आगामी आर्थिक वर्षबाट श्रमिकको पारिश्रमिक १५ हजारः प्रधानमन्त्री ओली

फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने बताएका छन्।

शनिबार मे दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षबाट श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ हुने बताएका हुन्।

उनले भने, ‘न्यूनतम पारिश्रमिक निर्धारणमा यस पटक रोजगारदाता र श्रमिक प्रतिनिधिबीच सहमति हुन सकेन। त्यसैले सरकारको तर्फबाट म जानकारी गराउँछु– आर्थिक वर्ष २०७८/०७९ बाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुन्छ। मासिक पारिश्रमिक रु १३ हजार ४ सय ५० बाट रु १५०० हजार, दैनिक पारिश्रमिक रु ५१७ बाट ५७७, प्रति घण्टाको पारिश्रमिक रु ६९ बाट रु ७७ पुर्‍याइने छ।’

यसमा उद्यमी व्यवसायीले पनि समझदारी देखाउने प्रधानमन्त्री ओलीको विश्वास छ।

उनले भने, ‘गएको वर्ष परिस्थितले साथ दिएन। यस वर्ष पारिश्रमिक बढ्दैन भन्ने सरकारको आग्रहमा श्रम आन्दोलनले उच्च समझदारी देखाएको हो। यस वर्ष त्यस्तै समझदारी उद्यमी व्यवसायीद्वारा देखाइने छ भन्नेमा म विश्वस्त छु।’

प्रधानमन्त्री ओलीले सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समावेश गरिनेसमेत बताए।

उनले भने, ‘सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइन्छ।  सबै श्रमिकलाई विस्तारै योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिन्छ। यसको सुरुवात यसै आर्थिक वर्षबाट हुनेछ।’

बैशाख १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्