निषेधाज्ञा उल्लंघन गर्ने सवारी सडकमै ‘होल्ड’

मोरङ– झापा, मोरङ र सुनसरीमा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ३ सय २ वटा सवारीसाधनलाई कारबाहीका क्रममा होल्ड गरी छाडिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सञ्जीव शर्माले सुनसरीमा सोमबार निषेधाज्ञा उल्लंघन गर्ने अधिक रहेको बताए। प्रहरी उपरीक्षक शर्माका अनुसार सुनसरीमा ५ सय ७ वटा सवारी साधनलाई कारबाहीका क्रममा सडकमै होल्ड गरिएको थियो।

निषेधाज्ञाका क्रममा बिहान ९ बजेबाट सडकमा कुदेका सवारीलाई सडकमा होल्ड गर्दै चालकलाई सम्झाएर छाडिएको उनले बताए।

सुनसरीमा निषेधाज्ञाका क्रममा जोरबिजोर प्रणालीबाट सवारी चल्न दिएको भएपनि निषेधाज्ञा उल्लंघन गर्दै सवारी सडकमा कुदेको उनको भनाइ छ।

अर्कोतर्फ, प्रहरी उपरीक्षक शर्माले झापामा ४ सय ३६ वटा सवारी साधनलाई कारबाहीका क्रममा सडकमा होल्ड गरिएको बताए। जिल्ला प्रशासन कार्यालय झापाले सोमबारबाट जारी गरेको आंशिक निषेधाज्ञाको झापामा पहिलो दिन ठूलो संख्यामा सवारीसाधन निषेधाज्ञा उल्लंघन गरी सडकमा कुदेको उनले बताए।

झापामा पनि सवारीसाधनलाई जोरबिजोर प्रणालीबाट सञ्चालन गर्न दिइएको छ। यसक्रममा प्रहरीले १२ जना सर्वसाधारणलाई सामाजिक दूरी कायम राख्दै सडकमा होल्ड गर्दै सम्झाएर घर पठाएको थियो।

त्यसैगरि मोरङमा सोमबार ३ सय ५९ वटा सवारीसाधनलाई निषेधाज्ञा उल्लंघनका क्रममा होल्ड गरी कारबाही गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले निषेधाज्ञा उल्लंघन गर्नेमध्ये ९४ वटा सिटी सफारी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जानकारी दिए।

आइतबार धेरै संख्यामा सफारीलाई सम्झाइबुझाइ गरिएको भएपनि त्यसअनुरुप सोमबार चालक सवारी लिएर सडकमा कुद्न थालेपछि नियन्त्रणमा लिइएको उनको भनाइ छ।

बैशाख २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्