कोरोना महामारीमा हेलिकप्टर मालामाल, संक्रमितलाई बोक्दा २ लाख रुपैयाँसम्म अतिरिक्त ‘चार्ज’

काठमाडौँ- अल्टिच्युड एयरले सोमबार काठमाडौँमा चारपटक कोरोना संक्रमित ओसार्‍यो। त्यसमा नेपालगन्जबाट मात्र दुईपटक थियो। कपिलबस्तु र हेटौँडाबाट एक एक पटक विरामी ‌‌ओसारेको थियो। अल्टिच्युड एयरका दुई वटा मात्र हेलिकप्टर यतिबेला व्यस्त देखिन्छन्। मंगलबार पनि उसको एउटा हेलिकप्टर हेटौँडा पुगेको छ, कोरोना संक्रमित बिरामी ओसार्न।

सिम्रिक एयरका तीनवटा हेलिकप्टर अहिले व्यस्त छन्। सोमबार काठमाडौंबाट कोरोना संक्रमित लिएर झापा पुगेको थियो। तर ती संक्रमितको मृत्यु भयो। सिम्रिक केही दिनमै थप एउटा हेलिकप्टरलाई सन्चालनमा ल्याउने तयारीमा छ। उसका ५ वटा हेलिकप्टर छन्।

सरकारले सार्वजनिक तथा निजी सवारी साधन सन्चालनमा रोक लगाएसँगै हेलिकप्टरहरु व्यस्त बनेका छन्, कोरोना संक्रमित विरामी ओसार्न। पछिल्लो समय तिव्र गतिमा फैलिरहेको कोरोना संक्रमणबाट गम्भिर बिरामी हुनेको संख्या बढ्दो छ। एम्बुलेन्सलाई समय लाग्ने हुँदा हेलिकप्टर चार्टर्ड गर्नुको विकल्प छैन।

नेपालमा अहिले पाँच हेलिकप्टर कम्पनीले कोरोना संक्रमित विरामी ओसारप्रसार गरिरहेका छन्। अल्टिच्युड र सिम्रिकसँगै श्री एयर, कैलाश र मनाङले कोरोना संक्रमित बिरामी ओसार्ने अनुमति पाएका छन्।

सिम्रिक एयरका कार्यकारी निर्देशक सिद्धार्थ गुरुङले हालसम्म सयभन्दा बढी कोरोना संक्रमितको ‘चार्टर्ड’ फ्लाइट गरिएको बताए। उनका अनुसार संक्रमितलाई बोक्दा एक लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म अतिरिक्त ‘चार्ज’ लिइने गरिएको छ।

‘हामीले महामारीको समय भनेर घण्टाको भाडामा ६ सय डलर छुट दिएका छौँ। तर कोरोना संक्रमित विरामीलाई बोक्दा  पोर्टेबल आइसोलेसन युनिट (पीपियू), पिपिई, स्यानिटाइजेसलगायत प्रयोग हुने भएकाले १ लाख ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म अतिरिक्त चार्ज लिन्छौँ’, गुरुङले भने।

उनले २ घण्टाभन्दा कम फ्लाइट टाइम भएमा एक लाख ५० हजार र त्यसभन्दा बढी समय लागेमा २ लाख रुपैयाँ अतिरिक्त चार्ज लिने गरिएको बताए। चार्टर्ड उडानमा हेलिकपप्टरले घण्टाको १८ सय डलरसम्म लिने गर्छन्।

सिम्रिकले अहिले यसलाई १२ सय डलरमा झारेको गुरुङले बताए। अल्टिच्युड एयरले ८० हजारदेखि एक लाख रुपैयाँसम्म अतिरिक्त चार्ज लिने गरेको छ, कोरोना संक्रमितको ‘चार्टर्ड उडान’मा। उक्त हेलिकप्टरले अवस्था हेरेर घण्टाकव १२ सयदेखि १६ सय अमेरिकी डलरसम्म लिने गरेको बताए।

कोरोनाका गम्भीर विरामी बढिरहेको र तत्कालै अस्पताल पुर्‍याउनुपर्ने बिराम भएको सन्दर्भमा कोरोना संक्रमितको चार्टर्ड उडानका लागि विमानस्थलबाटै उडान अनुमती दिइने ब्यवस्था भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए।

 

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्