालसम्म परिवार सुरक्षित छ। साउदीमा जागिर भएकाले जानैपर्छ। जागिरमा आउन भनिसके। भारतबाट साउदी जान रोक छ। त्यसैले नेपाल आएका हौँ।’

भारतीय नागरिकका लागि नेपाल यात्रा सहज छ। सिरिल भन्छन्, ‘नेपालमा खुल्ला सीमाना छ। भिसा पनि लाग्दैन। क्वारेन्टिमा बस्न बस्ने वातावरण छ। चिसो पनि छ। नेपाली सहयोगी छन्। घर जस्तै लाग्छ।’

तर त्यो भन्दा गहिरो कुरा, उनीहरुको सोधीखोजीमा नेपाल सरकार चुकेको छ।

भारतबाट कपिलवस्तुको सिद्धार्थनगर हुँदै आएका मोहम्मद र उनको समूहको कथा पनि फरक छैन। जानु पर्ने उनीहरुलाई पनि साउदी नै हो। साउदी जाने टिकट लिइसकेका उनीहरुले स्वाब पनि दिइसके। ४८ घण्टाभित्रको रिपोर्टसँगै आफ्नो यात्राको बाटो खुल्ने उनीहरुमा विश्वास छ।

परस्पर विरोधी निर्णयको असर


नरुद्दिनले नेपाल आएपछि आमाको अवस्था गम्भीर भएको सुनेका छन्। आमालाई तलमाथि भएमा उनी कुनैपनि बेला केरला फर्कनु पर्छ। ६ वर्षदेखि ‘हाउस ड्राइभर’को रुपमा साउदीमा काम गर्दै आएका नरुद्दिनलाई जसरी हुन्छ साउदी जानुछ।

जागिर खाने कि नखाने? साउदीबाट चेतावनी आइसक्यो। होटल क्वारेन्टिन बसेको १४ दिनपछि उनीहरु पीसीआर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगे। स्वाब परीक्षणका लागि पाँच जनाको शुल्क पाँच हजार नेपाली रुपैयाँ तिरे। तर त्यसपछि मात्रै प्रयोगशालाले भन्यो, ‘विदेशीको स्वाब परीक्षणमा रोक लगाइएको छ।’

साउदी उड्न ४८ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट आवश्यक पर्छ। त्योसँगै उनीहरु सबैको साउदीको टिकट रद्द भयो। होटलमा बसेको र खाएको गरी पाँच लाख रुपैयाँ पनि स्वाहा। भारतीय दूतावासबाट दबाब आएपछि सरकारले फेरि विदेशीका लागि पनि पीसीआर परीक्षण खुल्ला गर्‍यो।

मंगलबार पुनः थप तीन लाख भारतीय रुपैयाँ खर्च गरेर साउदीको टिकट काटे उनीहरुले। अनि स्वाब दिन टेकु पुगे। बुधबार रिपोर्ट लिन टेकु पुगेका उनीहरुले राहत महशुस गरे, सबैको रिपोर्ट नेगेटिभ आयो।

तर उनीहरु अन्यौलमुक्त देखिँदैनन्। सरकारले बुधबार रातिबाट नेपाललाई ट्रान्जिट बनाएर उढ्न नदिने निर्णय गरेको छ। त्यसलाई लिएर नरुद्दिन चिन्तित छन्। उनी भन्छन्, ‘नेपाल हुँदै साउदी यात्राका लागि उनको लाखौँ भारतीय रुपैयाँ सकिसकेको छ। अब पनि जान पाउने या नपाउने निश्चित छैन। बेचैनी बढेको छ। स–साना बच्चाहरुसँग यात्रा सहज छैन।’

नरुद्दिन जस्तै अन्यौलग्रस्त छन् सिरिल र उनका साथीहरु। पहिले भारतमा कोरोना बढेको थियो। त्यही स्थिति नेपालमा देखिन थालेको छ। साउदी जान नपाए के गर्ने? पहिले सुरक्षित हुने सुनेर नेपाल छिरेका उनीहरु अहिले असुरक्षित अनुभव गरेका छन्।

बुधबार मात्रै स्वाब दिएका उनीहरुको भोलि मात्रै रिपोर्ट आउँछ। रिपोर्ट लिन आफै आउनुपर्छ। कसरी आउने? भोलि साँझका लागि उनीहरुले टिकट काटिसकेका छन्। तर एकातिर सरकारले नेपाललाई ट्रान्जिट बनाउन नदिने बुधबार रातिबाटै भनेको छ। अर्कोतिर भोलिदेखि काठमाडौँ महानगरमा लकडाउन छ। साउदी जान पाइएको खण्डमा विमानस्थल कसरी जाने? यस्तै प्रश्नहरुले घेरिएका छन् उनीहरु। यसको समन्वय कसले गर्छ? अनविज्ञ छन् उनीहरु।

सिरिल भन्छन्, ‘नेपालमा आएपछि यस्तो समस्या झेलिन्छ भन्ने सोचेको थिएन। हामी आउँदा वातावरण सहज थियो। सहजै आयौँ। नियम अनुसार १४ दिन क्वारेन्टिन पनि बस्यौँ। तर जाने बेला नेपाललाई ट्रान्जिट नबनाउने निर्णय सरकारले गरेको सुनेका छौँ। यसबाट निकै दुःखी छौँ।’

सिरिलले आफूहरु नयाँ नभएकाले यात्रा गर्न दिनुपर्ने माग राख्छन्। यसका लागि भारत र नेपाल सरकारबीच समन्वय होस् भन्ने उनको चाहना छ। सिरलका साथीहरु पनि उत्तिकै चिन्तित छन्। रियाद हुसेन आक्रोशित छन्। आफूहरुले यात्रा गर्न पाउनुपर्ने उनको भनाइ छ।

सरकारले भारतमा कोरोना संक्रमण बढेलगत्तै नेपालमा पनि उच्च सतर्कता अपाउनु पर्थ्यो नाकाहरुमा कडाइ र निगरानी गर्ने काममा सरकार चुक्यो। बदलामा भारतीय नागरिकहरुले ट्रान्जिट बनाए। उनीहरु कति संख्यामा नेपाल भित्रिए? कसरी आए? कहाँ बसिरहेका छन् भन्नेबारे सरकारसँग यकिन आँकडा छैन।

चिकित्सकहरु भारतीय नागरिकका कारण कोरोना फैलिएको दाबी गर्छन्। वास्तवमा साउदी ताकेकाहरु भारतीय नागरिक आफै पनि जोखिम मोलिरहेका छन्। अनी उनीहरुको खुल्ला यात्राले नेपाली पनि जोखिममा परेको यथार्थ छिपेको छैन।

बैशाख १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्