चेन्नईविरुद्ध मुम्बईको रोमाञ्चक जित, पोलार्डको विष्फोटक ब्याटिङ

इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा साविक विजेता मुम्बई इण्डियन्सले रोमाञ्चक जित निकालेको छ।

दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो।

टस जितेर मुम्बईले चेन्नईलाई पहिले ब्याटिङमा बोलाएको थियो। कप्तान महेन्द्र सिंह धोनीको टिमले चार विकेट गुमाएर २१८ बनायो।

चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे। मुम्बईको जितमा केरन पोलार्डले अविजित रहँदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका उनले ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरे।

यस्तै क्विन्टन डी ककले ३८, कप्तान रोहित शर्माले ३५, कुर्नाल पाण्डयले ३२ तथा हार्दिक पाण्डयले १६ रन जोडे।

चेन्नईका लागि साम कुरानले ३ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो।

चेन्नईका लागि अम्बाती रायडु, फाप डु प्लेसिस र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले। अविजित रहेका रायडुले ७२, अलीले ५८ तथा प्लेसिसले ५० रन बनाए। रवीन्द्र जडेजा २२ रनमा अविजित रहे।

मुम्बईका केरन पोलार्डले २ विकेट लिए। ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १/१ विकेट लिए। जितसँगै ७ खेलमा ८ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा रहेको छ। ७ खेलमा १० अंक जोडेको चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ।

७ खेलमा समान १० अंक रहेका दिल्ली र बैंगलोर क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।

बैशाख १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्