शव व्यवस्थापनमा संकट, पशुपतिबाहिर खुला ठाउँमै जल्दैछन् कोभिड संक्रमितका शव (भिडियो रिपोर्ट)

नेपालमा संक्रमण दर बढेसँगै मृत्युदर पनि बढ्दै जाँदा केही दिनअगाडि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘शव व्यवस्थापनका लागि उचित ठाउँको व्यवस्था गरियोस्।’  मन्त्रालयको यो भनाइलाई सरकारले खासै चासो देखाएन।

यसको परिणाम सोमबार दिउँसो पशुपतिस्थित विद्युतीय शवदाह गृहपछाडि पट्टि बागमती किनारको छेउमा प्रष्टै देखिएको थियो। बागमती किनारको खालि ठाउँमा चार वटा शव जलिरहेका थिए।

केही जल्न पालो कुर्दै थिए। केहीका लागि चिता तयार पारिँदै थियो। सामान्य व्यक्तिको मृत्युपछि गरिने दाहसंस्कारभन्दा बिल्कुलै फरक थियो उनीहरुको अन्तिम संस्कार। उनीहरुका लागि चिता त तयार पारिँदै थियो, तर उक्त चितामा कुनै सजावट थिएन। उनीहरुका लागि पुष्पमाला चढाउन आफन्तहरु थिएनन्।

चिताका छेउमा उभिएर सुँक्क–सुँक्क रोइरहेका आफन्त त्यहाँ थिएनन्। दागबत्ती दिन प्रिय व्यक्तिहरु थिएनन्। थिए त केवल जलिरहेका चितामात्रै। जलिरहेका चिता घरिघरि बेस्सरी दन्किरहेका थिए। हेर्दा लाग्थ्यो, चिताबीच प्रतिस्पर्धा भइरहेको छ, को अगाडि जलिसक्ने?

जलिरहेका शवको नजिकै अन्य शव जलाउन चिता तयार पारिँदै थियो। शव जलाउन केही थान दाउरा चाँचिदै थियो। अनि केही मुठा पराल पनि। यो तयारी सकिएलगत्तै अस्पतालले र्‍याप गरेको डेथ बडी ब्यागसँगै चितामाथि शव राखिँदै थियो। चितामाथि राखिएका शवमा एक–एक गर्दै आगो सल्काउँदै थिए, पशुपति विकास कोषका कर्मचारीहरु।

चितामा दन्किरहेको आगोको राप परपरसम्म पुगेको थियो। त्यही दन्किएको आगो अलि कम हुने बित्तिकै शव व्यवस्थापनमा खटिएका कर्मचारीहरु जलिरहेको शव लामो काठले बेस्सरी घोच्थे।

उनीहरुले चिता घोच्दै गर्दा जलिरहेको मुर्दा तमाम देखिरहेका थिए। कुनैका हात बाहिर निस्किएका थिए। कुनैका खुट्टा बाहिर निस्किएका थिए। त कुनैका टाउको। जति बेवारिसे भएपनि जल्न भने पटक्कै छोडेका थिएनन्, शवहरु।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा मृत्यु दर बढ्दै गएको छ। मृत्यु दर बढ्दै जाँदा शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनालाई व्यवस्थापनमा हम्मेहम्मे परेको छ। सेना पछिल्लो समय दिन रात नभनी शव व्यस्थापनमा खटिरहेको छ।

संक्रमणको सुरुवाती अथात पहिलो लहरमा सेनाले विभिन्न अस्पतालबाट एक पटकमा एउटा शव उठाउँदै आएको थियो। तर अहिले त्यो अवस्था छैन। पछिल्लो केही दिन यता सेनाले एक पटकमा चार वटा शव उठाउँदै आएको छ। यसो गर्दा समेत उनीहरुलाई भ्याइनभ्याई भइरहेको छ। सेना बिहानैदेखि राति अबेरसम्म शव व्यवस्थापनमै खटिरहेको छ।

शव व्यवस्थापनमा खटिएको सेनाजस्तै गाह्रो अवस्थामा पुगेको छ, पशुपतिमा रहेको विद्युतीय शवदाह पनि। संक्रमणबाट ज्यान गुमाएकाहरुको अन्तिम संस्कार सोही ठाउँमा हुँदै आएको छ। संक्रमितको अन्तिम संस्कार अहिलेसम्म थेगिरहेको विद्युतीय शवदाहगृह अब भार थाम्न नसक्ने अवस्थामा पुगेको छ।

केही दिन यता संक्रमितको मृत्यु दर एकाएक बढेसँगै शवदाहमा चाप बढेको छ। शुक्रबारदेखि निरन्तर रुपमा चलिरहेको शवदाहले भार थेग्न नसक्ने भएपछि आइतबार साँझबाट संक्रमितको अन्तिम संस्कार बाग्मतीको किनारमा गर्न सुरु गरिएको छ।

विद्युतिय शवदाहमा चाप बढेपछि शवलाई क्यूमा राख्नु भन्दा चाडो भन्दा चाँडो व्यवस्थापन गर्न बागमती किनारमा जलाउन थालिएको पशुपति विकास कोषका सदस्य सचिव प्रदिप ढकालले बताए।

उनले भने, ‘मृत्यु दर बढेपछि शवले पालो कुर्नुपर्ने अवस्था आएपछि हामीले यो निर्णय गरेका हौँ। कुनै पनि शव जलाउन क्यूमा राख्नु नपरोस् भन्ने हेतुले विद्युतीय शवदाहगृहको पछाडिपट्टि बाग्मती किनारमा शव जलाउने सुरु गरिएको छ।’

 

अहिले शव व्यवस्थापनमा नेपाली सेनाको प्रत्यक्ष संलग्नता छ। उनीहरुले विभिन्न अस्पताल तथा होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव व्यवथापन गर्दै आइरहेका छन्। सेनाले व्यवस्थापन गर्दै आएका शव विद्युतीय शवदाहगृह पुर्‍याएको छ।

त्यसपछि भने पशुपति विकाश कोषका कर्मचारी र शव जलाउनका लागि घाटमा खटिएका व्यक्तिहरु शवको अन्तिम संस्कारमा खटिँदै आएका छन्।

अहिलेको अवस्थामा पनि उनीहरु नै काम गर्दै आएपनि संख्यामा भने केही हेरफेर भएको ढकालले बताए। ‘नेपाली सेनाले विभिन्न ठाउँबाट ल्याएका शवको अन्तिम संस्कारमा पशुपति विकास कोषका कर्मचारी साथीहरु र शव जलाउन घाटमा काम गरिरहेका साथिहरुलाई खटाएका छौँ’, उनले भने ,‘हामी शव जलाउने साथीहरुको स्वास्थ्यप्रति संवेदनशील छौँ र सबै स्वास्थ्यका मापदण्ड पूरा गरेका छौँ।’

उनका अनुसार विद्युतीय मेसिनबाट शव जलाउँदा करिव एक घण्टा लाग्छ। तर बाहिर जलाउँदा भने शवको प्रकृति अनुसार समय लाग्न सक्छ।

भन्छन्, ‘एउटा जल्नका लागि शवको प्रकृति हेरेर मात्र कति समय लाग्छ भन्ने थाहा हुन्छ। सामान्यतया: एउटा शव जल्न डेढदेखि दुई घण्टा लाग्ने गर्छ। तर विद्युतीय मेसिनबाट जलाउँदा एक घण्टा लाग्ने गर्छ।’

यसरी शव व्यवस्थापनमा चाप बढ्दै जाँदा पशुपति विकास कोषले एउटा विद्युतीय मेसिन थप्न लागेको ढकाल बताउँछन्।

उनले भने, ‘हामी अब चाँडै अर्को एउटा विद्युतीय मेसिन थप्ने प्रक्रियामा छौँ। अहिले चलिरहेका मेसिन केही समयका लागि समस्या आएपनि ठप्पै भने भएका छैनन्। तत्काल हामीसँग अहिले दुई वटा विद्युतीय मेसिन र एउटा दाउराको मेसिन छ। तीनवटै चलिरहेको छ। सानोसानो समस्या आएपनि समयमै मर्मत भइरहेका छन्।’

यस्तै सेनाले वैशाख १९ गतेसम्म देशभरबाट ३ हजार ५ सय ३८ वटा शव व्यवस्थापन गरिसकेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए। उनले भने, ‘उपत्यका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा मात्रै १ हजार ७ सय ६४ वटा शव व्यवस्थापन गरिसकेका छौँ।’

बैशाख २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्