एनआरएन उपाध्यक्ष बद्री केसीसँग भिडियो अन्तर्वार्ता

हामीले विदेशमा रहेका नेपालीलाई सडकमा पुग्ने र भोकभोकै मर्ने अवस्था आउन दिएनौँ (भिडियो)

कोरोना भाइरस महामारीको विश्वभर दोस्रो तथा तेस्रो लहर चलिरहेको छ। कोरोनाको नयाँ प्रजातीको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। नेपालमा पनि यसको असर डरलाग्दो बन्दै छ। संक्रमण दर र मृत्युदर उच्च छ। अस्पतालहरु ‘प्याक’ भइसकेका छन्। संक्रमितहरुलाई उपचार गर्न नसक्ने भन्दै सरकारले हात उठाइसकेको छ।

स्वास्थ्य मन्त्रालयले भन्दै छ- हाम्रो स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरि संक्रमण बढ्यो, आफ्नो सुरक्षा आफै गर्नुस्।

महामारीलाई रोक्न सरकारले अवस्था हेरि निषेधाज्ञा लगाउन जिल्ला प्रशासन कार्यालयहरुलाई अधिकार प्रत्यारोजन गरेको छ। मन्त्रिपरिषद्को बैठकले देशभरका शैक्षिक संस्थाहरु बन्द भएका छन्। देशभित्र यस्तो अवस्था रहँदा  विदेशमा रहेका नेपालीहरुको अवस्था के कस्तो छ ? युरोप, अस्ट्रेलिया र अमेरिकामा पढ्ने   विधार्थीहरु, विभिन्न कामले पुगेकाहरुसहित वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेका नेपालीहरुबारे उनिहरुका समस्याहरु के छन्  र भोलीका  चुनौतीहरु के कस्ता देखिन्छन् भन्ने विषयमा गैह्र आवाशयीय नेपाली संघ-एनआरएनएका उपाध्यक्ष तथा वैदेशिक रोजगार विभागका प्रमुख डा. बद्री केसीसँग देशसन्चारका लोकेन्द्र प्रसाईले कुराकानी गरेका छन्। 

१. कोरोना संक्रमण महामारीको दोस्रो तथा तेस्रो लहरहरु विश्वभर बढिरहेका बेला त्यहाँ रहेका नेपालीहरुको अवस्था अहिले कस्तो छ ? 

विदेशमा रहेका नेपालीहरुमा हालसम्म करिब ६८ हजार जनामा संक्रमण देखिएको छ भने ३ सय ७२ जना (यो अन्तर्वार्ता लिइएको गत सोमबारसम्म)कोरोना संक्रमितको ज्यान गएको छ। कोरोना संक्रमण भएकामध्ये हालसम्म ९४ प्रतिशत निको भइसकेका छन्।

तर पछिल्लो समय कोरोना संक्रमणको दर बढिरहेको छ। मृत्युदर पनि उच्च छ। यसको बढि प्रभाव भारतमा देखिन्छ। त्यहाँ रहेका नेपालीहरु संकटमा छन्। दक्षिण एसियाली क्षेत्रमा एनआरएनएको संरचना नरहे पनि हामीले त्यहाँ रहेका विभिन्न संघ संस्थासँग नजिकै बसेर काम गरिरहेका छौँ। त्यहाँको अवस्थाबारे बुझिरहेका छौँ। आवश्यक सहयोग पनि गरिरहेका छन्।

२.कोरोना महामारीको पहिलो लहर सुरु हुँदा विदेशमा रहेका नेपालीहरुलाई ठुलो सकस थियो, अप्ठेरो पर्दा स्वदेश फर्कन दिइएन भनेर ? अब स्वदेश फर्कनु पर्ने अवस्था समाप्त भइसकेको हो ?

चीनमा कोरोना संक्रमण सुरु भएपछि विश्वभर पुग्नसक्छ भन्ने सबैलाई थाहा थियो। अन्य देशले आफ्ना नागरिकलाई उद्धार गरेर स्वदेश फर्काए। हरेक नागरिकले आपत पर्दा मात्र घर खोज्छ। यो स्वभाविक हो। नेपालले आफ्ना नागरिकका लागि  ढोका थुन्नु हुँदैन भनेका थियौँ। स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर उनिहरुलाई आउन दिनुपर्छ र अप्ठेरोमा परेकालाई ल्याउनुपर्छ भन्ने हाम्रो आग्रह थियो।  लामो समयसम्म उनिहरुलाई आउन दिइएन।

सम्बन्धित देशले तिम्रा जनता लिएर जाउ भनेपछि मात्र उद्धार गर्नुपर्ने अवस्था आयो। करिब १० लाख नेपाली घर फर्कन्छन् भन्ने अनुमान थियो।  वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरु बढी समस्यामा थिए।  तर करिब एक लाख ७०/८० हजारको संख्यामा मात्र उनिहरु फर्किए। जापान, कोरिया युरोप, अस्ट्रेलिया, अमेरिकाबाट आजको दिनमा नेपालीहरु स्वदेश फर्कने अवस्था छैन। त्यहाँ विश्वविधालय र सरकारले विभिन्न राहतका प्याकेजहरु ल्याएका छन्। साधारण काम गरेर पनि ती देशमा बस्न सक्ने गरी प्याकेजहरु आएका छन्।  मुख्य समस्या वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हो। उनीहरुको भविस्यको हो। त्यहाँ कस्तो प्रभाव देखिन्छ भन्ने हो। तर पनि आजको दिनमा रोजगारदाताका लागि पहिलो प्राथमिकतामा नेपाली कामदार नै छन्। नेपाली कामदारहरु इमान्दार र मिहेनती हुन्छन् भन्ने छाप छ। रोजगारका क्षेत्रहरु ढिलो चाँडो खुल्छन् र लयमा फर्किन्छन्। यसरी पनि कतिपय देश र कम्पनीहरुमा नेपाली कामदारहरु ‘होल्ड’ भएका छन्। जागिर गुमाएका साथीहरुलाई अन्य कम्पनीमा काम लगाईदिने र रोजगारीको अवस्था सृजना गर्ने काम हामीहरुबाट पनि भइरहेका छन्।

३.कोरोनाविरुद्ध विभिन्न खोपहरु आइसकेका छन्। त्यसमा विदेशमा रहेका नेपालीको पहुँच कस्तो छ ? 

विश्वभर विभिन्न भ्याक्सिनहरु आइसकेका छन्। अधिकांश देशले भ्याक्सिन उपलब्ध गराउने सन्दर्भमा विदेशी र स्वदेशी भनेर विभेद गरेका छैनन्। भ्याक्सिन लगाउन चाहनेलाई दिइएको छ। नेपालको वैदेशिक रोजगारीका गन्तव्य मुलुकहरुमा काम गर्ने नेपाली कामदारलाई पनि खोपहरु दिइएको छ। यसका लागि सम्बन्धित देशमा रहेका नेपाली दुतावास र हामीले आवश्यक सहजिकरणको काम गरिरहेका छौँ। समस्या अवैधरुपमा बसिरहेकालाई मात्र छ।

तर वैदशिक रोजगारीका मुख्य गन्तव्य मुलुकमा यसरी बस्ने नेपाली कामदारको संख्या ठुलो छ। खाडीमा रहेका नेपाली कामदारमध्ये ४० देखि ५० प्रतिशत अवैध छन् जसलाई हामी ‘अनडकुमेन्टेड’ कामदार भन्छौँ। यस्ता कामदार  सबैभन्दा बढी, करिब ५० प्रतिशतको हाराहारीमा यूएईमा छन्।

४. कोरोना महामारीको पहिलो लहरमा सरकारले हात उठाएको अवस्थामा विदेशमा रहेका नेपालीका लागि एनआरएनएले कसरी भूमिका निर्वाह गर्‍यो ?

कोरोना महामारी सुरुमा कस्तो रोग हो भन्नेबारे विश्व नै अनविज्ञ थियो।  कोरोना लागो भने, डराउनुपर्ने र हिच्किचाउनुपर्ने अवस्था बन्यो। खाडी राष्ट्रमा हजारौँ कामदारहरु रातारात सडकमा आउन सक्ने स्थिति देखा पर्‍यो। उनीहरु काम गरिरहेका कम्पनीहरु बन्द भए। अवैधरुपमा बसिरहेका कामदारलाई मालिकले निकालि दिए। उनीहरुसँग पैसा थिएन। स्वदेश फर्कने अवस्था पनि थिएन। महिला र गर्भवती महिलाहरुको अवस्था दर्दनाक थियो। हामीले उनिहरुका लागि खानेबस्ने प्रबन्ध मिलायौँ।

एनआरएनएको सहयोगमा मात्र १७ हजार नेपाली कामदारहरु स्वदेश फर्किएका छन्। यीमध्ये एक हजारभन्दा बढीको हवाई टिकट हामी आफैले काटि दिएका छौँ। भाडा तिर्न नसक्ने विधार्थीहरुलाई हाम्रा सदस्यहरुले घरमा ल्याएर राख्नु भयो। एनआरएनएले ५० वटा देशमा २५ हजारभन्दा बढी भोलेन्टियरहरु परिचालन गर्‍यो। कतिपय अवस्थामा हामी सामाजिक सन्जालहरुमार्फत पनि अप्ठेरोमा परेका नेपालीहरुसम्म पुग्यौँ। हामीले विश्वभर छरिएर रहेका चिकित्सक र नर्सहरुलाई एक ठाउँमा ल्याएर टेलि मेडिसिन, काउन्सेलिङका कामहरु गर्‍यौँ। संक्रमितहरुका घरघरमा आवश्यक सामग्रीहरु उपलब्ध गराउन हाम्रा संयन्त्रहरु परिचालन गरिए।

५. यो महामारीमा  एनआरएनएसँग नेपाल सरकारले कसरी समन्वय गर्‍यो ? 

नेपालमा लकडाउन सुरु भएपछि र विदेशमा नेपालीहरु अलपत्र परेपछि हामीले सरकारलाई उद्धार गर्न बारम्बार आग्रह गर्‍यौँ। किनभने उद्धार गर्न हामीले मात्र गरेर सम्भव हुन सक्ने अवस्था थिएन। सरकारलाई राहत, उद्धार र पुनर्स्थापनासहितको कार्यपत्र पेश गर्‍यौँ। विदेशमा काम गर्न गएका नेपालीले हरेक वर्ष  १० खर्ब नेपाली रुपैयाँ स्वदेश भित्र्याउँछन्। प्रायले तलब आउने बित्तिकै घर पठाई हाल्ने हो। कसैले पनि संकट आइपर्छ भनेर राखेको हुँदैन। दुई चार दिनलाई पुग्नेसमेत पैसा साथमा हुँदैन। एक्कासी महामारीले छोप्दा  उनिहरु संकटमा पर्नु स्वभाविक हो।  विदेशमा बस्ने नेपालीहरु पनि नेपाल सरकारका नागरिक हुन्। बाहिर बसेका नेपालीहरुलाई पनि टेक केयर गर्नुपर्छ, उनीहरुले पठाएको पैसालाई मात्र स्वागत गर्ने होइन अभिभावकत्व दिनुपर्छ भनेर बारम्बार सम्झायौँ।

हामीले सरकारसँग सहकार्य गर्न तयार छौँ, विदेशमा अलपत्र नेपालीका लागि मिलेर काम गरौँ भन्दा कुनै प्रतिक्रिया प्राप्त भएन। विभिन्न देशमा रहेका दूतावासले भने हामीसँग राम्रो सहकार्य गर्नुभयो तर त्यो पर्याप्त हुने स्तरमा थिएन।  यसबाहेक नेपालमा मेडिकल सामग्री चाहिरहेका बेला  हामीले दक्षिण कोरिया, चीन, मकाउ र हङकङबाट पठायौँ। पछि नेपाल सरकारले हामी देशभित्र हेर्छौँ तपाईहरु बाहिर नै केन्द्रित हुनुस् भन्नुभयो। हामीले जति पनि कार्यक्रमहरु गर्‍यौँ- प्राय आफ्नै स्रोत र साधनबाट गरिएको हो। यसबीचमा आईएलओले १० करोड रुपैयाँ दिएको थियो।

६. उद्धारमा सरकारले गर्न सक्ने तर नगरेको केही छ ? 

हामीले सरकारबाट जे अपेक्षा गरेका थियौँ त्यो हुन सकेको छैन। यसमा राहत र उद्धारकै कुरा आउँछ। हामी आर्थिकरुपमा मिलेर अगाडि जान सक्थ्यौँ। वैदेशिक रोजगारीमा जाने नेपालीले तिरेको पैसाबाट उठेको रकमबाट बनेको कोषमा ६ अर्ब रुपैयाँभन्दा बढी पैसा जम्मा भएर बसेको छ। यो पैसा कहाँ कसरी खर्च गर्ने भन्ने स्पष्ट व्यवस्था छ।

महामारीका बेला विदेशबाट उद्धारका लागि खर्च गर्न सकिने भनेर स्पष्ट लेखिएको छ। तर यो पैसा प्रयोग गर्न हरेक निकाय डराउँछन्। जिम्मेवारी लिएर काम गर्ने आँट कुनै सरकारी निकायमा देखिँदैन। त्यो कोषबाट जम्मा ६०/७० लाख रुपैयाँ मात्र खर्च भएको छ जबकी ७३ करोड रुपैयाँ बिनियोजन गरिएको छ।

७.करिब दुई लाख नेपाली कामदार फर्किसकेका छन्, अब अझै कति फर्कने हुन् निश्चित छैन। यस्तो अवस्थामा पुनर्स्थापना त ठुलो चूनौती देखिन्छ नि ? 

हरेक महामारीमा दोस्रो, तेस्रो लहर आउँछ। यसले आर्थिक मन्दी ल्याउँछ। अहिलेको अवस्था हेर्दा आर्थिक मन्दी १/२ वर्षमा समाधान होलाजस्तो देखिँदैन। यो महामारीको असर थुप्रै रोजगारदातामा पर्ने देखिन्छ र आउने दिनमा हजारौँ नेपाली कामदारहरु स्वदेश फर्कनुपर्ने अवस्था आउन सक्छ। यो अहिलेको कटु यथार्थ हो। करिब ३० लाख नेपाली कामदार विदेशमा छन्। वार्षिक करिब ८ लाख विदेशी नेपालमा आएरु काम गर्छन्। उनिहरुले वार्षिक ४ खर्ब रुपैयाँ पैसा नेपालबाट लैजान्छन्। विदेशी नेपालमा आएर काम गर्ने ठाउँमा नेपालीलाई लगाउन सकिन्छ।  हामीले विदेशमा गएर गर्ने काम र विदेशीहरु नेपालमा आएर गर्ने काम एउटै हुन्छ। कोरोना एउटा अवसर पनि हो। विदेशबाट आएका नेपालीहरुलाई ती ठाउँमा सेटल गर्न सकिन्छ।

एकजना व्यक्ति सेटल हुनु भनेको एउटा घर सेटल हुनु हो।  श्रम मन्त्रालय, कृषी मन्त्रालयसहित रोजगार दिने संस्थाहरुलाई राखेर हामीले  रोजगार कन्फेरेन्स गर्ने तयारी गरिरहेका थियौँ। कोरोनाको महामारीका कारण यो आगामी जुन २५-२६  मा सारिएको छ। अहिले आएको दोस्रो लहरका कारण यो कार्यक्रम अब कसरी गर्ने भनेर छलफल गर्दैछौँ।  अहिले कुन देशमा के के समस्या भएका नेपाली कति छन्  भन्ने कुरा नेपाल सरकारलाई पनि थाहा छ हामीलाई पनि थाहा छ। समस्या सुल्झाउन सक्ने वातावरण  छ अहिले।

यो च्यालेन्जिङ छ तर नगरि नहुने काम हो। अहिले हात बाँधेर बस्ने अवस्था होइन। फर्किएर आउने मानिसहरु को- को फर्किएर आएका छन्, उनिहरुसँग कुन-कुन सीप कति-कति वर्ष अनुभवको छ र उनिहरुका अपेक्षाहरु के छन् भन्नेबारे अहिले बुझ्न गाह्रो छैन।  यसमा एउटा संस्थाले मात्र काम गरेर हुने अवस्था छैन। हाम्रो भूमिका रणनीतिकस्तरमा हुन सक्छ। गैह्र आवासीय नेपालीहरुलाई यहीँ स्थापित गर्नु आजको आवश्यकता हो। यो खालको कार्यक्रम गर्नुपर्छ भनेर सरकार तातेको छैन तर हामी तातेका छौँ। किनभने फर्किएर आएका मानिसहरुका समस्याहरु के छन् र विदेशमा बस्दाका गाह्रोहरु के थिए भन्ने सबैभन्दा बढी हामीले देखेका छौँ।

८.महामारीको यो समय एनआरएनएका लागि औचित्य स्थापित गर्ने अवसर पनि हो नि?  

३३/३४ वटा देशमा मात्र नेपाल सरकारका दुतावास छन्।  एक सय १० वटाभन्दा बढी देशमा नेपालीहरु पुगेको पछिल्लो तथ्यांक छ।  ८३ देशमा एनआरएनएको संरचना  पुगेको छ।  महामारीको यो समय एनआरएनएका लागि यो ठुलो चुनौती पनि हो र ठुलो सम्भावना पनि  २५ हजार भोलेन्टियरहरुमध्ये केहीको ज्यान पनि गएको छ। ज्यानकै बाजी राखेर भोलेन्टियर गरिरहेका छौँ। हामीलाई हाम्रो  कम्युनिटीमा पुग्ने अवसर पनि हो यो। आजको दिनमा विदेशमा रहेका  एक जना नेपालीलाई पनि सडकमा सुत्ने अवस्थामा पुग्न दिएका छैनौँ । भोकभोकै मर्नुपर्ने अवस्था दिएका छैनौँ।

विदेशमा बस्ने नेपालीका लागि सरकार नभएपनि एनआरएनए छ भन्ने अवस्था सृजना बनेको छ। यो हाम्रो लागि खुसीको कुरा पनि हो। यो महामारीमाम विदेशमा बस्ने नेपालीहरुले जुन ठुलो समस्या पाए त्यस्तो फेरि अब आउलाजस्तो लाग्दैन। किनभने महामारीजस्तो अपर्झट अवस्थामा कसरी काम गर्ने भन्नेबारे हामीपनि हिजोका दिनमा अनविज्ञ थियौँ तर आज एउटा संरचना बनिसकेको छ।

बैशाख १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्