व्यङ्ग्य गजल

ठोक्न हिँडे अन्तै

बेसार पानी कता पर्‍याे खोक्न हिँडे अन्तै
बिरामीका पिरले होकि धोक्न हिँडे अन्तै।।

जुलुस नारा लगाउन टरक चढाइ ल्याए
रोगी परे ठाउँका ठाउँ बोक्न हिँडे अन्तै।।

उद्घाटन बैठक मिटिङ जम्मा पार्ने आफै
हुलमुल गरे यिनले भनि रोक्न हिँडे अन्तै।।

हल्लियो जुँगा भने खाएको चाल पाउँछन्
दाँत झरेका गिजा छाम्दै टोक्न हिँडे अन्तै।।

वजन आफ्नो कति बाँकि अंश लागे पछि
आफ्नो तुलो कता कता जोख्न हिँडे अन्तै।।

पछि लाग्दै लाइन बसे लाइन तिनकै बिर्ता
पालो आउने बेला बखत तोक्न हिँडे अन्तै।।

छत्ल्याङ् छुत्लुङ् सँधै हुन्थ्यो भरी गाग्रो पनि
ठक्कर लगाइ आधा पानी पोख्न हिँडे अन्तै।।

बसाइँ सरी नजाउ भनि उर्दि लाउँदा पनि
बैरिका दैलो उघारि पसे ठोक्न हिँडे अन्तै।।

बैशाख १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्