विराटनगरमा थपिए १६९ कोरोना संक्रमित

मोरङ– विराटनगर महानगरपालिकामा कोरोना भाइरसका १ सय ६९ जना नयाँ संक्रमित थप भएका छन्।

विराटनगर महानगरपालिका कोभिड १९ संयोजक हैदर अलीका अनुसार मंगलबार ८५ महिला र ८४ पुरुष गरी कुल १ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो।

संयोजक अलीले महानगरपालिका ३ मा सर्वाधिक २८ जनामा संक्रमण देखिएको जानकारी दिए। त्यसैगरि वडा नम्बर १६ र १९ मा भने संक्रमित संख्या शून्य रहेको छ।

महानगरपालिकामा हालसम्म १ हजार ७ सय ५३ जनामा संक्रमण पुष्टि भएको अलीले बताए। यसैबीच सीमावर्ती विराटनगर रानी नाका हुँदै ४४ जना नागरिक नेपाल प्रवेश गरेका छन्।

रानीस्थित महानगरपालिकाको हेल्थ डेस्कका अनुसार प्रवेश गरेका मध्ये १८ जनाको एन्टिजेन परीक्षणमा चारजनाको रिपोर्ट पोजिटिभ आएको छ। जसमा एकजना सुरक्षाकर्मी, एकजना विराटनगर–३ निवासी र बाँकी दुई जना भारतबाट प्रवेश गरेका एक महिला र एक पुरुष रहेको डेस्कले जनाएको छ।

महानगरपालिकाका कोभिड १९ संयोजक अलीका अनुसार सोमबारबाट सञ्चालनमा आएको महानगरपालिकाको ३ वटा पीसीआर परीक्षण केन्द्रमा हालसम्म १ सय १६ जनाका स्वाब संकलन गरिएको छ।

सोमबार पहिलो दिन २९ जनाको स्वाब संकलन गरिएको बताउँदै अलीले मंगलबार ८७ जनाको स्वाब नमुना संकलन गरिएको जानकारी दिए।

त्यसैगरि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ४६, नोबेल शिक्षण अस्पतालमा १ सय ४ र बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा १ सय ३२ गरी कुल २ सय ८२ जना संक्रमितको उपचार भइरहेको छ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्