विद्युतीय शवदाह गृहले थेग्न नसकेरै बागमती किनारमा अस्थायी चिताः पशुपति क्षेत्र विकास कोष

काठमाडौँ – कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्दै जाँदा अन्तिम संस्कारका लागि वैकल्पिक व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

विद्युतीय शव दाह गृहले थेग्न नसकेका कारण सोमबारदेखि बागमती किनारमा अस्थायी चिता बनाएर कोभिड–१९ का कारण मृत्यु भएकाहरुको शव जलाउन थालिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताएका छन्।

देश सञ्चारसँग सदस्यसचिव ढकालले भने, ‘विद्युतीय शव दाह गृहमा हामीसँग तीनवटा मेसिन छन्। अहिले तीनवटै मेसिन सञ्चालनमा रहे पनि शवको भार थेग्न नसकिएपछि नजिकै बागमती किनारमा स्थायी चिता बनाइएको हो।’

एक मेसिनले दैनिक अधिकतम १२ वटा शव जलाउन सक्ने उनले बताए । सदस्य सचिव ढकालले भने, ‘एउटा मेसिनमा अधिकतम १२ वटासम्म शव जलाउन सकिन्छ। तर मेसिनहरु अल्टरनेट गरेर चलाउने गरिएको छ। सबै एकसाथ चलाउँदा एकैचोटी सबै बिग्रिने सम्भावना रहने र मेसिनले आराम पनि नपाउने अवस्था आउँछ।’

एउटा शव चलाउन विद्युतीय शवदाह गृहमा औषतमा एक घण्टा लाग्ने गर्छ। तर एउटा शव जलाएपछि मेसिनलाई केही समय आराम दिनु पर्ने भएकाले तीनवटै मेसिन एकसाथ नचलाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

पछिल्लो केही दिनयता कोभिड–१९ का कारण मृत्यु भएकाहरुको शव आउने क्रम निकै बढेको ढकालले बताए। उनले भने, ‘तीनवटै मेसिन निरन्तर चलाउँदा दैनिक ३०–३५ वटा शव जलाउन सकिन्छ। तर सबै मेसिन एकसाथ चलाउन मिल्दैन। सोही कारण कोभिड–१९ बाट मृत्यु हुनेको संख्या बढेका कारण हामीले भार थेग्नका लागि नजिकै बागमती किनारमा स्थायी चिताको व्यवस्था गरेका हौँ।’

पछिल्ला केही दिनयता दैनिक कोभिड–१९ बाट मृत्यु भएका ३५–४० जनाको शव आउने गरेको कोषले जनाएको छ। सदस्य सचिव ढकालले भने, ‘अस्पतालहरुबाट सेनाले शव संकलन गरेर ल्याउँदा अघिल्लो दिन मृत्यु भएकाहरु पनि हुन्छन्, सोही कारण शवको संख्या धेरै भएको छ।’

विद्युतीय र बागमती किनारमा अस्थायी चितामा गरेर दैनिक १०० वटा शवसम्म जलाउन सक्ने अवस्थामा आफूहरु रहेको तर जोखिम बढ्दै जाँदा थपिन सक्ने मृत्युका लागि वैकल्पिक तयारीको खाँचो भने रहेको उनले बताएका छन्। अस्थायी चिताका लागि चाहिने दाउराको व्यवस्था तत्कालका लागि रहेको सदस्य सचिव ढकालले बताए।

पुशपति क्षेत्र विकास कोषसँगको सहकार्यमा नेपाली सेनाको टोलीले कोभिड–१९ का कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्दै आएको छ।

विद्युतीय शव दाह गृह सञ्चालनमा रहँदा पनि थेग्न नसकेका कारण मंगलबार बिहान सातवटा शव बागमती किनारमा बनाइएको अस्थायी चितामा जलाइएको कोषले जनाएको छ। आवश्यकता अनुसार अस्थायी चिताहरु थपिँदै जाने कोषको भनाई छ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्