सिमकोट– हुम्लाको सर्केगार्ड गाउँपालिका–६ को बराई गाउँका किसानलाई लागत साझेदारीमा बाख्रा वितरण गरिएको छ। एक गाउँपालिका एक पशुपंक्षी उत्पादन कार्यक्रम अन्तर्गत किसानलाई बाख्रा वितरण गरिएको हो।

बाख्रापालनका लागि भूगोल र हावापानी उपयुक्त ठहर गर्दै गाउँपालिकाले छनौट गरेर लागुभएको उक्त कार्यक्रमबाट वडाका ७० घरधुरीलाई तीन/तीन वटा बाख्राका दरले लागत साझेदारीमा वितरण गरिएको वडा अध्यक्ष खड्कबहादुर बुढाथोकीले जानकारी दिए।

यसका लागि स्थानीय उपभोक्ताहरु स्थानीय पातका बाख्रा र वर्णशंकर जातका बोका खरिद गरेर वितरण गरिएका हुन्। जम्मा २१० वटा बाख्रा र पाँच वटा बोका खरिद गरिएको उनले बताए।

भेटेरीनरी अस्पतला तथा पशुसेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाका अनुसार ७० प्रतिशत कार्यालय र ३० प्रतिशत स्थानीय किसानको लागत साझेदारीमा बाख्रा तथा बोका खरिद गरेर वितरण गरिएको हो।

तीन वर्षीय कार्यक्रममा पहिलो वर्षको कार्यक्रममा बीस लाख रुपैयाँ कार्यालयको र ६ लाख किसानको लगानी भएको उनले बताए। उक्त वडाका बाँकी घरधुरीका किसानले बाँकी दुई वर्षमा बाख्रा सहयोग पाउनेछन्।

बैशाख १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्