आपूर्ति सहज छ, आत्तिने काम नगराैँ: उपभोक्ता संरक्षण विभाग

काठमाडाैँ – चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तिन महिनाको लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताए।

उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज रुपमा भइरहेको पौडेलले बताए। महानिर्देशक पौडेलले बजारमा खाद्य पदार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद संचय नगर्न पनि आग्रह गरे।

खाद्यपदार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनले बताए। उनले भने, ‘चामल, दाल, नुन, तेल, चिनी लगायतका न्युनतम बस्तुको स्टक करिब ३ महिनालाई अझै पनि हामीलाई सप्लाइमा समस्या छैन। नआए पनि पुग्छ। खाद्य पदार्थको आपूर्ति सहज छ। उपभोक्ताले उपभोगको मात्रा बढाए, आवश्यकताभन्दा बढी खरिद गरिदिनु भो भने मुल्यवृद्धि गर्ने सम्भावना रहन्छ। आत्तिनुपर्ने अवस्था छैन।’

दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि भएको खण्डमा मूल्यवृद्धि गराउने लाई कारबाही गरिने महानिर्देशक पौडेलले बताए। बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको उनको भनाइ छ ।

उनले भने, ‘विभागको अनुगमनको टिम बिहान, दिउँसो, बेलुकी निस्कन्छ । बजारमा बस्तुको उपलब्धता, वस्तुको वितरण र मूल्यवृद्धि लगायतका गुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको छ ।’

उनले दैनिक उपभोग्य वस्तुको आयातमा कुनै पनि प्रकारको समस्या नभएको पनि बताए। दैनिक उपभोग्य वस्तुहरु, मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘भन्सार नाकाका छेउमा आयात गरेर राखिएका गोदामहरु छन् । त्यो गोदामहरुबाट काठमाडौँसम्म ल्याउनको लागि दैनिक उपभोग्य वस्तुका साधनहरु, मास्क सेनिटाइजर जस्ता अहिले अत्यावश्यक भएका वस्तुहरु सँगसँगै उद्योगको कच्चा पद्धार्थका लागि आउने सवारी साधनलाई रोकिएको छैन।’

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपुर्तिको समस्या नभएपनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहेको बताए।

विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘बजारमा दुई, तीन वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि छ। वृद्धि हुनुपर्ने कारण केही पनि छैन। चिनीको मुल्यवृद्धि गरेर उपभोक्ता ठग्ने काम भएको छ। बजारमा कृतिम अभाव सिर्जना गर्नेहरुले आपूर्तिमा असहजता छ भनेर हल्ला फिजाएर आफ्नो अभिष्ट पूरा गर्न लागे। मास्क, सेनिटाइजरमा कालोबजारी छ । त्यो नियन्त्रण सँगसँगै दैनिक उपभोग्य वस्तुको अनुगमनमा जानुपर्छ। उपभोक्ता आतंकित छन्। आतंकबाट रोक्नुपर्छ।’

यस्तो परिस्थितिमा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित काराकारसम्मको कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए।

 

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्