चुनावी नतिजापछि पश्चिम बंगालमा हिंसा, कम्तीमा ६ जनाकाे मृत्यु

भारत पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा आएपछि सोमबार हिंसाका घटना भएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार राज्यमा भएका राजनीतिक हिंसाका घटनामा कम्तीमा ६ जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेको संख्या विभिन्न सञ्चारमाध्यमले फरक–फरक उल्लेख गरेका छन्। चुनावमा विजयी भएको तृणमुल कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता माथि आक्रमण गरेको आरोप भारतीय जनता पार्टी (भाजपा) ले लगाएको छ।

भाजपाले तृणमुलका कार्यकर्ताको आक्रमणबाट आफ्ना ६ कार्यकर्ता मारिएको आरोप लगाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

केन्द्रीय गृहमन्त्रालयले पश्चिम बंगाल सरकारसँग चुनावी नतिजापछिका हिंसा बारेको विस्तृत विवरण माग गरेको खबरमा उल्लेख छ।

आइतबार बेलुका यता भएका हिंसामा विपक्षी राजनीतिक दलका कम्तीमा ११ जना कार्यकर्ताको ज्यान गएको दाबी गरिएको छ।

हिन्दुस्तान टाइम्सले सोमबार राजनीतिक दलका कार्यकर्ताबिच कोलकातासहितका स्थानमा झडप हुँदा कम्तीमा ९ जनाको ज्यान गएको स्रोतहरुलाई उल्लेख गर्दै जनाएको छ। विभिन्न नेताका घर तथा पार्टी कार्यालयमा तोडफोड तथा लुटपाटका घटना पनि भएको छ। अधिकांश घटनामा भाजपाले तृणमुलका कार्यकर्तामाथि आरोप लगाएको छ।

इन्डियन एक्सप्रेसका अनुसार चुनावी नतिजापछि भएका हिंसामा कम्तीमा ८ जनाको ज्यान गएको छ। मारिने मध्ये ६ जना आफ्ना कार्यकर्ता रहेको भाजपाले जनाएको छ। भाजपाले हिंसाविरुद्ध बुधबार देशव्यापी धर्नामा जाने बताएकाे छ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्