महामारी विशेषज्ञ डा. ल्हामो वाई शेर्पासँग अन्तर्वार्ता

‘नेपाली भेरियन्ट हुँदैन भन्न सक्ने अवस्था छैन’ (भिडियो अन्तर्वार्ता)

संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा दैनिक रुपमा संक्रमण दर बढ्दो छ। बिरामीले अस्पतालमा बेड पाउन छोडेका छन्। आइसीयू, भेन्टिलेटरको अभाव भइसकेको छ। उपचार नै नपाएर बिरामीले ज्यानै गुमाउनुपर्ने बाध्यता छ। एक वर्षअगाडि संक्रमण फैलिदै गर्दा जुन स्थिति थियो, त्यो भन्दा पनि भयानक स्थिती व्यहोर्नुपर्ने विज्ञहरुले बताएका छन्। यसका लागि सरकारले के गर्न आवश्यक छ? संक्रमण कुन अवस्थामा छ? यही विषयमा केन्द्रित भएर महामारी विशेषज्ञ डा. ल्हामो वाई शेर्पासँग गरिएको कुराकानीः

नेपालमा अहिले संक्रमण कस्तो छ? भारतको अवस्था हेर्दा संक्रमणको दोस्रो लहर धेरै छ। यहाँ त्यसको डर कस्तो छ? यहाँ पनि विभिन्न भेरियन्टहरु देखिएका छन्, नेपालको त्यसको खतरा कति छ?

अहिले सरकारले सार्वजनिक गर्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको संक्रमितको संख्या हेरेर मात्रै हामीले संक्रमण अबको केही दिमा यस्तो हुन्छ भनेर भन्न अलिकति गाह्रो छ। किनभने संक्रमण हेर्नका लागि मानिसहरु कहाँ बसेको छ, कस्तो जनघनत्व भएको ठाउँमा बसेको छ, शहरी क्षेत्र हो वा ग्रामीण क्षेत्र हो- यो सबै हेर्नु पर्ने हुन्छ।

अब भारतकै कुरा गर्ने हो भने पनि अहिले जुन गतिमा संक्रमण फैलिएको छ, त्यो ठाउँमा जनसंख्याको घनत्व कस्तो छ, उनीहरुको मृत्यु हुनुको कारण के हो? अस्पताल पुग्न नपाएर हो वा पुगिसकेपछि हो? अथवा औषधि नपाएर हो कि मानव संसाधन नभएर हो? यी सबै कुरालाई हेरेर मात्र हामीले संक्रमाण यो हुन्छ भनेर भन्न सकिन्छ।

अहिलेको अवस्थालाई हेरेर हामीले गर्नुपर्ने प्राथामिक कुरा नै हो। हाम्रो प्राथमिक स्वास्थ्य केन्द्रहरुमा ‘ह्यूमन रिसोर्सेस’हरु तयार गर्ने, आइसियू, अक्सिजन, औषधिहरु लिएर आवश्यक पर्ने सबै सामाग्रीहरु तयार गर्ने हो। यी सबै कुरालाई तयारी अवस्थामा राख्नु पर्छ।

अर्को महत्वपूर्ण कुरा भनेको गाम्रीण क्षेत्रमा बस्नेहरुको स्वास्थ्यमा गम्भीर समस्या देखियो भने उनीहरुलाई समयमै अस्पतालसम्म पुर्‍याउने व्यवस्थामा जोड अहिले नै गर्नु पर्छ। एम्बुलेन्सको आवश्यक्ता अनिवार्य रुपमा पर्छ।

त्यसैले अहिले हेरेर संक्रमणको मोडलिङ गर्न सक्ने अवस्था छैन। यो अवस्थामा अलिकति गाह्रो हुन्छ।

नेपालमा पनि विभिन्न भेरियन्ट भेटिएका छन् नि? खासमा यो भनेको के हो?

अहिलेसम्म नेपालमा भएको संक्रमणमा जति पनि परीक्षण भएको छ, अरुको हिसाब गर्न सक्ने अवस्था छैन। जति परीक्षण भएको छ, त्यो परीक्षण गर्न मानिसहरु आफैँ नै परीक्षण गर्न पुगेका हुन वा सरकारले कन्ट्याक ट्रेसिङ गरेको हो। यसमा हामी ‘क्लियर’ छैनौँ। त्यसैले अहिले जति पनि परीक्षण भइरहेका छन्, त्यो परीक्षण मध्येमा आएका दुई–तीन हजार जुन छ, उनीहरुको भेरियन्ट के छ भनेर परीक्षण गर्नुपर्ने हुन्छ। तर हामीले ‘र्‍यान्डमली’ कुनै नमुनालाई परीक्षण गर्न पाउने गरिएको छ। त्यही केही नमुनालाई मात्रै पठाउँदा त्यसले जनसंख्याको प्रतिनिधित्व गर्छ कि गर्दैन, भन्न सक्ने अवस्था छैन।

जस्तै दुई सय जनालाई संक्रमण देखिएको छ भने उनीहरु सबैमा भेरियन्ट देखिन्छ भन्ने हुँदैन। तर यदि भेरिन्ट देखिएको छ भने सतर्क हुनुपर्ने कारण के छ भने यो भेरियन्ट एकदमै छिटो संक्रमण हुने संक्रामक रोग विशेषज्ञ, आइसीयू, आकस्मिक कक्षमा काम गर्दै आउनु भएका डाक्टरहरुले पनि भन्दै आउनु भएको छ।

अहिलेको अवस्थामा बच्चाहरुमा संक्रमण दर बढिरहेको भनिरहेको हुनाले हामीहरुले त्यस्तो केही देखिइहाल्यो भने पहिलाको भन्दा बढी सतर्कता अपनाउनु पर्ने अवस्था छ। तर त्यो खालको तयारी भने भइरहेको जस्तो मलाई लाग्दैन।

नेपालमा भेरियन्ट भित्रिँदाको जोखिम के छ?

हामी कहाँ कस्तो छ भने अहिले भएको ब्राजिलको भेरियन्ट भयो। साउथ अफ्रिकन भेरियन्ट भयो। इण्डियन भेरियन्ट भयो। त्यसपछि बेलायती भेरियन्ट भयो। नेपालमा बेलायतको भेरियन्ट देखिएको भनिए पनि त्योसँगै अरु भेरियन्ट छ कि छैन भनेर परीक्षण गर्न सक्ने अवस्था छैन। हामी कहाँ त्यस्तो खालको ल्याब पनि छैन। हामीले परीक्षणका लागि जे पनि हङ्कङ पठाउनु पर्छ।

त्यसै कारणले गर्दा भेरियन्टमा पनि के हुन्छ भने कुनै भेरियन्टमा खोपले काम गर्ने कुनै भेरियन्टमा खोपले काम नगर्ने, कुनै भेरियन्टले बच्चाहरुमा धेरै संक्रमण गराउर्ने भएको हुनाले त्यो हरेक कारणले रुप परिर्वतन गरिरहन्छ। अथार्त संक्रमण गराउने तरिका फरक फरक हुने भएकाले अहिले हरेक कुरामा ध्यान पुर्‍याउनु जरुरी छ।

भेरियन्ट कसरी बन्छ?

भेरियन्टहरुमा जुन खोप बनाएको हुन्छ, त्यो खोप अहिले दुई प्रकारको छ। एउटा आएएनए खोप र डीएनए खोप जुन नेपालमा पनि प्रयोग भइरहेको छ।

यसका लागि सबै भन्दा पहिला म्यूटेसन कसरी हुन्छ बुझन जरुरी छ। यो कसरी हुन्छ भन्दा जस्तै कुनै रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको मान्छे छ, उसलाई यदि संक्रमण भयो भने भाइरस लामो समयसम्म उक्त मान्छेको शरीरमा बसिरहने हुन्छ। शरीरुमा बसेर भाइरसले आफ्नो रुपहरु परिर्वतन गर्न सक्छ। तर सामान्य मानिसहरुलाई संक्रमण भयो भने भाइरस शरीरमा प्रवेश गर्छ, त्यसको केही समय पछि एन्टिबडी बन्छ। एन्टिबडी बन्ने बित्तिकै त्यसले भाइरसलाई शरीरले निकाल्दिन्छ।

तर भेरियन्ट कसरी बन्छ? पहिला संक्रमण हुँदा वृद्धवद्धा, दिर्घ रोगीहरुलाई सर्तकता अपनाउनु पर्छ भन्नुको कारण यही हो। किन भन्दा भाइरस म्यूटेट गर्ने ठाउँ बन्छ। किनभने भाइरसलाई बाहिर निकाल्न सक्ने अवस्था त्यस्ता व्यक्तिहरुमा हुँदैन। त्यसैले भाइरस उनहिरुको शरीरमा बसिरहन्छ र भाइरसले आफ्नो स्वरुप फेरिरहन्छ।

त्यसकारणले गर्दा यो डरलाग्दो भएको कारण यही हो। नेपालमा पनि भोलि नेपाली भेरियन्ट हुँदैन भन्न सक्ने अवस्था छैन। नेपाली भेरियन्ट पनि हुन सक्छ। हामी यस्तै लापर्वाह रुपमा अगाडि बढ्दै गयौँ र समयमै ‘ह्यान्डल’ गर्न सकेनौँ भने भोलिका दिनहरुमा नेपाली भेरियन्ट पनि आउन सक्छ।

अहिले संक्रमण बच्चाहरुमा संक्रमण धेरै देखिनुको कारण के हो? बालबालिकाको ख्याल राख्नका लागि अभिभावकहरुले के गर्ने?

पहिलाको भेरियन्ट र अहिलेको भेरियन्टमा भिन्नता यही छ। हामीले हेर्दा पनि ब्राजेलियन भेरियन्टले बच्चाहरुमा एकदमै संक्रमण धेरै गराएको देखेका छौँ। हुन त अहिले विश्वका धेरै देशहरु लकडाउनको अवस्थामा पुगेका छन्। फ्रान्समा अहिलेसम्म लकडाउन गरेको थिएन, भर्खरै मात्र लकडाउन गरेको छ। किन त भन्दा यो भेरियन्ट बच्चाहरुमा डरलाग्दो भएर आएको छ।

त्यसैले पहिलाको भेरियन्ट र अहिलेको भेरियन्टको मुख्य भिन्नता भनेकै यही हो।

नेपालमा पनि बच्चाहरुलाई जोगाउनका लागि सरकारले स्कुलहरु बन्द गरेको छ। यो एकदमै राम्रो कुरा हो। तर स्कुल बन्द हुँदा उनीहरु इन्टरनेटको पहुँचमा नहुन सक्छन्। तर ग्रामीण क्षेत्रमा ठाउँ धेरै हुने भएका कारण उनीहरुलाई फराकिलो ठाउँमा दूरी कायम गराएर राखेर पठाउन भने सकिन्छ।

अहिले सबै भन्दा धेरै देखिने भनेको ‘एरोजोल’ हो। पहिला संक्रमण ‘ड्रपलेट’ सर्छ भन्थ्यौँ। त्यसकारणले गर्दा ६ फिट अथावा २ मिटरको दूरी कायम गरेर बस्नु पर्छ भन्ने थियो। तर अहिले हावाबाटै सर्ने भएका कारण २ मिटरको दूरीले पुग्दैन। हावाबाट सर्न सक्ने भएका कारण कक्षाहरु बन्द गर्नु पर्ने, बच्चाहरुलाई घरमै राखेर सरसफाइमा ध्यान दिन जरुरी छ।

नेपालमा पहिलो पटक संक्रमण फैलिँदा कुनै पनि तयारी थिएन। संक्रमणको पहिलो लहरबाट अहिले के सिकेको जस्तो लाग्छ?

सरकारले कोशिश गरिरहेको छ। तर सही र तथ्यपरक सूचनाहरु प्रवाह भएको छैन। अहिले तीन तहको सरकार छ। उनीहरु बिचमा नै राम्रो सहकार्य भएको देखिँदैन। केन्द्रले एउटा भनिरहेको हुन्छ। स्थानीय सरकारले अर्कै काम गरिरहेको हुन्छ। आफ्नैआफ्नै शासन प्रणली छ। केन्द्रले स्थानीय तहलाई यथार्थपरक सूचना प्रवाह गर्नुपर्छ। स्थानीय तहले त्यसको कार्यन्वयन गर्नु पर्छ।

र अर्को कुरा अघिल्लोपटक हामीले देखेको बाहिरबाट आएको संख्यामा धेरै संक्रमण देखिएको थियो। त्यसैले अहिले नाकाहरुमा सही तरिकाले परीक्षण गर्ने, उनीहरुलाई राख्नका लागि क्वारेन्टिन, आइसोलेसन, उचित परामर्शको व्यवस्था गर्न जरुरी छ। परामर्श यो भाइरसका लागि मात्र नभएर मानसिक स्वास्थ्यका लागि पनि चाहिन्छ। यो कुराहरुमा अझै धेरे कमजोरी छन्।

खोप आउन थालेपछि सबै जान सुरक्षित हुने भयौँ भन्ने तरिकाले सबै चिज सरकारले खुल्ला गरिदियो।

बैशाख १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्