सप्तरीमा आइतबारदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली

जनकपुरधाम– कोरोना संक्रमण बढ्दै गएपछि सप्तरीमा सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ।

शनिबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आइतबारदेखि जिल्लामा सञ्चालन हुने अत्यावश्यक सेवा तथा निर्माण कार्यमा प्रयोग हुने बाहेकका सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

आज बसेको बैठकले बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकल लगायतका सवारीसाधनमा जोर बिजोर प्रणाली लागु हुने जनाइएको छ।

त्यस्तै बैठकले बजारमा खुल्ला रुपमा ठेला तथा गाडिमा बिक्री हुने खाद्यान्य, लत्ताकपडा तथा तरकारी बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। बढी भीडभाड हुने मालपोत, नापी लगायतका कार्यालयमा सेवा प्रवाह गर्दा भीडभाड नहुने व्यवस्था मिलाउने निर्णयसमेत भएको प्रजिअ पोखरेलले जानकारी दिए।

बैठकले राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सवारीसाधनमा रोक लगाउने निर्णयसमेत गरेको छ। बैठकले गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको पीसीआर ल्याबमा आइतबारदेखि दैनिक रुपमा निःशुल्क स्वाब परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

कोरोना संक्रमित भएर बाहिरी जिल्लामा उपचारको क्रममा मृत्यु भएको खण्डमा सप्तकोशी नदीको किनारमा र अन्यको हकमा आ–आफ्नो स्थानीय तहले तय गरेको स्थानमा आफ्नो धार्मिक परम्परा अनुसार अन्त्येष्टि गर्न सकिने निर्णय बैठकले गरेको छ।

बैशाख १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्