भूकम्पको बेला १० करोड, कोरोनामा सात करोड दिँदा ठीक, अस्पताल बनाउन खोज्दा बेठीक? (भिडियाे अन्तर्वार्ता)

काठमाडौँ – यसै हप्ता सूर्य नेपालले बुढानीलकण्ठमा बाल अस्पताल बनाउन पाँच करोड रुपैयाँ सहयोग गर्ने घोषणाअनुसार काम अघि बढायो।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गर्न राजधानीको एक होटलमा औपचारिक कार्यक्रम आयोजना गरियो। तर अन्तिम समयमा विरोधका कारण तयारीअनुसार चेक हस्तान्तरण हुन सकेन।

कुनै पनि नाफा मुलक संस्थाले आर्जन गरेको मुनाफाको एक प्रतिशत रकम सामाजिक क्षेत्रमा लगानी गर्नुपर्ने कानुनी व्यवस्था अन्तरगत सूर्य नेपालले रकम हस्तान्तरण गर्न खोजेको थियो। तथापी केही एनजिओको दबाबका कारण आफूले पवित्र काम गर्न नपाएको गुनासो सूर्य नेपालका उपाध्यक्ष रवि केसीको छ।

गैरनाफा मुलक हिसाबले बुढानीलकण्डको ४२ रोपनी क्षेत्रमा निर्माण हुने अस्पतालको लागत डेढ अर्ब रुपैयाँ छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालालाई चुरोट उत्पादक कम्पनीसँग आर्थिक सहयोग नलिन ६ वटा संस्थाले अपिल गरेपछि उनी एकाएक पछि हटे।

उक्त घटनापछि सूर्य नेपालका उपाध्यक्ष केसी पवित्र भावनाका साथ सामाजिक काम गर्न खोजिए पनि अवरोध सिर्जना गरिएको बताउँछन्। मंगलबार देश सञ्चारसँग कुराकानी गर्दै उनले भने, ‘हामीले नाफाको केही हिस्सा सामाजिक काममा लगानै पर्ने हुँदा देखिने गरी काम गरौँ भनेर अघि बढेका हौँ तर अनाआवश्यक विवाद सिर्जना गरियो।’

यसअघि पटक पटक सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो कम्पनीले सहयोग गर्दै आएकोमा यसपटक नियोजित रुपमा अस्पताल बनाउने कामलाई नै अवरोध गरिएको उनको आरोप छ।

‘भूकम्पपछिको पुनःनिर्माणका लागि हामीले १० करोड दियाैँ । कोरोना नियन्त्रण गर्न प्रदेश प्रदेशलाई एक/एक करोड दियौँ त्यस बेला कसैले प्रश्न उठाएन’, केसी अगाडि भन्छन्, ‘तर अहिले गरिब जनताक छोराछोरीको उपचार गर्ने अस्पताल बनाउ भन्दा चुरोट कम्पनीले सहयोग गर्न मिल्दैन भन्छन्।’

औद्योगिक व्यवसाय ऐन २०७४ ले प्रत्येक कम्पनीको १ प्रतिशत नाफा सामाजिक काममा लगाउनुपर्ने व्यवस्था छ। तर उक्त ऐन विपरीत हुने गरी सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ ले भने चुरोट खैनी जस्ता कम्पनीले सरकारी वा गैरसरकारी वा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्संग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राविधिक, भौतिक संरचना तथा अन्य कुनै पनि प्रकारको सहयोग गर्न नपाउने व्यवस्था गरेको छ।

उपाध्यक्ष केसी ऐनको भावना विपरीत ल्याइएको निर्देशिकालाई देखाएर केही एनजिओले सामाजिक कार्यको विरोध गर्नु आपत्ति जनक रहेको बताउँछन्।

सूर्य नेपालले गर्न नपाएको सहयोग र उद्योग व्यापारको क्षेत्रलाई कोरोना प्रभावबारे देश सञ्चारका प्रकाश ढकालले सूर्य नेपालका उपाध्यक्ष रवि केसीसँग गरेको भिडियो कुराकानी यस्तो छ।

बैशाख १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्