प्रदेश २ का अस्पताल तथा प्रयोगशालामा ४१७ दरबन्दी थपिने

जनकपुरधाम – कोरोनासँग लड्नका लागि प्रदेश २ सरकारले अस्पताल तथा प्रयोगशालामा जनशक्ति थप्ने निर्णय गरेको छ।

प्रदेशमा स्वास्थ्यकर्मी कम रहेकाले कोरोना महामारीको संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य जनशक्ति थप्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

प्रदेशको मन्त्रिपरिषद्को बैठकले अस्पताल तथा प्रयोगशालामा स्वास्थ्यकर्मी अभाव देखिएपछि ४ सय १७ जनाको अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३ जना, प्रादेशिक अस्पताल जनकपुरधामका लागि १ सय ७४, महोत्तरीको जलेश्वर, सिरहा, सर्लाहीको मलंगवा, रौतहटको गौर र बाराको कलैया अस्पतालका लागि ३२–३२ जना, सिरहाको लहान अस्पतालका लागि २३ जना र सप्तरीको भारदह तथा पर्साको पोखरिया अस्पतालका लागि १५–१५ जनाको अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खट्ने एनेस्थेसियोलोजिस्टदेखि स्वीपरसम्मको अस्थायी दरबन्दी थप गर्ने भएको छ।

थपिएका दरबन्दीमा अस्पतालले आवश्यकताका आधारमा नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।

बैठकबाट कोरोना महामारी नियन्त्रणका लागि गरिएका कामको अनुगमन गर्न प्रदेश सरकारका मन्त्रीलाई जिल्ला–जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्रीसमेत तोकेको छ।

सप्तरी जिल्लाका लागि भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागि आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, धनुषा र महोत्तरी जिल्लाका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सर्लाही र रौतहट जिल्लाका लागि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र बारा तथा पर्सा जिल्लाका लागि भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिइएको छ।

 

बैशाख २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्