नेपाल सुपर लिगः चितवनलाई पराजित गर्दै विराटनगर शीर्ष स्थानमा

दशरथ रंगशाला। फाइल तस्बिर।

काठमाडौँ– एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनर सिटी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटीले चितवनमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्राम खेल पस्किएको थियो। काउन्टर गर्दै चितवनलाई दबाब दिएको विराटनगरका लागि पेड्रो मान्जी क्रुजले ७३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता निकालेका थियो। त्यसपछि ८९ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै टोलीको जितको निश्चित गरे। १० मिनेट इन्जुरी समयमा चितवन खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन।

पहिलो हाफमा विराटनगरलाई दबाबमा राखेको चितवनले केही राम्रा अवसर पाएको थियो। तर चितवनको अग्रपङ्क्तिले अवसरलाई सदुपयोग गर्न असफल रहेको थियो। दोस्रो हाफमा भने विराटनगर हावी हुँदै चितवनलाई दबाब दिएर खेल पस्किँदा जित निकाल्न सफल भएको थियो।

जितबाट शीर्ष स्थानमा उक्लिएको विराटनगरले ४ खेलबाट ७ अंक जोडेको छ। गोल अन्तरका आधारमा विराटनगरले धनगढी फुटबल क्लबलाई पछि पार्दै शीर्षता कायम गरेको हो।

उता अंक गुमाएको चितवनले चार खेलबाट मात्र २ अंक जोडेको छ। दुई खेलमा बराबरी र दुई खेलमा अंक गुमाएको चितवनले जारी लिगमा जितविहीन छ। यस्तै ललितपुर सिटी पनि जारी लिगमा जितविहीन टोली हो।

प्रतियोगितामा मंगलबार बुटवल लुम्बिनी फुटबल क्लब र काठमाडौँ रेजर्सबीच खेल हुनेछ। बुटवलले तीन खेलबाट ५ अंक जोडेको छ भने काठमाडौँ रेजर्सको समान तीन खेलबाट ४ अंक छ।

मंगलबार हुने खेलमा दुबै टोली अघिल्लो चरण प्रवेश गर्न स्पष्ट जितका लागि प्रतिस्पर्धा गर्नेछन्।

बैशाख २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्