एन्जाको अध्यक्षमा ऋषि आचार्य चयन

सिड्नी – अस्ट्रेलियन नेप्लिज जोर्नालिष्ट एसोसिएसन (एन्जा) को अध्यक्षमा ऋषि आचार्य चयन भएका छन्।

सिड्नीमा गत मे १ तारिख शनिबारका दिन सम्पन्न वार्षिक साधारणसभा तथा कार्यभार हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष हेमन्त काफ्लेले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालको रोहबरमा कार्यभार हस्तान्तरण गरेका हुन्। आचार्य एक वर्षअगाडि एडिलेडमा सम्पन्न साधारणसभाबाट सहअध्यक्षको भूमिकामा रहिआएका थिए।

कार्यक्रममा प्रमुख अतिथि राजदूत दाहालले खुशीसाथ नेतृत्व हस्तान्तण गरेकोमा एन्जाको प्रशंसा गर्दै अस्ट्रेलियामा रहेका पत्रकारहरूको वृत्तिविकासका निम्ति दूतावास सदैव सहयोग गर्न तयार रहेको उल्लेख गरे। ‘अस्ट्रेलियाभित्रको सत्यतथ्य समाचार सम्प्रेषणमा पत्रकारहरूको भूमिका प्रशंसनीय छ । हाँसीहाँसी नेतृत्व हस्तान्तरणको उदाहरणीय कार्य एन्जामा भएको छ  यसबाट अरूले पनि सिक्न आवश्यक छ’, राजदूत दाहालले भने ।

निवर्तमान अध्यक्ष हेमन्त काफ्लेले कोरोना महामारीको विषम परिस्थितिमा पनि समुदायसँग हातेमालो गर्दै महत्वपूर्ण कार्यहरू गर्न सफल भएको बताएका थिए। अीट्रेलियामा क्रियाशिल पत्रकारहरूलाई समेट्दै अघि बढ्ने अभियानलाई आफूले यहाँसम्म ल्याएको र अबको समयमा त्यसलाई कार्यसमितिले नयाँ उचाइमा लैजाने विश्वास काफ्लेले व्यक्त गरे।

अध्यक्ष ऋषि आचार्यले संस्थाका सदस्यहरूको क्षमता अभिवृद्धिका साथै व्यवसायिक पत्रकारिताको अभ्यास र मर्यादित पेशाका रूपमा अस्ट्रेलियाको नेपाली समुदायबीच लैजान यहाँका सामुदायिक संघसंस्थासँग आफूले हातेमालो गर्ने बताए।

कार्यक्रममा विशेष अतिथिहरू डा. नारायण प्रधान, इन्द्रा वन, अतिथिहरू न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दीपक खड्का, एनआरएनए आईसीसी उपाध्यक्ष मन केसी, एनआरएनए आईसिसी विधान संशोधन कमिटीका संयोजक भवानी ओली, एनआरएनए अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मी, उपाध्यक्ष देव गुरुङ, एनआरएनए ओसेनिया पूर्वसंयोजक धर्मराज अधिकारी, कानूनविद् डा. शम्सेर सिंह थापा, जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक दिनेशराज जोशी, निन्फाका अध्यक्ष अरुण तामाङ, चितवन समाज अस्ट्रेलियाका अध्यक्ष पूर्णनाथ घिमिरे, नारी निकुञ्ज अस्ट्रेलियाकी संयोजक सन्ध्या शाह, एनआरएनए अस्ट्रेलियाका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल लगायतको सहभागिता थियो।

उक्त अवसरमा सहभागीहरूले प्रवासको पत्रकारिता र यसको भूमिकाका विषयमा शुभकामना मन्तव्यसँगै आफ्नो समीक्षा र अपेक्षा प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागीहरूलाई एन्जाका कोषाध्यक्ष कृष्ण तिवारीले स्वागत गरेका थिए भने कार्यसमिति सदस्य प्रकाश हुमागाईंले धन्यवाद ज्ञापन गरेका थिए। यस्तै संस्थाका महासचिव चिरञ्जीवी देवकोटाले कार्यक्रमको संचालन गरेका थिए।

अध्यक्ष पदमा व्यक्ति परिवर्तन भए पनि बाँकी कार्यसमितिका सदस्यहरु भने उही रहने पनि एन्जाले जनाएको छ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्