प्रदेश २ मा ३६२ कोरोना संक्रमित थपिए

जनकपुरधाम– प्रदेश २ मा थप ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्।

आइतबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरी, सिरहा पीसीआर ल्याब, गौर अस्पताल रौतहट र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ९८ जना महिलासहित ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए।

आइतबार धनुषामा सबैभन्दा बढी १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै पर्सामा १ सय ११, महोत्तरीमा ५०, बारामा २६, सिरहामा २५, रौतहटमा १५, सप्तरीमा ११ र सर्लाहीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३५ पुगेको वरिष्ठ चिकित्सक डा. यादवले जानकारी दिए।

प्रदेशमा हाल २ हजार ९ सय १२ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्। पर्सामा सबैभन्दा बढी १ हजार ५ सय ४० जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

त्यस्तै धनुषामा ५ सय २५, बारामा ३ सय ७, महोत्तरीमा २ सय, रौतहटमा १ सय ६९, सप्तरीमा ८०, सिरहामा ७५ र सर्लाहीमा १६ जना कोरोनाको सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बैशाख १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्