कोभिड विश्लेषण (वैशाख १२ देखि १८ गतेसम्म)

दक्षिण एसियामा प्यान्डेमिक लहर पहिलेभन्दा तेब्बर, नेपालको अवस्था सबैभन्दा खतरापूर्ण

कोरोना प्यान्डेमिकको वर्तमान परिस्थितिमा विश्वको प्रत्येक देशमा फरक–फरक मात्रामा दैनिक परीक्षण गरिँदै आएको छ। फलस्वरूप दैनिक संक्रमणको संख्या पनि फरक–फरक देखिँदै आएको छ।

यसमा देशबीच एकरुपता छैन र त्यसमा देशहरूको सामाजिक, आर्थिक , भौगोलिक, राजनीतिक, धार्मिकलगायत पक्षले भूमिका खेलेको देखिन्छ।

उदाहरणका लागि दक्षिण एसियाका माल्दिभ्स र भुटानमा अमेरिकामा भन्दा धेरै परीक्षण दर छ भने दक्षिण एसियाकै अन्य देशमा अमेरिकामा भन्दा निकै कम परीक्षण गर्ने गरिएको छ।

त्यस्तै, देशपिच्छे संक्रमण दर पनि फरक छ। संक्रमण दर अर्थात् पोजिटिभिटी भन्नाले प्रति सय परीक्षणमा कतिमा नतिजा पोजिटिभ देखियो भन्ने जनाउँछ।

संक्रमण दर केही हदसम्म परिक्षण कति गरियो त्यसमा पनि भर पर्छ। सामान्यतया धेरै परीक्षण गरे संक्रमण धेरै देखिन्छ र संक्रमण दर पनि उच्च हुन्छ।

कम परीक्षण गरे संक्रमण कम देखिन्छ र संक्रमण दर पनि कम हुने गर्छ।

दक्षिण एसियाको कोरोना प्यान्डेमिकको वर्तमान अवस्था विश्लेषण गर्ने क्रममा दक्षिण एसियालाई अमेरिकासँग तुलना गर्ने हो भने यस क्षेत्रका देशमा जम्मा अनुमानित कति दैनिक संक्रमित भेटिएलान् तल विश्लेषण गरिएको छ।

टेबुलमा एप्रिल २५ को तथ्यांकको आधारमा विश्लेषण गरिएको छ। त्यसको संक्षिप्त आँकडा देखाइएको छ।

यस विश्लेषणमा टेबुलमा विभिन्न देशको दैनिक परीक्षण आवर वल्र्ड इन डाटा बाट लिइएको हो, त्यस्तै दैनिक संक्रमण दर जोन्स होप्किन्स विश्व विद्यालयबाट लिइएको हो भने अन्य तथ्यांक वल्र्डमिटरबाट लिइएको हो।

यस विश्लेषणमा अफगानिस्तानको तथ्यांक उपलब्ध नहुँदा भुटान र माल्दिभ्सका दैनिक परीक्षण दर अमेरिकाकोभन्दा धेरै भएकाले ती देशलाई समावेश गरिएको छैन।

टेबुलमा देखाइएजस्तै यदि अमेरिकाको जत्तिकै दैनिक परीक्षण गर्ने हो भने नेपालको हालको संक्रमण दरअनुसार दैनिक ३१ हजारभन्दा धेरै नयाँ संक्रमित देखिन सक्छन् जुन अहिले देखिएभन्दा धेरै हो।

त्यस्तै, दक्षिण एसियाका अन्य देशमा पनि अमेरिकाजत्तिकै परीक्षण गर्ने हो भने हाल भेटिएभन्दा धेरै नयाँ संक्रमित फेला पर्न सक्छन्। यसले के देखाउँछ भने प्यान्डेमिकको अवस्थामा जति सक्यो उति धेरै परीक्षण गर्नुपर्छ र जति धेरै परीक्षण गर्‍यो उति नै संक्रमण देखिने सम्भावना हुन्छ।

परीक्षण गर्नुको उद्देश्य धेरै संक्रमित निकाल्नु होइन तर लुकेर बसेका संक्रमित निकाल्नु हो जसले अरूलाई संक्रमण सार्ने प्रबल सम्भावना हुन्छ।

प्यान्डेमिकमा संक्रमण सर्ने र फैलिने प्रमुख कारण यही हो।

टेबुलमा देखाइएको आँकडा एक अनुमानित हो, यथार्थ योभन्दा अलि फरक हुन सक्छ।

विश्वमा पछिल्लो अवस्थामा युरोप र अमेरिकामा नयाँ संक्रमित केही घट्दै गएको छ भने दक्षिण अमेरिका (ल्याटिन अमेरिका)मा प्यान्डेमिकको स्थिति अझै नाजुक तर स्थिर देखिन्छ।

दक्षिण एसियाको अवस्था निकै नाजुक र गम्भीर देखिन्छ र करिब दुई सातादेखि यस क्षेत्र विश्वमा कोरोना प्यान्डेमिकको झन्डै आधा हिस्सा बनिसकेको छ।

भारतको वर्तमान परिस्थितिबारे सबैलाई थाहा भइसकेको छ भने त्योभन्दा चिताजनक स्थिति नेपालको देखिएको छ, जुन हरेक दिन बढ्दो संक्रमण दर अर्थात् पोजिटिभिटीले देखाएको छ।

वल्र्डमिटर र डब्लुएचओका अनुसार दक्षिण एसियामा दैनिक संक्रमण ४ लाखभन्दा धेरै पुगेको छ। जसमध्ये ९६ प्रतिशत भारतमा मात्रै छ।

दैनिक रूपमा विश्वको कुल नयाँ कोरोना संक्रमितको करिब ४५–५० प्रतिशत यस क्षेत्रमा देखिन थालेको छ भने विश्वको कुल दैनिक कोरोना मृत्युको २५–३० प्रतिशत यहीँ देखिन थालेको छ।

दैनिक नयाँ संक्रमित र नयाँ मृत्युको संख्याको हिसाबले पछिल्लो समय भारतले विश्वको ध्यान आकर्षित गरिरहेको बेला नेपालमा भने कमैको ध्यान गएको देखिन्छ।

यतिसम्म कि नेपालकै सरकार, जनता र अन्य सरोकारवाला निकाय पनि नेपालको कोरोना प्यान्डेमिकको पछिल्लो अवस्थाबारे अनभिज्ञ देखिन्छ अथवा भनौं अनभिज्ञजस्तो देखिन्छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो समय नेपालको दैनिक पोजिटिभिटी ३० प्रतिशत नाघेको छ, जुन विश्वकै उच्चमध्ये एक हो।

नेपाल हाल यसको आधारमा चौथो स्थानमा छ। स्मरण रहोस्, गत वर्ष अक्टोबर २६ मा पोजिटिभिटी ३४.७७ प्रतिशत पुगेको थियो जुन हालसम्मकै नेपालको सबैभन्दा उच्च पोजिटिभिटी थियो।

त्यसदिन जम्मा ५ हजार ६ जनाको मात्रै परीक्षण गर्दा १ हजार ७ सय ४१ जनामा नयाँ संक्रमण देखिएको थियो।

नेपाल सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार यसपाली गत साता संक्रमण दर ३९ प्रतिशत नाघेको छ, जुन प्यान्डेमिकको अवस्थामा चरम बिन्दु हो।

अरूले हाम्रोबारे चिन्ता गरिदेओस् या नगरिदेओस् हामी आफैँले आफ्नो चिन्ता गम्भीर भएर गर्नुपर्ने अवस्था आएको छ।

उपर्युक्त तथ्यबाट पछिल्लो समय भूगोलको यस क्षेत्रमा कसरी कोरोना संक्रमण र प्यान्डेमिकले आतंक मच्चाइरहेको छ भन्ने हुन्छ।

त्यस्तै स्थिति छ दक्षिण एसियाका लगभग सबै देशमा।

चित्र १ मा, वर्ल्डमिटरका अनुसार विश्व र दक्षिण एसियाको दुई हप्ताको दैनिक कोरोना संक्रमणको अनुपात देखाइएको छ।

 

चित्रमा देखाइएजस्तै दक्षिण एसियामा दैनिक संक्रमणको भार विश्वको अन्यत्रभन्दा दिनानुदिन बढ्दै गएको छ। जुन पछिल्लो अवस्थामा ४५प्रतिशत पुगेको छ।

त्यस्तै, चित्र २ मा विश्व र दक्षिण एसियाको दुई हप्ताको दैनिक कोरोना मृत्युको अनुपात देखाइएको छ।

चित्रमा देखाइएजस्तै दक्षिण एसियामा दैनिक मृत्युको भार पनि विश्वको अन्यत्रभन्दा दिनानुदिन बढ्दै गएको छ। जुन पछिल्लो अवस्थामा २५ प्रतिशत नाघेको छ।

चित्र ३ ले पछिल्लो अवास्थामा दक्षिण एसियामा दैनिक संक्रमण र दैनिक मृत्यु देखाएको छ। जुन तीव्र गतिमा बढ्दै गएको छ।

त्यस्तै, चित्र न‌. ४ मा आवर वल्र्ड इन डाटा र जोन्स होप्किन्स विश्वविद्यालयले साप्ताहिक औसतको रूपमा निकालेको दक्षिण एसियाका विभिन्न देशका दैनिक संक्रमण दर (पोजिटिभिटी) देखाइएको छ।

चित्रमा देखाइएजस्तै नेपालको दैनिक संक्रमण दर अन्य देशको दाँजोमा निकै तीव्र गतिमा उकालो लागिरहेको देखिन्छ र हाल नेपाल दक्षिण एसियामा संक्रमण दरको हिसाबले पहिलो स्थानमा पुगेको छ।

दैनिक संक्रमणको वृद्धिदर पनि चित्रमा देखाइएजस्तै नेपालमा भारत र अन्य देशमा भन्दा निकै तीव्र गतिमा बढ्दै गएको देखिन्छ।

स्मरण रहोस्, गत साता बंगलादेश यस सूचीमा पहिलो स्थानमा थियो जहाँ केही सातादेखि लकडाउन चलिरहेको छ।

फलस्वरूप त्यहाँको संक्रमण दर पछिल्लो अवस्थामा २५ बाट १२ प्रतिशतमा झरिसकेको छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरद्वारा जारी गरिएको विवरणअनुसार दक्षिण एसियामा अप्रिल २९ बिहीबारसम्म २०८४८१८३ जना कोरोना संक्रमित भइसकेका छन् भने २३६३२९ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्। गत साताभरि २५९२३४६ जना नयाँ कोरोना संक्रमित र २३१८४ जना नयाँ मृत्यु थपिए।

विगत ५ साताको साप्ताहिक कोरोना संक्रमण र साप्ताहिक मृत्यु सुरुदेखि पछिल्लो सातासम्म क्रमशः ५२१४०२ र ३२४२, ७६८९५५ र ४७०८, १३१११२८ र ८००३, १८६४२६१ र १२९६०, २५९२३४६ र २३१८४ रह्यो जुन तीव्र गतिमा बढ्दै गएको देखिन्छ।

यसरी दक्षिण एसियामा पछिल्लो समय कोरोना प्यान्डेमिकको ठूलो हिस्सा बन्दै गएको पुष्टि भएको छ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गत साता ०७८ वैशाख १२ देखि १८ गतेसम्मको विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर ओल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि।

यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पु¥याउनु हो।

गत साता पनि प्यान्डेमिकका तथ्यांक विश्वभरि र नेपालमा पनि उतार–चढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकका आधारमा गत साता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरौँ।

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो।

गत साता ०७८ वैशाख १२ देखि १८ गतेसम्म नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमितको संख्या चित्र ५ मा प्रस्तुत गरिएको छ।

परीक्षणको मात्राअनुसार दैनिक संक्रमणको संख्या पनि बढ्दै जाने क्रम जारी छ।

तर, नेपालमा गत वर्ष असोज–कात्तिकमा जब प्यान्डेमिकको पहिलो लहर उच्च बिन्दुमा पुगेको थियो त्यतिबेलाको दाँजोमा परीक्षण कम गरिएको छ।

त्यतिबेला दैनिक २० हजारजति परिक्षण गर्ने गरिन्थ्यो भने अहिले १५ हजार मात्रै गरिन्छ।

यदि, त्यहीअनुसार परीक्षण गर्ने हो भने हालको संक्रमण निकै धेरै हुने निश्चित छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत साता सात दिन, वैशाख १८ गते शनिबारसम्म देशभरि ३१९०४ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ३२८८९३ पुगेको छ।

विगत ६ हप्ताको साप्ताहिक संक्रमित सुरुदेखि अन्त्यसम्म क्रमशः ६५१, ९२१, १०१८, १९५७, ३९३३, १३४२९ थिए।

यसरी नेपालमा कोरोना संक्रमण गुणात्मक हिसाबले वृद्धि हुँदै छ।

त्यस्तै, गत साताको साप्ताहिक मृत्यु १६२ पुगेको छ जबकि त्योभन्दा अगाडिका ६ हप्ताका साप्ताहिक मृत्यु सुरुदेखि अन्त्यसम्म क्रमशः २, ११, ५, ७, ३६ र ६१ थिए।

यसबाट नेपालमा पछिल्लो समय कोरोना संक्रमण निकै तीव्र गतिमा बढ्दै गई दक्षिण एसिया मात्र होइन, नेपाल पनि कोरोना संक्रमणको केन्द्र बन्दै गएको देखिन्छ।

चित्र ६ ले नेपालको देशभरिको दैनिक संक्रमण र काठमाडौँ उपत्यकाको दैनिक संक्रमणको तुलनात्मक विश्लेषण देखाएको छ।

चित्रमा देखाइएजस्तै गत हप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको ४५ प्रतिशत देखिन्छ।

दुई हप्ता अगाडिको साता काठमाडौँको कोरोना संक्रमण समग्र नेपालको करिब ४४ प्रतिशत थियो।

यसरी पछिल्लो समय कोरोना संक्रमणको ठूलो हिस्सा काठमाडौँबाहिर बढ्दै गएको देखिन्छ।

गत वर्षको पहिलो लहरको बेला यो अनुपात उल्टो थियो अर्थात् ६० प्रतिशतभन्दा धेरै काठमाडौँ उपत्यकाभित्र हुन्थे।

यसले हालको संक्रमण अधिकतम सीमापारिबाट आएको पुष्टि हुन्छ।

दैनिक संक्रमण पोजिटिभिटी दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी दर (संक्रमण दर) सबैभन्दा भरपर्दो मापदण्ड हो। जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र ७ ले नेपालको गत साताको दैनिक संक्रमण दर देखाएको छ। गत साता नेपालको प्यान्डेमिक उकालो लाग्ने क्रम जारी रहेको देखिन्छ।

 

गत हप्ता पोजिटिभिटी दर न्यूनतम २७.७६ प्रतिशतदेखि अधिकतम ३९.६२ प्रतिशतसम्म रही साताभरिको औसत पोजिटिभिटी दर ३४.२९ प्रतिशत रह्यो।

विगत ६ साताको औसत पोजिटिभिटी दर सुरुदेखि अन्त्यसम्म क्रमशः ३.१६ प्रतिशत, ३.५५प्रतिशत, ४.५ प्रतिशत, ७.०४ प्रतिशत, १२.४२ प्रतिशत, २३.९७ प्रतिशत थिए।

स्मरण रहोस्, डब्लुएचओका अनुसार पोजिटिभिटी ५ प्रतिशतभन्दा धेरै हुनु प्यान्डेमिक अनियन्त्रित भएको लक्षण हो।

दैनिक संक्रमण दर ३९.६२ प्रतिशत हुनु दक्षिण एसियामा मात्रै होइन, विश्वकै उच्चमध्ये एक हो। नेपालमा प्यान्डेमिकको इतिहासमा पनि गत शनिबारको यो पोजिटिभिटी हालसम्मकै सबैभन्दा उच्च हो।

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार साप्ताहिक औसत पोजिटिभिटीको हिसाबले हाल नेपाल चौथो उच्च स्थानमा पुगिसकेको छ।

विश्वमा उच्च पोजिटिभिटी भएका ५ देशमा अर्जेन्टिना–६६.५८ प्रतिशत, इक्वाडोर–३६.३८ प्रतिशत, परागुए–३४.३७ प्रतिशत, नेपाल–३१.३३ प्रतिशत र कोस्टारिका–३०.१० प्रतिशत पर्छन्। यो निकै ठूलो खतराको सूचक हो।

संक्षेपमा माथिका तथ्यांकबाट अधिकांश दक्षिण एसियाली देशमा प्यान्डेमिकको अवस्था तीव्र गतिमा वृद्धि हुँदै गएको देखिन्छ।

पछिल्लो समय यस क्षेत्रको प्यान्डेमिकको दोस्रो लहर पहिलोभन्दा चार गुणा ठूलो भइसकेको छ।

नेपालको अवस्था विश्वमा सबैभन्दा खतरापूर्ण र जोखिमपूर्णमध्ये पर्छ।

ढिलै भए पनि सरकारले फेरि एक पटक लकडाउन सुरु गरेको अवस्था छ।

लकडाउन भनेको आमजनताका लागि घरमा आराम गरेर बस्ने समय भए पनि सरकारका लागि यो नीति–नियम बनाउने र भविष्यमा कोरोना संक्रमण रोकथामका योजना बनाउने समय हो।

डब्लुएचओको निर्देशनअनुसार संक्रमण दर अर्थात् पोजिटिभिटी ५ प्रतिशत नाघ्नेबित्तिकै आंशिक रूपमा निषेधाज्ञा लागू गरेर भए पनि हाल पूर्ण निषेधाज्ञाको आवश्यकता पर्दैनथ्यो होला।

धेरै मानिसको धनजन पनि जोगिन्थ्यो होला। सरकारले नेपालको पहिलो लकडाउनबाट र हाल छिमेकी राष्ट्रको अवस्थाबाट यथेष्ट पाठ सिकी दूरदर्शी हुनुपथ्र्याे।

जनताले पनि सरकारलाई लकडाउनको एकोहोरो विरोध मात्रै गर्नुभन्दा विज्ञहरूको सल्लाहअनुसार सरकारलाई चल्न साथ दिनुपथ्र्याे।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्नेजस्ता सावधानी कडाइसाथ अपनाउनुपर्छ।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ।

नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा यहाँ प्रस्तुत गरिएको छ।

यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो।

जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

 

बैशाख १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्