‘बहुमत नभएको अवस्थामा पोखरेललाई मुख्यमन्त्रीमा पुनः नियुक्ति गर्नु असंवैधानिक’

केदार कार्की। फाइल फोटो।

काठमाडौँ– नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले लुम्बिनी प्रदेशमा अल्पमतमा भएपनि  मुख्यमन्त्री शंकर पोखरेलको पुनः नियुक्त असंवैधानिक भएको ठहर गरेको छ।

आइतबार लुम्बिनी प्रदेशमा राजीनामा दिएर अल्पमतमा परेका मुख्यमन्त्री पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त हुनु असंवैधानिक भएको कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक कार्कीले बताएका छन्।

विराटनगरमा पत्रकारसँगको कुराकानीका क्रममा कार्कीले भने, ‘प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सामना गर्नुको उल्टो मुख्यमन्त्री पोखरेलले अल्पमतमै रहेर पुनः मुख्यमन्त्री पदमा नियुक्त भएकाछन्, जुन असंवैधानिक छ।’

प्रमुख सचेतक कार्कीले भने, ‘अविश्वासको प्रस्ताव आएको अवस्थामा त्यसको सामना गर्नु पर्दथ्यो तर प्रदेश सभाका सदस्यहरुले समावेदन दिएर डाकिएको प्रदेश सभा अन्त्य गर्न हुँदैन। प्रदेश सभा बैठक संचालन गरेर अविश्वास प्रस्तावको सामान गर्नु पर्दथ्यो।’

हठात र जोर जबरजस्तीका कारण प्रदेश प्रमुखले बहुमत नभएको अवस्थामा समेत मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्नु आफैमा विडम्बना भएको उनको भनाइ छ। यस घटनालाई नजिरका रुपमा लिँदै अन्य प्रदेशमा समेत घटना दोहरिन सक्ने हुँदा विपक्षीले बहुमतसहित प्रस्ताव गरिएका सांसदलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्नेमा कांग्रेस संसदीय दल प्रदेश १ ले माग गरेको छ।

बैशाख १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्