बढ्दै छ कोभिड मृत्युदर, थपिँदै छन् पशुपतिमा शव

नेपाली सेनाको शव व्यवस्थपन टोली शवदाह गृहमा अन्त्येष्टिका लागि शव वहानबाट शव निकाल्दै। तस्बिरहरुः बर्षा शाह/देश सञ्चार।

दिउँसोको ३ बज्नै लाग्दा पशुपति क्षेत्रलगायत आसपासमा स–साना पानीका छिटा आकाशबाट झरिरहेका थिए। मौसम हेर्दा लागिरहेको थियो, कसैको दुःखमा सामेल भइरहेको छ। सायद कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएकाहरूप्रति।

शनिबार कोरोना भाइरस संक्रमणका कारण आफ्ना प्रिय व्यक्ति गुमाएका आफन्तको मनजस्तै अँध्यारिएको थियो मौसम पनि।

पशुपतिस्थित विद्युतीय शवदाहअगाडि उभिरहेका एक झुण्ड मानिसहरूजस्तै।

शवदाहको प्रांगणमा दुई वटा शववाहन रोकिएका थिए। अनि शव वाहनसँगै सेनाका गाडी पनि। गाडीका छेउमा सेतो पीपीई सेट लगाएका ८ जना उभिरहेका थिए। उभिरहेका उनीहरूलाई पोसाकमा भएका सेनाले केही निर्देशन दिइरहेका थिए।

गेट लगाइएको थियो। मृतकका आफन्त गेटबाहिर उभिरहेका थिए। कोहीका हातमा पुष्पगुच्छा थिए। कोहीका हातमा अबिर र माला। कोहीका हातमा धुप त कोहीका हातमा खादा थिए।

आफन्तलाई अन्तिम पल्ट बिदाइका हात हल्लाउन पशुपति पुगेका धेरैका आँखा रसाइरहेका थिए। सक्ने सम्हालिरहेका थिए। अनि आँट गरेर आफन्तलाई सम्झाइरहेका थिए।

विभिन्न अस्पतालमा संक्रमणबाट मृत्यु भएकाहरूको शव सेनाको टोलीले अन्तिम संस्कारका लागि पशुपतिको शवदाह गृहमा पुर्‍याएको थियो।
हाकिमले दिएको निर्देशन पालना गर्दै शव निकाल्ने तयारी गरे।

आफन्तको अन्तिम संस्कारमा सामेल भएकाहरूसामु एकपछि अर्को गर्दै सेनाले लस्करै चार वटा शव राख्यो। कुन शव कसको भन्ने गेटबाहिर उभिरहेका आफन्तलाई ठम्याउन गाह्रो भइरहेको थियो। कुन शवमाथि आफूले ल्याएका पुष्पगुच्छा अन्तिम पल्ट चढाउने उनीहरू अन्योलमै थिए।

उनीहरूको अन्योललाई हटाउँदै सेनाले मृतकको नाम लिँदै आफन्तलाई अगाडि बोलायो। अन्तिम पल्ट चढाउन ल्याइएका सामग्री मागे। र, शवमाथि राखिदिए।

यही क्रम ८ पटक चल्यो। पछिल्ला केही दिनयता संक्रमणबाट मृत्यु हुनेको संख्या बढेसँगै सेनाले एकै पटक चार वटा शव उठाउने गरेको छ। यसभन्दा अगाडि अर्थात् संक्रमणको पहिलो लहरमा एक पटकमा एउटा शव उठाउने गरिएको थियो।

मृत्यु हुनेको संख्या बढेपछि शव उठाउन धेरै चाप भएपछि एकै पटकमा चार वटा शव उठाउन थालिएको नेपाली सेनाले बताएको छ।

नेपाली सेनाको तथ्यांकअनुसार शनिबार मात्रै विभिन्न अस्पताल र होमआइसोलेसनमा गरी २३ वटा शव शवदाहमा पुर्‍याइएको थियो।

पछिल्लो केही सातायता संक्रमण दर ह्वात्तै बढेको छ। दैनिक संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरिरहेको छ।

संक्रमण दर बढेसँगै मृत्यु हुनेको संख्या दोहोरो नम्बरमा पुगेको छ।

शुक्रबार मात्रै स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदै गर्दा १९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्। तिनै १९ जनामध्ये थिए, भोजपुरका ८६ वर्षका सर्किधन राई, शन्तिनगरकी ७५ वर्षीया चिजमाया कोजु र तनहुँकी ४३ वर्षीया शारदा पौडेल।

सर्किधन राई २० दिनअगाडि रूखबाट लडे। टाउकामा चोट लाग्यो। उनलाई भोजपुरबाट उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइयो। उपचार गरियो। उनी निको हुँदै थिए। अस्पतालले उनलाई डिस्चार्ज गरिदियो। घर फर्केको दुई दिनपछि राईलाई ज्वरो आयो। भर्खरै अस्पतालबाट फर्केका राईलाई ज्वरो आएपछि उनका छोरी–ज्वाइँले फेरि नर्भिक नै पुर्‍याए।

अस्पतालले पीसीआर परीक्षण गर्‍यो। रिपोर्ट पोजेटिभ आएपछि संक्रमितलाई राख्न बेड खाली नभएको भन्दै रिफर गरिदियो। राईको उपचारका लागि उनको परिवारले उनलाई सिनामंगलस्थित केएमसी (काठमाडौँ मेडिकल कलेज) पुर्‍यायो।

सात दिनदेखि उपचाररत राईको शुक्रबार साँझ मृत्यु भयो।

राईलाई अस्पताल बसाइकै क्रममा संक्रमण भएको हुनुपर्ने अनुमान उनको परिवारले लगाएको छ।

‘अस्पतालबाट घर फर्किएपछि उहाँलाई ज्वरो आएको थियो। टाउकामा लागेको चोट त उहाँको बिसेक हुँदै थियो’, अन्तिम संस्कारमा पुगेका राईका ज्वाइँले भने।

०००

यस्तै १७ दिनअगाडि चिजमाया कोजुलाई श्वास फेर्न गाह्रो भयो। उनी पहिल्यैबाट दमको बिरामी थिइन्। जसले गर्दा उनको परिवारले उनलाई केएमसी अस्पताल पुर्‍यायो। केही दिनको अस्पताल बसाइपछि कोजुलाई निको भएजस्तो भयो। उनको परिवारले उनलाई अस्पतालबाट घर लग्यो।

घर पुगेको दुई–तीन दिनपछि कोजुलाई फेरि समस्या देखियो। उनको परिवारले फेरि उनलाई केएमसीमै पुर्‍याए। अस्पतालले उनको पीसीआर परीक्षण गर्‍यो। रिपोर्ट नेगेटिभ आयो। अस्पताल भर्ना भएकी उनको उपचार भइरहेको थियो।

तर, शनिबार बिहानै उनले देह त्यागिन्। अस्पतालले मृत्युपछि नमुना संकलन गरी परीक्षण गर्‍यो। अन्ततः रिपोर्ट पोजेटिभ आयो।

पहिल्यैदेखि दीर्घ रोगी भएका उनी कुन बेला संक्रमित भइन् भन्ने पत्तो नपाएको कोजुका देवरले बताए।

उनले भने, ‘भाउजूलाई धेरै अगाडिबाट दम थियो। त्यसैले पनि संक्रमण चाँडो भयो र मृत्यु पनि।’

०००

राई र कोजुजस्तै अन्य बिरामी लिएर सिभिल अस्पताल पुगेकी थिइन्, शारदा पौडेल पनि। केही वर्षअगाडि उनलाई स्तन क्यान्सर भएको थियो। उपचारपछि स्तन क्यान्सर निको भयो।

अहिले फेरि उनलाई ब्लड क्यान्सर भयो। त्यसैको उपचारका लागि ७ दिनअगाडि सिभिल अस्पताल पगेकी थिइन्, उनी। उनको उपचार हुँदै थियो। स्वास्थ्यमा अन्य समस्या पनि देखिन थालेपछि पीसीआर परीक्षण गरियो।

परीक्षणपछि शारदाको रिपोर्ट पोजेटिभ आएको थियो। तर, उनले शनिबार बिहानै मृत्युलाई रोजिन्। र, सदा–सदाका लागि बिदा भइन्।

०००

संक्रमितको संख्या बढ्दै जाँदा पछिल्लो समय अस्पताल भरिएका छन्।

बिरामीले बेड पाउन छाडेका छन्। बेडका लागि पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। जसले गर्दा एकबाट अर्कोमा संक्रमण सर्ने सम्भावना उच्च छ। अस्पतालमै संक्रमणको जोखिम बढेको छ।

निको हुन अस्पताल पुग्नेहरू अस्पतालमै संक्रमित भएर ज्यानसमेत गुमाउनुपरेको छ। यो अवस्थामा व्यवस्थापनमा ध्यान दिनुपर्ने सरकारले स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्दै हात उठाइसकेको छ।

संक्रमण दर बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुन थालेसँगै सर्वसाधारणलाई आफ्नो सुरक्षा आफैँ गर्न अनुरोधसमेत गरेको छ। संक्रमणबाट जोगिनका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गर्दै आएको छ।

भिडियो हेर्नुहोस्:

बैशाख १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्