२७ गतेकाे बैठकका लागि सबै सांसदकाे पीसीआर परीक्षण गरिने

फाइल तस्बिर।

काठमाडौँ – संघीय संसदका सदस्यहरुको पीसीआर परीक्षण हुने भएको छ। वैशाख २७ गते बस्ने संसद बैठकको तयारी स्वरुप सबै सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण वैशाख २२ र २३ गते हुने संसद सचिवालयले जनाएको छ।

२२ गते बुधबार सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षसहित प्रतिनिधि र राष्ट्रियसभाका सांसदहरु, संसद सचिवालयका महासचिव, सचिव, कार्यव्यवस्था शाखा तथा सांसद सुविधा व्यवस्थापन शाखाका कर्मचारीहरु, संसद सचिवालयका कर्मचारीहरु एवम् सभामुख, अध्यक्ष र उपाध्यक्षको निजी सविचालयका कर्मचारीको पीसीआर परीक्षण हुनेछ।

यस्तै २३ गते बिहीबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवसहितका कर्मचारीहरु तथा ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्नेसहितका सुरक्षाकर्मीको पीसीआर हुने संसद सचिवालयले जनाएको छ।

दुवै दिन बिहान १० देखि बेलुका ५ बजेसम्म पीसीआर परीक्षणका लागि संसद भवनको ल्होत्से हलमा स्वाब संकलन हुने सचिवालयले जनाएको छ।

 

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्