दाङ–लमहीमा २५ बेडको कोरोना अस्पतालमा संक्रमितको उपचार सुरु भएको छ।

कोरोना संक्रमितको उपचारको लागी एचडियू अस्पताल सञ्चालनमा आएको हो। देउखुरीका चारवटा स्थानीय पालिकाको लगानीमा अस्पताल सञ्चालनमा आएको र संक्रमितलाई भर्ना गरेर उपचार सुरु भएको अस्पतालका प्रमुख डाक्टर पुष्प भुसालले जानकारी दिए।

यसअघि आइशोलेसन भवनको रुपमा प्रयोग गरिएको नेत्रलाल अभागी स्मृति भवनलाई कोरोना अस्पतालको रुपमा व्यस्थापन गरिएको हो।

‘कोरोना अस्पताल निर्माण गरेर उपचार थालिएको छ’, डाक्टर भुसालले भने, ‘अक्सिजनसहितको अस्पताल तयार भएको हो।’

पहिलो चरणमा १२ बेड तयारी अवस्थामा छ। अन्य बेड थपेर २५ बेड पुर्‍याइने छ। कोरोना अस्पतालमा बेड नहुँदा संक्रमितको उपचार प्रभावित भएको थियो।

बेड कुरेर बस्दा संक्रमितको ज्यान जोखिममा थियो। कोभिड अस्पताल तयार भएको र होम आइशोलेसनमा बस्न नसक्ने र अक्सिजन दिएर उपचार गर्नुपर्ने संक्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गरिने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए।

‘कोभिड अस्पताल तयार पारेका छौँ। अक्सिजन दिनुपर्ने बिरामी भर्ना गरिन्छ’, उनले भने, ‘जनशक्तिको व्यवस्थापन गरेर अस्पताल सञ्चालनमा ल्यायौँ।’

पहिलो लहरको संक्रमण फैलिएको समयमा यहाँका चार स्थानीय सरकारको संयुक्त लगानीमा आइशोलेसन सेन्टर स्थापना गरिएको थियो। दोस्रो चरणको संक्रमण तीव्र हुँदा कोभिड अस्पताल तयार पारिएको हो।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्