खेल सिद्धान्त, चुनाव अनि एमसीसी

अर्थशास्त्रमा एउटा सिद्धान्त प्रतिपादन गरिएको छ, जसलाई अंग्रेजीमा गेम थेओरी (Game Theory) भनिन्छ। मैलेचाहिँ यसलाई खेल सिद्धान्त भनेर व्याख्या गरेको छु। यो सिद्धान्त इ.सं. १९४० मा गणितिज्ञ जोन भोन निउम्यान र अर्थशास्त्री ओस्कार मोर्गेस्टर्नले प्रवर्तन गरेको, पश्चात गणितिज्ञ जोन न्याशले विस्तार गरेको कथन छ।

खेल सिद्धान्त भनेको के हो ?

यो प्रतिस्पर्धी खेलाडीहरुबीचमा सामाजिक स्थिति कल्पना गर्ने सैद्धान्तिक ढाँचा हो। खेल सिद्धान्त, रणनीतिको विज्ञान अथवा स्थापित रणनीतिमा प्रतिस्पर्धीहरुको श्रेष्ठतम निर्णय लिनसक्ने अवस्थालाई पनि भनिन्छ। यो सिद्धान्तले विवेकी खेलाडीहरु माझ सहभागितामूलक परिस्थिति निर्माण गर्न भूमिका खेलेको हुन्छ। यो खेलको मुख्य विशेषता भनेको अर्को खेलाडीले लागू गरेको रणनीतिमा रहेर यो खेलाडीले आकस्मिक लाभ प्राप्त गर्छ। यसले खेलाडीहरुको पहिचान , प्राथमिकता र उपलब्ध रणनीतिहरु पहिले नै पत्ता लगाइसकेको हुन्छ। साथसाथै, यी रणनीतिहरुले परिणाममा कस्तो र कसरी असर पर्न सक्छ भनी आकलन पनि भइसकेको हुन्छ। खेल सिद्धान्त अनुसार, सबै प्रतिस्पर्धी खेलाडीहरुको कार्य र छनौटले प्रत्येकको नतिजालाई असर गर्छ। तसर्थ, यस सिद्धान्तलाई विभिन्न अनुमान वा परिकल्पनाको आवश्यकता पर्दछ। खेल सिद्धान्त, मनोविज्ञान, राजनीति , जीव-विज्ञान, युद्ध, अर्थशास्त्र, व्यापार आदिमा उपयोगी हुने भएकाले, यसको अनुप्रयोग व्यापक छ।

खेल सिद्धान्तका प्रकार :

हामीसँग विभिन्न प्रकारका खेल सिद्धान्तहरु छन्, जस्तै सममिति, समक्षणिक, क्रमिक वा अन्य। जसमध्य सहयोगात्मक र असहयोगात्मक आम चलनचल्तीका हुन्।

सहयोगात्मक भन्नाले ज्ञात लाभका खातिर गरिने गठबन्धन वा सहकार्यलाई मानिन्छ। यसमा एक्ला-एक्लै भन्दा पनि समूहमा गठबन्धन बनाएर खेलिन्छ, जसको उत्कृष्ट नमूना हाम्रो चुनावमा देख्न र भोग्न पाइन्छ।

अ-सहयोगात्मक भन्नाले आफ्नो स्वार्थ वा लाभपूर्तिका निमित्त आर्थिक अभिकर्ताहरुले उपलब्ध रणनीति र ज्ञात परिणाममा स्वविवेक प्रयोग गरी खेल्ने कार्यलाई जनाउँछ।

अब यस खेल सिद्धान्तमा हाम्रो नेपाली राजनीतिलाई राखौं अनि विश्लेषण गरौँ। तर, यसपूर्व खेल सिद्धान्तका केहि शब्दावलीलाई परिभाषित गर्नु वाञ्चनिय होला।

खेल : यो परिस्थितिहरुको संगालो हो जसको परिणाम खेलाडीहरुको कार्य र छनौटमा निर्भर हुन्छ।

खेलाडीहरु : खेलमा भाग लिएका रणनीतिक निर्णयकर्ता

रणनीति : खेलभित्र उत्पन्न हुनसक्ने परिस्थितिहरुको सँगालोलाई ध्यानमा राख्दै खेलाडीले चाल्नसक्ने कदमको सम्पूर्ण योजना ।

लाभ : एउटा निश्चित परिणाममा आइपुगे पश्चात खेलाडीले प्राप्त गर्ने भुक्तानी (पैसा, शक्ति, पद- प्रतिष्ठा वा अन्य)

सूचना सँगालो: खेलको निश्चित बिन्दुमा आइपुग्दा उपलब्ध सूचना (यो विशेषत अनुक्रमिक खेलमा लागू हुन्छ।)

सन्तुलन : खेलाडीहरुले निर्णय गरेर परिणाम आए पश्चातको बिन्दु वा अवस्था

विसंगत सन्तुलन (The Nash Equilibrium):

यो यस्तो परिस्थिति वा परिणाम हो जहाँ कुनै खेलाडीले आफ्नो एकल निर्णयमा लाभ बढाउन सक्दैन र उनीहरु त्यही निर्धारित लाभसहितको बिन्दुमा रहन बाध्य हुन्छन्। यस अतिरिक्त खेलाडीले एकचोटी निर्णय गरेर परिणाम आइसकेपछि, त्यस अवस्थामा पश्चाताप गर्ने छैनन्। र, एउटा खेलमा एकभन्दा बढी यस्ता सन्तुलन रहन सक्छन्। अब हामी यस विसंगत सन्तुलनको परिदृश्य हाम्रो नेपाली राजनीतिमा हेरौँ।

यो तलको परिकल्पना आगामी चुनावमा दुईवटा गठबन्धन हुने, जसमा एउटा के पी ओलीले र अर्को प्रचण्डले नेतृत्व गर्ने परिकल्पना गरिएको छ। यस चुनावमा यी दुई खेलाडीले जनतासामु दुइटा रणनीति अपनाउने अनुमान गरिएको छ। एउटा रणनीति जनता फकाउने र अर्को रणनीति जनता ठग्ने। यी दुवै रणनीति अपनाएर चुनावमा जाँदा आउने सम्भावित नतिजाको अनुमान गरेर, त्यस आँकडा (मैट्रिक्समा) राखेर विश्लेषण गरिएको छ।

प्रचण्ड गठबन्धन रातो रंगमा र के पी ओली गठबन्धन निलो रंगमा राखिएको छ।

अब माथि आएका नतिजाहरुबाट यी दुई राजनीतिक खेलाडीको प्रभावी रणनीति उजागर गर्ने चेष्टा गरौँ।

पहिला के पी ओलीको रणनीतिक निर्णयमा प्रचण्डको कदम के हुन्छ विश्लेषण गरौँ। 

यदि के पी ओलीले जनता ठगेर सांसद संख्या थप्ने प्रयास गरे भने प्रचण्डले पनि जनता ठग्ने रणनीति अपनाउँछन्। किनकि के पी ओलीले जनता ठग्दा ७० सिट आउछ भने प्रचण्डले फकाउँदा ३० मात्र आउँछ। त्यसैले प्रचण्ड पनि जनता ठगेर ६७ सिट ल्याउने ध्याउन्नमा लाग्छन्। तर यदि के पी ओलीले जनता फकाएर संसद संख्या थप्ने प्रयास गरे प्रचण्डले यो अवस्थामा पनि जनता ठग्ने रणनीति नै अपनाउँछन्। किनकि के पी ओलीले जनता फकाउँदा ५५ सिट आउँछ भने प्रचण्डले फकाउँदा मात्र ४५ सिट आउछ तसर्थ प्रचण्डले यहाँ पनि जनता ठगेरै ५१ सिट ल्याउने अवसर देखछन्।

अब प्रचण्डको रणनीतिक निर्णयमा के पी ओलीको कदम के हुन्छ विश्लेषण गरौँ। 

यदि प्रचण्डले जनता फकाएर संसद संख्या थप्ने प्रयास गरे केपी ओली जनता ठग्नतिर लाग्छन्। किनकि प्रचण्डले जनता फकाउँदा ४५ सिट आउने सम्भावना हुन्छ भने केपी ओलीको ५५ मात्र आउछ त्यसैले केपी ओलीले जनता ठगेर ७० सिट ल्याउने रणनीति अपनाउँछन्। तर यदि प्रचण्डले जनता ठगेर संसद संख्या थप्ने प्रयास गर्दा केपी ओली भने जनता फकाउनतिर लाग्छन्। किनकि प्रचण्डले जनता ठग्दा ६७ सिट संख्या आउने सम्भावना हुन्छ भने केपी ओलीको ३३ मात्र त्यसैले केपी ओली जनता फकाएर ४९ सिट ल्याउन लाग्छन्।

यसरि यी दुवै खेलाडीले खेल खेलिसकेपछि यिनीहरुको प्रभावी रणनीति छ कि छैन त भनेर हेर्दा प्रचण्डको प्रभावी रणनीति भएको देखिन्छ। जुनसुकै परिस्थितिमा पनि प्रचण्डको प्रभावी रणनीति जनता ठग्ने देखिन्छ। यता केपी ओलीको भने एकैनासे प्रभावी रणनीति नहुने देखिन्छ। बरु उनको परिस्थिति सापेक्ष कहिले जनता ठग्ने त् कहिले जनता फकाउने रणनीति रहेको उजागर हुन्छ।

थप, यदि एकले अर्कालाई सहयोग नगरी जाने स्थितिमा प्रचण्डले ५१ र केपी ओलीले ४९ सिट संख्या ल्याउने परिकल्पना गर्न सकिन्छ र यो अवस्थालाई नै विसंगत सन्तुलन (The Nash Equilibrium) भनिन्छ, जहाँ ५१,४९ को नतिजा आउन सक्छ र उनीहरु त्यहीं निर्धारित लाभ सहितको बिन्दुमा रहन बाध्य हुन्छन्।

द्रष्टव्य: माथिको आंकडा परिकल्पना गर्दा १०० लाई अधिकतम मानेर गरिएको हो र यो चुनावी बजारमा २ वटा मात्र चुनावी गठबन्धन हुन्छ भन्ने कल्पनामा आधारित छ ।

खेल सिद्धान्तका केही उदाहरण:

कैदीको दुविधा:

यसलाई सरल तरिकाले बुझ्नको लागि, एकै अपराधमा पक्राउ परेका दुई कैदी सम्झनुहोस्। न्यायाधीशसँग अपराधी करार गर्ने केही ठोस प्रमाण छैन। तैपनि, कबूल गरिहाल्छन् कि भनेर दुवै कैदीलाई छुट्टाछुट्टै राखेर सौदा गर्न ४ वटा विकल्प दिने प्रक्रिया हो।

अब यसलाई पनि हाम्रो अहिलेको राजनीतिमा MCC ले निम्त्याएको दुबिधाको स्थितिमा रहेर विश्लेषण गरौँ।

 

यो माथिको बाकसमा दुइटा रणनीति छ – एउटा MCC पारित गर्ने, अर्को MCC पारित नगर्ने। र, सहभागी पनि दुइटा छन् – सत्ता पक्ष, अर्को सत्ता इतर। अब यी रणनीतिबाट आउने नतिजाहरुको ब्याख्या गरौँ :

१. यदि दुवै पक्षले पारित गरे भने , उनीहरु प्रत्येक ५ बर्षे सत्ता हात लगाउन सफल हुनेछन्।

२. यदि सत्ता पक्षले पारित गर्‍यो, तर सत्ता इतरले पारित गरेन भने सत्ता पक्षले ५ बर्ष र सत्ता इतर ० ( सत्ता छैन ) मा सीमित हुन्छ।

३. यदि सत्ता इतरले पारित गर्‍यो, तर सत्ता पक्षले पारित गरेन भने सत्ता इतरले ५ बर्ष र सत्ता पक्षले ० ( सत्ता छैन ) मा सीमित हुन्छ।

४. यदि दुवै पक्षले पारित गरेनन् भने, उनीहरु प्रत्येक सत्ताबाट बन्चित हुनेछन्। त्यसको मतलव दुवै पक्षलाई हात लाग्यो सुन्ना। त्यसपश्चात अर्को खेलाडीको खोजी सुरु हुन्छ।

यिनीहरुको लागि सबैभन्दा उत्तम रणनीति भनेको जनता झुक्याएर MCC पारित गर्नु नै हो।

तथापि, कैदीको दुविधा खेलमा दुवै कैदीलाई अर्काको रणनीतिको पत्तो हुँदैन, तर हाम्रो राजनीतिमा चाहिं यो नियममा अलिकति भिन्नता छ। रणनीति दुवै पक्षलाई थाहा छ, मात्र जनता कसरी झुक्याउने भन्नेमा हलो अड्केको छ।

अधिनायकवादी खेल:

यस खेल सिद्धान्त अन्तर्गत,यो पनि निकै सरल खेल मानिन्छ। मानौं दुई खेलाडी छन् – घामपन्थी र बामपन्थी। यो खेलमा घामपन्थीले बामपन्थीलाई कसरी इनाम विभाजन गर्ने भन्ने निर्णय गर्नुपर्छ। जबकि घामपन्थीको निर्णयमा बामपन्थीको केही भूमिका हुँदैन। यो खेलले व्यक्तिको व्यवहार अंतर्दृष्टि गर्ने मौका प्रदान गर्दछ।

यस खेलमा घामपन्थीलाई निर्धारित धन (संसद वा हैसियत) दिइएको हुन्छ, जसको केही अंश बामपन्थीलाई दिनुपर्ने हुन्छ। बामपन्थीले स्वीकार गर्न पनि सक्छ वा अस्वीकार गर्न पनि सक्छ। खेलको नियमले के भन्छ भने यदि बामपन्थीले प्रस्ताव अस्वीकार गरे, दुवै घामपन्थी र बामपन्थीले केही पनि पाउँदैनन्। अहिले भइरहेको यही हैन त? भुइँको टिप्न खोज्दा पोल्टाको पनि खसेको।

तथ्यहरुले पुष्टि गर्दछ कि ५० प्रतिशतले सबै इनाम आफैसँग राख्छन्, ५ प्रतिशतले मात्र बराबर बाँडफाँट गर्छन् र अरु बाँकी ४५ प्रतिशतले थोरै हिस्सा मात्र दिन्छन्।

स्वयंसेवीको दुविधा:

यो खेलले चाहिं, कोही एकजनाले आम हितका लागि कार्य वा नियन्त्रण आफ्नो अधीनमा लिनु पर्छ भन्ने हो।

यदि कोहि पनि स्वयंसेवी नभएको खण्डमा सबैभन्दा खराब सम्भावित नतिजा प्राप्त हुने निश्चित हुन्छ।

उदाहरणका लागि, मानौं एउटा राजनीतिक दल चरम अस्थीरता र अराजकताबाट गुज्रिरहेको छ। यसका ठालुहरुले यो दुरावस्था पार लाउन सकेनन्। केही तल्लो दर्जाकाहरुलाई उपाय थाहा छ र सुझाव दिन पनि मन छ तर आफ्ना केही हितैषी अपदस्थ हुन्छन् कि भन्ने डरले बोल्ने आँट गरेका छैनन्। यस्तो अवस्था रहिरह्यो र कोही पनि स्वतस्फुर्त स्वयंसेवी भएन भने त्यस दलको दलदलमा भासिने दिन धेरै टाढा हुँदैन। अहिले ठालूहरुको जुँगामा लडाइँमा यस्तै स्वयंसेवीको आवश्यकता परेको हैन र? रमिता हेर्दाहेर्दै रिंगटा लगेर ढल्ने बेला भइसक्यो।

निष्कर्ष :

यो त मात्र एउटा अवस्थामा परिकल्पना गरेर विश्लेषण गरिहेर्‍यौँ। अहिलेका सबै राजनीतिक कर्म, निर्णय र रणनीति हेर्दा यस्तै- यस्तै परिदृश्य देखिनेछ। कांग्रेसको हेरौं, जसपाको हेरौं, अरु बिदेशी क्रियाकलाप हेरौं। सबैतिर लगभग यस्तै अवस्था ब्याप्त छन्।

खेल खेल्नु तर नैतिकतामा रहेर। रणनीति बनाऊ तर जनता ठग्ने उपाय हैन। खबरदार, म फेरि पनि भन्छु बन्द गर नैतिकताको रटान, हामीलाई सहानुभूतिको ताली पाउने कूटिल उपायजस्तो लाग्छ। नभन ‘जनताका लागि’ यो हामीलाई गाली जस्तो लाग्छ। ‘राष्ट्रको हित’ भन्नु त केवल ठगी खाने भाँडो भयो। हामी अभागी नेपालीलाई नेता मात्र हैन, तिमीहरुको छाया पनि घाँडो भयो। जनताले नबुझेका हुन् र तिमीहरुका मुद्दति हुने बिधि र पद्दति?

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्