अर्नाको राजधानी ‘कोशीटप्पु’मा एक दिन (भिडियो स्टोरी)

काेशीटप्पु आरक्षमा अर्ना ।

कोशीटप्पु – अर्ना (जंगली भैँसी) तथा आगन्तुक चराका लागि विशेष रुपमा चर्चित रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष विसं २०३२ मा स्थापना भएको हो ।

१७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको आरक्ष क्षेत्रमा अर्नासँग अरु वन्यजन्तु पनि पाइने र चराहरुका लागि पनि राम्रो बासस्थान रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिएका छन् ।

नेपालको पहिलो र ठूलो रामसार समेत रहेको यस क्षेत्रमा मात्र अर्ना पाइन्छ । तर केही अर्ना पछिलो समय चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको छ ।

हालै भएको गणनामा आरक्षमा अर्नाको संख्या ४९८ पुगेको रामले जानकारी दिए । वैशाख दोस्रो हप्ता भएको गणनामा अर्नाको संख्या विगतको भन्दा १२.९ प्रतिशत बढेको देखिएको छ । पछिल्लो गणना अनुसार आरक्षमा भाले अर्ना २२१, वयश्क पोथी १६२, अर्ध वयश्क ४८, दुईदेखि तीन वर्षसम्मका बच्चा ३५, एकदेखि दुई वर्षसम्मका ३२ अर्ना रहेका छन् । यसअघि सन् २०१८ को गनणामा ४४१ रहेको अर्नाको संख्या यो अवधिमा ५७ बढेको हो ।

विश्वमा निकै दुर्लभ मानिएको अर्नाका प्राकृतिक बासस्थानमा नेपाल, भारत, भूटान, कम्बोडिया र थाइल्याण्डमा मात्र पाइन्छन् ।

प्रमुख संरक्षण अधिकृत अशोक राम

२०३२ सालमा अर्ना संरक्षणका लागि कोशी टप्पु वन्यजन्तु आरक्षण घोषणा गर्दा अर्नाको कुल संख्या ६२ मात्र थियो। त्यसपछि लगातार संख्या बढिरहेको छ ।

अर्नाहरु सिमसार क्षेत्रमा बस्छन् । ती क्षेत्रमा उनीहरुका लागि चाहिने उपयुक्त घाँस पाइने पाइन्छ । अर्नाको संख्या बढ्नु राम्रो र खुशीको कुरा रहेको तर त्यससँगै चुनौति पनि थपिएको प्रमुख संरक्षण अधिकृत रामले बताएका छन् ।

उनका अनुसार पछिल्ला वर्षहरुमा मानव–अर्ना द्वन्द्व बढ्दो क्रममा छ । उनले भने, ‘संख्या बढ्दा खुशी हुनु पर्छ तर कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि हेरिनु पर्छ । स्थानीय जनता र आरक्षसँगको सम्बन्धलाई हामीले सहअस्तित्वको अवधारणा अनुसार लैजान सक्यौँ र साझेदारीमा काम गर्‍यौँ भने सहज हुनेछ ।’

कस्तो छ अहिले कोशीटप्पु वन्यजन्तु आरक्षको अवस्था?

कोशीटप्पुमा अहिले अर्नासँगै १४ वटा हात्ती लगायतका जनावर पनि छन् । हात्ती कै कारण मानवीय क्षति पनि भएका छन् । पछिल्लो १० वर्षमा हात्तीको आक्रमणबाट २७ जनाको मृत्यु भएको छ । यस्तै बालीनाली तथा भण्डारण गरिएको अन्न पनि हात्तीले खाने गरेको छ । आरक्ष वरपरको बस्तीमा अर्ना तथा बँदेलको आक्रमणमा पाँचजनाको मृत्यु भएको छ ।

विषेश गरि यस क्षेत्रमा २०७५ साल पछि बढी घटनाहरु भएको प्रमुख संरक्षण अधिकृत रामले बताए । मध्यवर्ती क्षेत्रका बस्तीमा लगाएका बालीनाली खान हात्ती गाउँ पस्दा दुर्घटना हुने गरेको उनले बताए । तर आफूहरुले दुर्घटना नहोस् र वन्यजन्तु तथा मानवबिचको सम्बन्ध पनि राम्रोसँग बनोस् भन्नका लागि नेपाली सेनासँगको सहकार्यमा काम गरिरहेको आरक्षले जनाएको छ ।

प्रमुख संरक्षण अधिकृत रामले भने, ‘हामीले द्वन्द्व कम गर्नका लागि कोशिश गरिरहेका छौँ । तर दुर्घटनाहरु भने रोक्न सकिएको छैन पूर्ण रुपमा ।’ मध्यवर्ती क्षेत्रका बासिन्दाहरु पनि आरक्षको मुख्य क्षेत्रमा प्रवेश गर्ने गर्दा समस्या हुने गरेको उनले बताए ।

रामले भने, ‘संरक्षणको अवधारण सजिलो छैन । हामीले वन्यजन्तुको सुरक्षासँगै वनसँग आश्रित समुदायको जीविकोपार्जनमा पनि ध्यान दिनु पर्छ ।’

वन क्षेत्र कम हुँदै जाने र वन्यजन्तु बढ्दै जाँदा वा मानव बस्ती फैलिँदै जाँदा वनमाथिको चाप बढ्दा मानव–वन्यजन्तु द्वन्द्वको अवस्था आउने गर्छ ।

संरक्षण र सहअस्तित्वका लागि मानव र वन्यजन्तु दुवैलाई सहयोग पुग्ने खालको स्थानीय बासिन्दासहितको सहभागितामुलक रणनीतिमा आफूहरुको जोड रहेको उनले बताए ।

अर्नाको क्रस ब्रिडिङ्गले प्रमुख जिन लोप हुने सम्भावना

चरनका लागि आरक्षमा लगिने अरु भैँसीसँगको समसर्गका कारण मुल प्रजातिको अर्ना लोप हुने जोखिमा रहेको प्रमुख संरक्षण अधिकृत रामले बताए ।

चरनका लागि वन क्षेत्रमा भैँसी तथा गाई ल्याइने गरेको छ । विशेष गरि भारतीय क्षेत्रबाट गाई भैँसी आउने गरेको सूचना पाएको उनले बताए । त्यसरी वन क्षेत्रमा चरनका लागि चौपाय ल्याउनेलाई कारवाही गर्ने गरिएको भए पनि सो क्रम भने रोक्न नसकिएको उनले बताए । वनमै अर्ना र निल गाई छन् । अर्नाहरुको घरपालुवा भैँसीसँग क्रसब्रिडिङ्ग हुँदा मुल प्रजातिको अर्ना लोप हुने हो कि भन्ने जोखिम रहेको रामले बताए ।

प्रमुख संरक्षण अधिकृत रामले भने, ‘भैँसी देखेको अवस्थामा हामीले धपाउँछौँ । तर पूर्ण नियन्त्रण भएको छैन । अर्नाको क्रस ब्रिडिङ्ग बाहिर गएर होइन आरक्ष भित्रै चर्न आएका घरपालुवा भैँसी (राँगा) बाट हुने गरेको छ । अध्ययनले भैँसी र अर्नाको जिन जेनेटिक रुपमा निकै नजिक रहेको देखाएको छ । हाब्रिडाइजेशनबारे भने छुट्टै अध्ययनको खाँचो छ ।’

आफूहरुको अहिलेको चिन्ता मुल प्रजातिको अर्नाको जिन लोप हुन्छ कि भन्ने रहेको उनले बताए ।

बैशाख १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्