शत्रुतापूर्ण नीति लिएको जो बाइडेनमाथि उत्तर कोरियाको आरोप

जो बाइडेनले सन् २०१३ मा उप राष्ट्रपति रहेका बेला डिमिलिटराइज्ड जोनको अवलोकन गरेका थिए । तस्बिर : रोयटर्स

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले आफूमाथि शत्रुतापूर्ण रणनीति लिएको आरोप उत्तर कोरियाले लगाएको छ ।

बाइडेन प्रशासन उत्तर कोरियासँगको सम्बन्धलाई लिएर रणनीतिक योजनामा लागिरहेका बेला यस्तो टिप्पणी आएको हो ।

आफूहरुको परमाणु कार्यक्रमलाई लिएर बाइडेन प्रशासन शत्रुतापूर्ण रणनीति अख्तियार गर्ने मनसायमा रहेको आरोप उत्तर कोरियाले लगाएको हो ।

उत्तर कोरियाको परमाणु कार्यक्रम नियन्त्रण तथा त्यसबाट उत्पन्न हुन सक्ने अवस्थाको सामना गर्ने गरि बाइडेन प्रशासनले आफ्नो रणनीतिक योजना सार्वजनिकको तयारी गरिरहेको छ ।

उत्तर कोरियाको विदेश मन्त्रालयका अनुसार वासिङ्गटनबाट भएका पछिल्ला टिप्पणी तथा गतिविधिहरुले राष्ट्रपति बाइडेन शत्रुतापूर्ण नीति कायम राख्ने पक्षमा रहेको देखिएको हो । गएको हप्ता राष्ट्रपति बाइडेनले उत्तर कोरियाको परमाणु कार्यक्रम विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा भनेका थिए ।

उत्तर कोरियाका सम्बन्धमा राष्ट्रपति बाइडेन सापेक्षताका आधारमा काम गर्ने नीतिको पक्षमा रहेको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउस प्रवक्ता जेन साकीले गएको शुक्रबार उत्तर कोरियाका सम्बन्धमा अमेरिकी नीतिको मुल्यांकन सम्पन्न भएको र बाइडेनले यसअघिका चार प्रशासनले लिएका नीतिबाट सिकिएका कुरा जानकारी लिएको बताएकी थिइन् ।

अमेरिका उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम बन्द गरोस् भन्ने चाहन्छ । उत्तर कोरिया आफूमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा हुनु पर्ने पक्षमा छ ।

अबको रणनीति कार्यमा आधारित हुने जेन साकीले पत्रकारहरुलाई बताएकी छन् । अमेरिका र सहयोगीहरुको सुरक्षा बढाउँदै उत्तर कोरियासँगको कूटनीतिक सम्बन्ध बिस्तार तथा सुधारको प्रयास हुने उनले बताएकी छन् ।

यहिबेला उत्तर कोरियाका तर्फबाट चेतावनी पूर्ण टिप्पणी आएको हो । उत्तर कोरियाको विदेश मन्त्रालयले आइतबार जारी गरेको वक्तव्यमा परमाणु कार्यक्रमलाई लिएर अमेरिकी राष्ट्रपति बाइडेनले संसदको संयुक्त शत्रमा गरेको टिप्पणी असहिय र ठूलो गल्ती रहेको बताएको छ ।

उनको सो टिप्पणीले अमेरिका अझै पनि विगत आधा शताब्दीदेखिकै नीतिको पक्षमा रहेको देखाउने विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।

बैशाख १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्