रानी नाकाबाट भित्रिनेको संख्या पातलो, स्वास्थ्य जाँच गर्दै ल्याउँदै

विराटनगर– भारतबाट निषेधाज्ञाका क्रममा विराटनगर रानी नाका हुँदै ९६ जना नेपाल प्रवेश गरेका छन्।

विराटनगर महानगरपालिकाका कोभिड १९ स्वास्थ्य संयोजक हैदर अलीका अनुसार आइतबारबाट सुरु भएको निषेधाज्ञाका क्रममा सोमबारसम्म सो संख्यामा सर्वसाधारण स्वास्थ्य परीक्षण गराउँदै नेपाल प्रवेश गरेका हुन्।

उनीहरूमध्ये पोजिटिभ रिपोर्ट आएका सर्वसाधारणलाई औषधि दिएर सम्बन्धित निकायको जिम्मा लगाएको अलीले बताए। त्यसैगरी, बाँकीलाई सुरक्षित रूपमा सतर्क रहेर घरभित्रै बस्न आग्रह गरिएको अलीले जानकारी दिए।

रानी नाकामा रहेको महानगरपालिकाको हेल्थ डेस्कका प्रमुख डा. कमलकिशोर यादवले आइतबार र सोमबार नेपाल प्रवेश गरेकामध्ये १६ जनाको एन्टिजेन परीक्षण पोजेटिभ आएको बताए।

रानी नाका भएर सोमबार ३५ जना सर्वसाधारण नेपाल प्रवेश गरेका छन्। जसमा १ महिला र २ पुरुष गरी ३ जनाको स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको छ।

डा. यादवले पोजेटिभ रिपोर्ट आएकामध्ये १८ वर्षीया १ महिला र २३ वर्षीय १ पुरुष दुहबी ५ निवासी र अर्का एक ३६ वर्षीय पुरुष सुनसरी तरहराका हुन्।

आइतबार रानी नाकाबाट ६१ जना प्रवेश गरेको बताउँदै डा. यादवले १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। जसमा १ महिला र १२ जना पुरुष छन्।

महानगरपालिकाले भारतबाट नेपाल भित्रिने नेपाली नागरिकका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म हेल्थ डेस्कमा चेकजाँच गर्दै प्रवेश दिने गरेको छ।

हेल्थ डेस्कका अनुसार वैशाख १ गतेयता नाकाबाट ९ सय ९ जना नेपालीले प्रवेश पाएका छन्। जसमा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भारतको जोगबनीमा समेत कोरोनाको एन्टेजिन परीक्षण हुँदै आएको छ। जहाँ पोजेटिभ रिपोर्ट आएकालाई भारततर्फकै होल्डिङ क्षेत्रमा राखिने गरिएको छ।

विराटनगर महानगरपालिकामा निषेधाज्ञा लागू गर्नुपूर्व नाकाबाट न्यून संख्यामा सर्वसाधारण भित्रिने गरेको भएपनि निषेधाज्ञापछि दैनिक औसत ५५ जना नेपाली नागरिक भित्रिने गरेका छन्।

अर्कोतर्फ महानगरपालिकाका कोभिड १९ संयोजक अलीले सोमबार महानगरमा ९८ महिला र १ सय २९ पुरुष गरी २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

उनका अनुसार महानगरपालिकामा हालसम्म संक्रमितको संख्या १ हजार ५ सय ८४ पुगेको छ।

बैशाख २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्