महामारीको यो समयमा हामीले के-के गर्नै हुँदैन?

काठमाडाैँ – नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी रहँदा आउँदा दिनमा महामारीले लिन सक्ने विकराल रुपले गम्भीर चिन्ता थपिएको छ।

परीक्षणको दायरा फकिलो नहुँदा संक्रमणदर दैनिक रुपमा बढ्दो क्रममा देखिएको छ। पछिल्लो सरकारी तथ्यांक अनुसार संक्रमणदर ४४ प्रतिशत भन्दा माथि पुगेको छ, तर परीक्षणको आँकडा भने निकै कम छ।

यसले वास्तविक संक्रमितको संख्या सरकारी आधिकारिक तथ्यांकमा आए भन्दा निकै बढी रहेको सहज आँकलन गर्न सकिन्छ।

छिमेकी देश भारतमा महामारीले लिएको विकराल रुप र स्वास्थ्य प्रणालीमाथि थेग्नै नसक्ने गरी परेको भारका कारण बचाउन सकिने संक्रमितको पनि ज्यान जानु नेपालका लागि ठूलो चेतावनी हो।

डा. रामु खरेल

सावधानी र सजगता तत्काल एवम् आक्रमक रुपमा अपनाइएन भने अवस्था नियन्त्रण भन्दा बाहिर जाने र संक्रमणसँगै जोगाउन सकिनेहरुकै ज्यान पनि बचाउन नसकिने अवस्था आउने छ।

त्यस्तो अवस्था नआओस् भन्नका लागि सरकारी तथा प्रशासनिक तहबाट स्वास्थ्य प्रणालीलाई बलियो र तयारी अवस्थामा राख्नका लागि गर्नु पर्ने प्रयासहरु सघन बनाउनु पर्ने छ।

कोरोना भाइरस महामारीविरुद्धको यो युद्ध एक्लाएक्लै नभएर सबै पक्ष एकसाथ मिलेर लागे मात्रै जित्न सकिने भएकाले सर्वसाधारणको भूमिका पनि महत्वपूर्ण छ।

महामारीको यो बढ्दो क्रममा हामीले के गर्नु हुँदैन?


१) महामारीको यो समयमा संक्रमणबाट जोगिन र अरुलाई पनि जोगाउनका लागि हामी सबैले मुख खाली राख्नु हुँदैन । अर्थात घर बाहिर (संक्रमित छन् भने घरमै पनि) निस्कँदा मास्क अनिवार्य रुपमा लगाउने सकेसम्म दुईवटा मास्क लगाउनु पर्छ । मुख खाली वा मास्क बिना निस्कनु हुँदैन।

२) जहाँसुकै भए पनि भिडभाडमा जानै हुँदैन । गए पनि भौतिक दूरी कायम हुने गरि मास्क लगाउनु पर्छ । लगाएको मास्क फुकाल्ने, नाक–नछोपिने गरि लगाउने वा निकाल्दा अगाडि नै छोएर निकाल्ने गर्नु हुँदैन । कुनै पनि बहानामा मास्कलाई सहि तरिकाले प्रयोग नगर्दा संक्रमणबाट जोगिने सम्भावना न्यून भएर जान्छ।

३) अहिले संक्रमण दर बढेको छ । तर कोभिड–१९ भए पनि झण्डै ८० प्रतिशत संक्रमितलाई यसले खासै गम्भीर अवस्थामा लैजाँदैन । उनीहरुलाई अक्सिजन वा अस्पताल जानु पर्ने हुँदैन । तर आराम र पोषिलो खाने कुरा भने अत्यावश्यक रहन्छ । आवश्यक नपरी वा आत्तिएर अस्पताल जानु हुँदैन । आवश्यक नपरी अस्पताल जाँदा अरुलाई सार्ने सम्भावना बढेर जान्छ । अत्तालिँदा मानसिक स्वास्थ्यमा पनि असर पर्छ । त्यसैले आफ्नो लक्षण तथा अवस्थाको ख्याल गरेर स्वास्थ्यकर्मीको सल्लाहमा रहने र खानपानमा ख्याल गर्नु पर्छ । यसले आफू, अरु र अस्पताललाई पनि सजिलो हुन्छ।

४) संक्रमणबाट जोगिनका लागि हात मुख वा अनुहारमा लैजानु हुँदैन । यदि हात बारम्बार अनुहारमा लैजाने बानी छ भने त्यो तत्काल रोक्नु पर्छ।

के के गर्न सकिन्छ त?

मास्क सही तरिकाले लगाउँदा संक्रमण हुने र संक्रमण सर्ने सम्भावना अति नै कम हुन्छ ।

 


१) आफूलाई वा आफ्नाहरुलाई नछोएसम्म खासै वास्ता नगर्ने अधिकांशको बानी छ। तर अहिले संक्रमण हेर्दा धेरैको घर वा टोल छिमेकमा संक्रमण पुगेको छ । त्यसैले हामी सबै थप सजग हुने र महामारी विरुद्धको यो अभियानमा सहयोगी बन्ने बेला हो।

२) हामी सबैले आफ्ना लागि र मानवसमुदायका लागि केही ‘सेक्रिफाइस’ गर्ने बेला आएको छ । अहिले विवाहसहितको समय चलेको छ । सरकारले १५ जनासम्म भेला भएर गर्न सकिने भने पनि अहिलेका लागि त्यसमा सोच्नु पर्ने बेला आएको छ । गर्नै पर्ने भए सक्दो कम भेला हुनु होला । अहिलेको यो समय रमाइलो केही समयका लागि त्याग गर्नु पर्ने हुन्छ ।

३) अत्यावश्यक नपरी बाहिर ननिस्कने, हात धुने तथा मास्क लगाउनुलाई बानीका रुपमा विकास गर्नु पर्छ ।

४) कोभिड–१९ को महामारी सकिएको थिएन र छैन । पहिलो लहर केही कमजोर हुँदै जाँदा सकिएको ठान्यौँ हामी (सरकार, नेतृत्व र सर्वसाधारण) सबैले । महामारी यथावत छ भन्ने ख्याल गरेर सावधानीका सबै उपायहरु अपनाउनु पर्छ ।

५) परीक्षणको दायरा साँघुरो छ । सरकारले परीक्षणलाई बिस्तारित रुपमा गरिरहेको छैन । तर कतिपय अवस्थामा सम्भावित लक्षण देखिएकाहरुले पनि परीक्षणमा चासो नदेखाएको पनि पाइन्छ । सम्भाव भएसम्म र पहुँच भएमा परीक्षण गराउनु पर्छ । यसले आफ्नो ख्याल गर्न र अरुलाई संक्रमण हुन नदिनका लागि अति महत्वपूर्ण हुन्छ । डराएर वा हेलचक्र्याईँ गरेर परीक्षणलाई टार्नु हुँदैन ।

६) महामारी नियन्त्रणमा लिने अन्तिम र बलियो विकल्प खोप नै हो । हाम्रो देशमा खोप छैन । धनी देशहरुले आफूलाई चाहिने भन्दा धेरै खोप मौज्दातमा राखेका छन् । विदेशमा रहेका नेपालीहरु (गैरआवासीय नेपाली) ले आफू बसोबास गर्ने देशको प्रशासनलाई खोप नेपाललाई सहयोगका लागि दबाब दिन पनि सक्नु हुन्छ ।

(डा. रामु खरेलसँग गरिएको कुराकानीमा आधारित । डा. खरेल अमेरिकाको रोड आइल्याण्डको प्रोभिडेन्सस्थित अस्पतालमा आकश्मिक सेवामा कार्यरत चिकित्सक हुन् ।)

बैशाख २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्