संक्रमण तथा आइसियू विशेषज्ञ डा. प्रभात अधिकारीका सुझाव

घरमै रहेका संक्रमितको ख्याल कसरी गर्ने? केमा ध्यान दिने?

कोरोना भाइरस महामारीको दोस्रो लहर विगतको भन्दा संक्रामक र भयावह हुन सक्ने संकेतहरु पछिल्ला केही दिनको संक्रमण तथा मृत्युदरले देखाएका छन्। मानिसहरु संक्रमित भइरहेका छन् भने मृत्यु हुने क्रम पनि थपिने क्रममा छ।

जोखिममा रहेका समूह (दीर्घरोगी, बृद्धबृद्धा) हरुसँगै अहिले वयश्क तथा किशोरकिशोरी–बालबालिकामा पनि संक्रमण विगतको भन्दा बढि देखिएको छ। संक्रमण बढ्दै जाँदा हाम्रो स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आउने भएकाले हामी आफै सतर्क बन्नु पहिलो र सबैभन्दा उत्तम विकल्प हो।

डा. प्रभात अधिकारी

सरकारले त सूचना जारी गरेर नै भनिसक्यो कि अस्पतालहरुले थेग्न सक्ने अवस्था छैन, सावधानी अपनाउनुस् भनेर।

स्वास्थ्य मन्त्रालयले शुक्रबार (वैशाख १७ गते) जारी गरेको सूचनाले स्पष्ट यो पार्छ कि महामारीको पहिलो लहरले सिकाउको शिक्षा लिइएको रहेनछ।

अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटरसहित कोभिड–१९ शैय्याकै अभाव भएको खबर आइरहेका छन्। यस्तो अवस्थामा घरमा कोही कोरोना भाइरसबाट संक्रमित व्यक्ति हुनुहुन्छ भने हामीले विशेष ख्याल गर्नु पर्ने हुन्छ।

घरमै आइशोलेशनमा रहेका कोरोना संक्रमितको ख्याल कसरी गर्ने र के कुरामा ध्यान दिने?

१) कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिको स्वास्थ्य अवस्था सामान्य भएमा घरमै भिन्दै कोठामा आइशोलेशनमा बस्दा हुन्छ। तर आइशोलेशनमा बस्ने कोठा भेन्टिलेशन युक्त हुनु पर्छ।

२) संक्रमितलाई घरमा रहेका अरुले खाना बनाएर कम्तीमा ६ फिटको दूरी कायम गरि आइशोलेशनमा बसेको कोठमा लगेर दिन सकिन्छ। संक्रमितले खाना खाएपछि आफ्नो भाँडा सकेसम्म आफै माझ्ने र घाममा सुकाउने गर्नु पर्छ। सुकाउँदा भाइरस भए मर्छन्।

३) खाना दिन जाँदा वा अरु हेरचाहका लागि जाँदा मास्क राम्रोसँग लगाउनु पर्छ। संक्रमितले पनि मास्क लगाउनु पर्छ। हेरविचारका लागि स्वस्थ र वयश्क मात्रै जानु पर्छ। पाको उमेरका व्यक्ति संक्रमितबाट परै बस्ने तथा खाना दिने र स्याहारका अरु काम गरेपछि सम्बन्धित व्यक्तिले राम्रोसँग आफ्नो सफाइमा ध्यान दिनु पर्छ।

४) सकेसम्म संक्रमितले भिन्दै ट्वाइलेट–बाथरुम प्रयोग गर्नु पर्छ। यदि त्यस्तो छैन भने हरेक प्रटक संक्रमितले प्रयोग गरेपछि राम्रोसँग सफा गर्नु पर्छ। संक्रमितले प्रयोग गरेको ट्वाइलेट सफा गर्नका लागि ब्लिच वा ७० प्रतिशत अल्कोहलयुक्त सोलुशन या साबुन पानीले राम्रोसँग गरेर सुकेपछि मात्रै अरुले प्रयोग गर्नु पर्छ।

५) संक्रमित व्यक्तिले मास्क लगाउने, कोठाबाट बाहिर निस्कँदा दूरी कायम गर्ने, प्रोटिनसहितका पोषकतत्व युक्त खानेकुरा खाने, प्रशस्त मात्रामा पानी पिउने, निश्चिन्त हुने गर्नु पर्छ।

६) संक्रमितले आफ्ना लक्षणहरुमा विशेष ध्यान दिनु पर्छ। ज्वरो आउने, ज्यान दुख्ने सामान्य लक्षण हुन्, त्यसमा खासै आत्तिनु पर्दैन। तर कफ आइरहेको छ र बिग्रिँदै गएको छ भने सतर्क बन्नु पर्छ। कफ गर्दा वा लामो सास फेर्दा छाती दुख्छ भने सतर्क बन्नु पर्छ, यस्तो अवस्थामा निमोनिया भएको हुन सक्छ। यस्तै पल्स–अक्सिमिटर ९४ भन्दा कम भयो भने तुरुन्त स्वाथ्यकर्मीलाई भन्ने वा अस्पताल भर्ना हुनु पर्छ।

(डा. प्रभात अधिकारीसँग गरिएको कुराकानीमा आधारित । विगत १३ वर्षको अनुभव रहेका डा. अधिकारी संक्रमण तथा आइसियू विशेषज्ञ हुन्। उनी आवद्ध डाँफे केअरले कोरोना भाइरसबाट संक्रमित भएर घरमै आइशोलेनमा बसेकाहरुलाई न्यूनतम शूल्कमा होम आइशोलेशन मोनिटरिङ्ग सेवा प्रदान गर्दै आएको छ। सो सेवामा आवश्यक परेको अवस्थामा संक्रमितका लागि एम्बुलेन्स र अस्पतालको व्यवस्थामा सहयोग गरिने डाँफे केअरले जनाएको छ।)

बैशाख १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्