गायक/संगीतकार ईश्वर अमात्यको कथा

‘त्यसपछि लाग्न थाल्यो– मलाई यही म्युजिकले बचाउँछ’

काठमाडौँ– करिब १६ वर्षको हुँदा ईश्वर अमात्यले बुझे, ‘अब मेरो आँखाको ज्योति फर्किँदैन।’

त्यसपछि संगीत उनका लागि रहर मात्रै रहेन। ‘बाध्यता’ बनिदियो। पढ्न लेख्न पाएनन्। जन्मिदै दृष्टिविहीन उनले आफ्ना लागि अरु विकल्प पनि देखेनन्।

‘सानै छँदा बुवा बित्नुभयो। गाउँमा सुविधा थिएन, आमाले काठमाडौँ पठाएर पढाउन सक्नुभएन। आँखा नदेख्ने मान्छे, के होला? कसो होला? भन्ने भयो होला आमालाई पनि,’ उनी भन्छन्, ‘त्यसपछि लाग्न थाल्यो– मलाई यही म्युजिकले बचाउँछ, बाँच्न सिकाउँछ। कहाँ–कहाँ लैजाने हो यसैले लैजान्छ भन्ने भयो। त्यसपछि यसमै लागिपरेँ।’

यो निष्कर्षमा पुग्ने बेलासम्म उनलाई रहरैरहरमा भए पनि संगीतको धेरथोर ज्ञान भइसकेको थियो। गाउने कला त उनले पाएकै थिए, त्यसमाथि मादल, बाँसुरी, हार्मोनियम बजाउनसमेत सिकिसकेका थिए।

संगीतको ज्ञान र आफ्नो क्षमतामाथि उनले भरोसा गरे।

०००

पाटनको अमात्य परिवार व्यापारको सिलसिलामा नुवाकोटको त्रिशुली पुग्यो। ईश्वरका जिजुबाजे पुस्ताको कुरा हो यो।

काठमाडौँ उपत्यकाका नेवार समुदाय व्यापारकै लागि तिब्बतको ल्हासासम्म पुगिसकेका थिए।

ईश्वरका पुर्खा भने त्रिशुलीमा रोकिए। व्यापारका लागि पुगेका उनीहरुको विस्तारै स्थायी बसोवास उतै भयो। ईश्वर त्यहीँ जन्मिए।

०००

जन्मेको चार दिन भइसक्यो। छोराले अझै आँखा खोलेन। आमाको मनमा चिसो पस्यो। उनी आत्तिइन्। यसअघि तीन सन्तानलाई जन्मदिइसकेकी उनलाई आशंका भयो– छोरा कतै दृष्टिविहीन त छैन?

घर परिवारमा चिन्ता थपियो। निराशा छायो। कारण, आमाको आशंका सहि निस्कियो– ईश्वर जन्मिदै दृष्टिविहीन रहेछन्।

आँखाको उपचारका क्षेत्रमा नेपालले आज प्रसिद्धि कमाएको छ। पाँच दशकअघिको त्योबेला अहिलेजस्तो थिएन। तैपनि ईश्वरका बुवाले आश मारेनन्। आँखाको ज्योति फर्काउन सकिन्छ कि भनेर कैयौँ कोशिस गरे।

अंग्रेजका पालमा खुलेको भारत उत्तर प्रदेशको सितापुर आँखा अस्पतालले आँखाको उपचारका लागि नाम कमाएको थियो। ईश्वर करिब तीन वर्षका भएपछि सितापुर लगियो।

त्यहाँ डाक्टरले भनेछन्, ‘बच्चाको उमेर सानै छ। अहिले अप्रेशन गर्दा झन् जोखिम हुन्छ। १२ वर्षको भएपछि ल्याएर आउनू।’

रत्नदास अमात्यले सोचेकै जस्तो जिन्दगी ‘सिधा रेखा’मा चलिदिएको भए, सायद ईश्वरको आँखाको ज्योति फर्किने पो थियो कि? सोचेकै जस्तो कहाँ हुन्थ्यो र!

१२ वर्ष पुगेपछि छोरालाई फेरि उपचारका लागि लैजाने र आँखाको ज्योति फर्काउने उनको सपना पूरा हुन पाएन। ईश्वर पाँच वर्षका मात्रै थिए, रत्नदासले संसार छाडे।

चारजना छोराछोरी हुर्किसकेका थिएनन्। श्रीमान्‌को निधनपछि उनीहरुको लालनपालन, शिक्षा दिक्षा, घरव्यहार सबै जिम्मेवारी आमा नारायणदेवीको काँधमा थपियो।

उता डाक्टरले भनेका थिए– १२ वर्षको भएपछि ल्याएर आउनू।

त्यो समय पनि घर्किँदै थियो।

आफूले कहिल्यै नदेखेको, कहिल्यै नगएको बिरानो ठाउँ जाने कसरी, पठाउने कसलाई? केही थाहा थिएन। तर पनि परिवारले आश मारिसकेको थिएन।

आफू हुर्किसकेपछि दाइ अर्जुनले दिल्ली लगेर गए ईश्वरलाई। जतिबेला ईश्वरको उमेर १६ वर्ष भइसकेको थियो, अर्थात डाक्टरले दिएको समयभन्दा चार वर्ष ढिलो।

‘आँखाको नसा सुकिसक्यो। अप्रेशन गरेपनि केही लाभ हुँदैन। तपाईंहरुले हौसला नहार्नु। ऊ आफ्नो ट्यालेन्टले आफ्नो जिन्दगी बाँच्छ। अप्रेशन गर्नतिर लाग्ने हो भने भोलि झन् दुःख पाउँछ,’ दिल्लीमा डाक्टरले दाइलाई भनेका यी शब्द ईश्वरले अझै बिर्सिएका छैनन्।

त्यतिबेलै उनले बुझे– मेरो आँखाको उपचार नहुने रहेछ।

अनि निष्कर्षमा पुगे– अबको बाटो संगीत।

ईश्वर अमात्य र जोस्ना भास्कर अमात्य। तस्बिर सौजन्यः ईश्वर अमात्य।

०००

मान्छे कहिलेकाहीँ बाध्यतामा, कहिलेकाँही रहरमा त कहिलेकाहीँ परिबन्धमा परेर आफ्नो ठाउँ छोड्छ। आफू बाँचेको परिवेशबाट ठाढा हुन्छ। त्यसरी जाँदा ऊ एक्लै जाँदैन। आफ्नो कला, संस्कृति र परम्परा पनि सँगसँगै बोकेर लैजान्छ।

व्यापारका लागि त्रिशुली पुगेका नेवार समुदायले पनि आफ्नो सँस्कृति बिर्सेका थिएनन्। काठमाडौँ उपत्यकामा जस्तै पर्व, जात्रा, भजकिर्तन, नाचगान भइरहन्थे।

‘म पनि त्यही माहोलमा हुर्किएँ,’ ईश्वर भन्छन्, ‘त्यही माहोल मेरा लागि गीत संगीतमा लाग्नका लागि आधार बन्यो।’

उनका ठूलोबुवा थिए, बुवाका केही साथीहरु थिए, जसलाई संगीत सम्बन्धी राम्रो ज्ञान थियो। उनीहरुबाट ईश्वरलाई हौसला मिल्थ्यो। सिक्न खोजेको कुरा सिकाइदिन्थे। नबुझेको कुरा बुझाइदिन्थे। संगीतप्रति उनको लगाव देखेर भन्थे, ‘यसले पछि गएर केही गर्छ।’

यिनै कुराबाट उनलाई प्रेरणा मिल्यो। गीत संगीतमा झुकाव बढ्दै गयो।

यस्तै उनको अर्को साथी थियो, रेडियो नेपाल।। रेडियोमा बज्ने गीत गुनगुनाउँथे। सोच्थे– मैले पनि रेडियोमा गाउन पाए!

०००

उमेरले पाँच दशक पार गरिसक्दा ईश्वर कहिलेकाहीँ आफैलाई फर्केर हेर्छन्। अप्ठ्यारोमा औँलाको सहारा दिएर डोर्‍याइदिने साथीहरु सम्झिन्छन्।

‘तँ सक्छन्। तैले गर्नैपर्छ। हामी छौँ’, भनेर आँट दिनेहरुप्रति कृतज्ञता व्यक्त गर्नका लागि शब्द भट्दैनन् उनी।

भन्छन्, ‘म एक्लै यहाँसम्म आइपुगेको होइन। औँला समातेर बाटो देखाइदिनेहरुको ठूलो साथ छ।’

तिनैमध्येका एक थिए– मोहनकुमार खतानी। ईश्वरलाई भनिरहन्थे, ‘यसरी यहीँ बसेर मात्रै हुँदैन। रेडियो नेपाल गएर स्वर परीक्षा दिनुपर्छ।’

त्यतिबेला गायक बन्नका लागि रेडियो नेपालमा स्वर परीक्षा दिनुपर्थ्यो। अनि मात्रै गायकको दर्जा पाइन्थ्यो।

मिति त ठ्याक्कै याद छैन। ‘२०४४–०४५ सालतिर होला,’ उनी अनुमान गर्छन्।

मोहनले उनलाई रेडियो नेपाल लगेर गए, स्वर परीक्षाका लागि। पहिलो पटकमै स्वर परीक्षा पास भए। जतिबेला उनको उमेर थियो २० वर्ष।

उनी भन्छन्, ‘त्यसपछि जीवनमा हौसला थपियो। केही गर्न सकिने रहेछ भन्ने लाग्यो।’

०००

गीत संगीतमा बडो रुचि राख्ने अर्का एकजना थिए त्रिशुलकै– कृष्णबहादुर नापित। ईश्वरका दाइका साथी। उनी गीत बनाउनु पर्छ भनेर कुरा गरिरहन्थे, ईश्वरसँग।

एकदिन कृष्णले भनेछन्, ‘मैले एउटा गीत लेखेको छु। कस्तो होला?’

‘खै सुनाऊ त !’

‘मेघ गर्जिरहेछ,चट्याङ परिरहेछ।
पिरतीको आलो घाउ, आज साह्रै पोलेछ।’

दुनियाँमा आफूलाई एक्लो महशुस भएर
डाँडामाथि झुल्केको घाम, अस्ताए झैँ भएर

आँधी बहिरहेछ, जिवन सल्किरहेछ’

‘यसमा धुन भर्न सकिएला?’ कृष्णले साधे।

ईश्वरलाई शब्द ठिकै लाग्यो, ‘कोशिस गरौँला नि।’

रातिको समय। बाहिर झमझम पानी परिरहेको छ। उनलाई पटक्कै निद्रा लागेको छैन। मनमा तिनै शब्द खेलिरहेका छन्ः

‘मेघ गर्जिरहेछ,चट्याङ परिरहेछ।
पिरतीको आलो घाउ, आज साह्रै पोलेछ।’

रातको समय उनलाई प्रिय लाग्थ्यो। भन्छन्, ‘गीत बनाउँदा रातको समय नै राज्थेँ। सुनसान वातावरणमा। कहिले कौसीमा त कहिले ओछ्यानमै उत्तानो परेर पनि मनमनैमा धुन खेलाउँथेँ।’

रातभरमा उनले शब्दमा धुर भरे। भोलिपल्ट गाउँकै स्कुलमा साँस्कृतिक कार्यक्रम थियो। गीत सुनाए, धुन त गजब बन्यो। सुन्नेहरुबाट खुब तारिफ पाए।

गीत सुनिसकेपछि कृष्णले भने, ‘गीत राम्रो बन्यो। रेडियो नेपाल गएर रेकर्ड गराउनुपर्छ।’

ईश्वरले स्वर परीक्षा पास गरेको करिब तीनचार वर्षपछिको कुरा हो यो।

त्यही गीत लिएर उनी रेडियो नेपालले आयोजना गर्ने आधुनिक गीत प्रतियोगितामा सहभागी बने। गीत दोस्रो भयो।

यही गीत उनका लागि जीवनको ‘टर्निङ पोइन्ट’ बनिदियो

०००

त्यसपछि उनको काठमाडौँ आउजाउ बाक्लिन थाल्यो। ज्ञानमाला लगायतका विभिन्न नेवारी कार्यक्रमका लागि उनको त्रिशुली–काठमाडौँ ओहोरदोहोर चलिरह्यो।

एक्लै आवतजावत गर्न गाह्रो हुन थालेपछि साथीहरुसँग काठमाडौँमै बस्न थाले। रेष्टुरेन्टमा गाउन सुरु गरे।

‘यतै बस्नुपर्छ भन्न थाले साथीहरुले। त्यसपछि काठमाडौँ आएर महाराजगञ्जमा साथीहरुसँग बस्न थालेँ। होटलमा गाउन थालेँ। चक्रपथमा टिफानिज नामको रेष्टुरेन्ट थियो। त्यहाँ गाएँ केही वर्ष,’ उनले सम्झिए।

पछि त्यो रेष्टुरेन्ट बन्द भयो। उनलाई रेष्टुरेन्टमै गाउनका लागि पोखराबाट ‘अफर’आयो।

‘म टिफानिजमा गाउँदा पोखराको प्रिन्स रेष्टुरेन्टका साहु पनि त्यहाँ आइरहन्थे। ल ईश्वर जी हाम्रोतिर गएर पनि गाउनु पर्छ है भनिरहन्थे। रेष्टुरेन्ट बन्द भएपछि उनीहरु मलाई लिन घरमै आए,’ उनले पोखरा जानुको कारण सुनाए।

पोखरामा रहँदा आफूलाई विश्वासै नलाग्ने गरी उनको जीवनमा जोडिइन्, जोस्ना भास्कर।

०००

बंगाली परिवारमा जन्मिएकी जोस्नाको सानैदेखि संगीतमा रुची थियो। उनले संगीत सिकेकी पनि थिइन्। सांगीतिक कार्यक्रम, भजनकिर्तनमा सहभागी भइरहन्थिन्।

प्रिन्सका सञ्चालकसँग उनको पुरानै चिनजान थियो। गीत गाउनका लागि बोलाए। त्यहीँ पहिलो भेट भयो ईश्वरसँग।

‘हाम्रो परिवार पोखरामै बस्थ्यो। म सानैदेखि भजन, गीत गाउने गर्थेँ। रेष्टुरेन्टका साहुले मलाई चिन्नुहुन्थयो। बोलाउनु भयो गजल गाउनको लागि। ईश्वरजीसँग त्यहीँ भेट भएको हो,’ जोस्नाले ईश्वरसँगको पहिलो भेट सम्झिइन्।

ईश्वरसँगको उनको निकटता बढ्दै गयो। सँगै काम गर्ने साथीहरुलाई उनले आफूले ईश्वरलाई मन पराउने संकेत दिइसकेकी थिइन्।  भन्थिन्, ‘ईश्वरजीलाई साथ दिन चाहन्छु।’

ईश्वर भने यी सब कुराबाट बेखबर थिए।

‘साथीहरुले मलाई जिस्काउँथे। होकी होकी जस्तो त लाग्थ्यो कहिलेकाहीँ। तर पनि मलाई पत्यार भएन। साथीहरु जिस्केका होलान् भन्ने हुन्थ्यो,’ ईश्वरले भने।

केही समय पोखरा बसेपछि २०५२ सालतिर ईश्वर काठमाडौँ फर्किए। न्यूरोडको एउटा होटलमा गाउन थाले। त्यतिबेला उनको परिवार पनि त्रिशुलीबाट काठमाडौँ आइसकेको थियो।

पोखरामा ईश्वरसँगै तबला बजाउने साथी थिए, देवेन्द्र शाक्य। उनी पोखराको खबर ल्याइरहन्थे। उनले ईश्वरका दाइ अर्जुनलाई पोखरा बोलाए। २०५२ सालकै कुरा हो यो।

पोखरा पुगेर जोस्नालई भेटे अर्जुनले।

जोस्नाले अर्जुनसँग आफूले ईश्वरलाई साथ दिन चाहेको कुरा राखिन्, ‘दाइ हाम्रो कल्चर त मिल्दैन। तपाई नेवार, हामी बंगाली। मैले ईश्वर जीलाई साथ दिन चाहेकी छु। तैपनि परिवारमा सल्लाह गर्नुहोला।’

अर्जुनले जोस्नाको प्रस्तावमा सहमति जनाए। जोस्ना अर्जुनसँगै काठमाडौँ हिँडिन्।

आफूलाई साथ दिन भनेर जोस्ना घरमै आइपुगेपछि ईश्वर छक्क परे।

‘म आँखा देख्दिन। तपाईंलाई सुख दिन सक्दिन भन्नुभयो। मलाई सुख चाहिँदैन, तपाईँलाई साथ दिन पाए पुग्छ भनेँ,’ जोस्नाले त्यो क्षण सम्झिइन्।

ईश्वरलाई त यस्तो होला भन्ने विश्वासै थिएन। भन्छन्, ‘आफ्नो धुन अर्कै थियो। बिहेतिर सोच नै थिएन। पत्यार लाग्दैनथ्यो।’

संगीतमा सहकर्मीको रुपमा जोडिएको ईश्वर र जोस्नाको सम्बन्ध जीवनका सहयात्रीको रुपमा बदलियो।

उता जोस्नाको घरमा पनि विवाहको कुरा चल्दै थियो। कोलकात्ताको बंगाली केटा राजेका थिए, परिवारले। छोरी भागेपछि परिवारमा तनाव थपियो। फरक समुदाय, त्यसमाथि केटा दृष्टिविहीन परिवारले स्वीकार गर्ने कुरै भएन।

केही दिनमै जोस्नाका बुवा छोरी फिर्ता लिन काठमाडौँ आइपुगे। उनी फर्कन मानिनन्।

जोस्ना भन्छिन्, ‘बुवा फिर्ता लिन आउनुभयो। म त आइसकेँ। अब धोका दिन मिल्दैन भनेर बुवालाई फर्काएँ।’

छोरीसँग बुवाआमाले चित्त दुखाए। ०५३ सालमा छोरा जन्मिसकेपछि मात्रै बुवाआमाले स्वीकार गरेको जोस्नाले सुनाइन्।

०००

ईश्वरको संगीत कर्म निरन्तर चलिरह्यो। आफूले नेपाली र नेवारी गरी झण्डै ३०० गाइसकेको उनी बताउँछन्।

ईश्वरले ‘पिपलु बोटैमा ऐजुरु पलायो’, ‘अत्तर त्यो फुलको झरेपछि उडिजान्छ रे’, ‘सन्नेलाई सुनको माला, भन्दिनेलाई फुलको माला’ लगायतका कैयौँ यस्ता गीत गाए, जसले उनलाई ‘गायक ईश्वर अमात्य’ बनायो।

आज पनि उनले संगीतको साथ छाडेका छैनन्। संगीतबाटै विहान सुरु हुन्छ। हार्मोनियममाथि औला दौडाउँछन्। साधना गर्छन्। विविध सांगीतिक कार्यक्रममा सहभागी भइरहन्छन्।

पछिल्लो एक वर्ष भने कोरोनाको महामारीले घरभित्रै थुनिदिएको छ। उनको साधना भने निरन्तर छ।

ईश्वर जिन्दगीसँग गुनासो गर्दैनन्। भन्छन्, ‘देख्नेहरुको आफ्नै संसार हुन्छ। आफूसँग जे छ त्यसमै रमाउने त हो। आफूसँग जुन कुरा छँदैछैन, त्यसका लागि गुनासो गरेर के गर्नु?’

बैशाख १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्