सरकारी सेवालाई ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउँछौँः प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको आइतबारबाट औपचारिक शुभारम्भ गरेका छन्। प्रप्रधानमन्त्रीले चौथो सूचना प्रविधि दिवसका अवसर भर्चुअल माध्यमबाट प्रधानमन्त्री निवास बालुवाटारबाटै यसको शुभारम्भ गरेका हुन्।

सम्भव भएका सबै सरकारी सेवालाई एउटै एपबाट दिलाउने उद्देश्यको यो एप गत माघ २ गतेदेखि बेटा भर्सनको रुपमा सुरु भएको थियो। बेटा भर्सनमै यो एप पाँच लाख २५ हजारभन्दा बढीले डाउनलोड गरेकोमा एक लाख ९१ हजारभन्दा बढी प्रयोगकर्ता दर्ता भइसकेका छन्।

यसै अवधिमा तीन हजार जनाले नागरिक एपबाटै पुलिस क्लियरेन्स रिपोर्ट र १० हजार जनाभन्दा बढीले प्यान नम्बर लिइसकेका छन्।

कार्यक्रममा कुनै पनि सेवा लिन नागरिकता, सबन्धित कागजात र फोटो लिएर सरकारी कार्यालय धाउनु पर्ने अवस्था अन्त्य गर्न एवं छुट्टाछुट्टै वेबसाइट तथा एप प्रयोग गर्दा झन्झटिलो हुने भएका कारण एकीकृत रुपमा सेवा प्रवाह गर्न नागरिक एप ल्याएको जानकारी कार्यक्रममा दिइएको थियो।

नागरिक एप प्रणालीमा सम्बद्ध व्यक्तिका नागरिकता, राहदानी र मतदाता परिचयपत्र जस्ता आधारभूत विवरणहरु छन्।

नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि यसमा छ। सरकारले जनताका गुनासा सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा पनि छ।

एसएलसी र प्ल–सटु तहका शैक्षिक विवरणसमेत एपमा रहनेछन्। पछिल्लो समय स्वास्थ्य बीमाको सुविधा पनि यसमा थपिएको छ। नागरिक एपको बेटा संस्करण सार्वजनिक भएदेखि नै स्थायी लेखा नम्बर लिन सकिने सुविधा रहेकोमा यसैबाट पुलिस क्लियरेन्स रिपोर्टसमेत दिन थालिसकिएको छ।

प्रधानमन्त्री ओलीबाट आजै सुरु गरिएको एपबाटै क्यु आर कोड प्रयोग गरी बैंक खाता खोल्न सकिने प्रणालीको सुरुवातसमेत गरेका छन्।  उनले सो एपमार्फत आफ्ना विवरण पठाइ नेपाल बैंक लिमिटेडमा आफ्नो खाता खोलेर यसको सुरुवात गरेका हुन्।

कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवा प्रवाहदेखि सामाजिक अन्तर्क्रियासमेतमा आधारभूत परिवर्तन आएको बताए। सेवालाई पेपरलस र फेसलेस बनाउने उनको भनाइ थियो।

बैशाख १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्