मोरङमा पाँचसहित प्रदेश १ मा ६ जना सङ्क्रमितको मृत्यु

सांकेतिक तस्बिर।

विराटनगर – मोरङ र सुनसरीका विभिन्न अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित ६ जनाको मङ्गलबार मृत्यु भएको छ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा ४, धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ र मोरङको बेलबारी नगरपालिकामा होम आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको हो।

मंगलबार बिहान २ बजेपछि मृत्यु हुनेमध्ये २ जना महिला र ४ जना पुरुष रहेका छन्। जसमा २ जना प्रदेश २ को सप्तरीका बासिन्दा हुन्। त्यसैगरि, मृत्यु हुने ४ जनामा मोरङको बेलबारी, विराटनगर, सुनसरीको धरान र इलामका रहेका छन्।

विराटनगरको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अस्पतालको कोभिड १९ अस्पतालमा महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको छ।

कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेल अस्पताल भर्ना गरिएको थियो। उनका अनुसार स्वास्थ्य अवस्था गम्भीर रहेका वृद्धको उपचारकै क्रममा मृत्यु भएको हो।

त्यसैगरि, नोबेलमा उपचाररत इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि मृत्यु भएको छ। पिसिआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि महिलालाई उपचारका लागि वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो।

प्रबन्धक दाहालका अनुसार महिलाको उपचारकै क्रममा बिहान सवा ४ बजे मृत्यु भएको हो। मृतकमा निमोनियाको पुरानै समस्या रहेको उनले जानकारी दिए। त्यसैगरि, सुनसरीको धरान उपमहानगरपालिका–८ की कोरोना संक्रमित ७७ वर्षीया वृद्धा महिलाको पनि उपचारका क्रममा मृत्यु भएको उनले बताए।

संक्रमण देखिएसँगै महिलालाई सोमबार अस्पताल भर्ना गरिएको थियो। प्रबन्धक दाहालले उपचार भइरहेको अवस्थामा बिहान ५ बजेतिर मृत्यु भएको बताए । उनका अनुसार मृतक महिलामा दमको समस्या थियो।

त्यसैगरि, बेलबारी नगरपालिकाका ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ। पूर्वप्रहरी सहायक निरीक्षक पुरुषको बिहान करिब ४ बजे मृत्यु भएको हो।

नोबेल अस्पतालमा वैशाख १६ गते पिसिआर परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएपछि उनलाई घरमा राखिएको थियो। श्वासप्रश्वासमा समस्या आएर अवस्था गम्भीर हुन थालेपछि उपचारका लागि अस्पताल पुराउन नपाउँदै पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै प्रदेश २ को सप्तरीका दुई जना संक्रमितको मंगलबार नै मृत्यु भएको छ। नोबेल अस्पतालमा उपचाररत हनुमाननगर कंकालिनी नगरपालिकाका ३५ वर्षीय पुरुषको बिहान करिब पौने ६ बजे मृत्यु भएको दाहालले जानकारी दिए।

कोरोना संक्रमण पुष्टि भएपछि वैशाख १७ गतेबाट उनलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। यसैबीच, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी सप्तकोशी १ का ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ।

प्रतिष्ठानका सह प्रवक्ता चुरामणि पोखरेलका अनुसार पुरुषको उपचारका क्रममा मंगलबार बिहान सवा ५ बजे मृत्यु भएको हो। उनका अनुसार उच्च रक्तचापबाट पीडित विरामीमा वैशाख १३ गते कोरोना भाइरस सक्रमण पुष्टि भएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोही दिन थप उपचारका लागि प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्