मेरो संकलनको मुद्राः भाग १

जागिरले मुद्रा चिनायोः खोसिएपछि मदन पुरस्कार दिलायो

पत्तो न फाँटसँग एक्कासी रेडियो नेपालले नाम फुकेपछि अचम्म लागेको थियो। लगत्तै गोरखापत्रको समाचारमा पनि ‘सत्यमोहन जोशी’ नै लेखिएको देखेपछि सकसक लाग्न थालिहाल्यो। २०१६ साल। मुलुककै पहिलो जननिर्वाचित सरकार भर्खर स्थापना भएको थियो। दुइतिहाइ बहुमत ल्याएको जनताकै सरकार भएपछि उसले काम पनि नयाँनयाँ ढंगको गर्न थाल्यो।

‘यिनीहरुले आफ्नै किसिमबाट राज्यको व्यवस्था मिलाउन थालेछन्’ भनिरहेका थियौं। त्यस्तो बेलामा एक्कासी पहिले कसैले नाम पनि नसुनेको पुरातत्व तथा संस्कृति विभागको घोषणा गरिएको थियो। पुरातत्व नामले त एउटा अड्डा पहिले पनि थियो क्यारे! त्यहाँ को थिए र के गरिरहेका थिए भन्ने पत्तो कसैलाई थिएन। अर्को ‘संस्कृति’भन्ने त शब्दै पनि त्यतिन्जेल प्रचलनमा आएकै थिएन। यस्तो अवस्थामा भर्खरै खडा गरिएको पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टरमा सत्यमोहन जोशी भनेर नाम आएपछि मलाइ हुनुसम्मको छटपटी चल्यो।

‘को रहेछ यो सत्यमोहन जोशी?’

नाम मसँगै मिल्दोजुल्दो भए पनि न मैले कतै निवेदन दिएको थिएँ न त यस विषयमा मसँग कसैले कुनै कुरै गरेका थिए। आफू जाबो खरदार मानिस। नन् गजेटेड डिठ्ठा भनौं न! संचयकोष काटेर महिनाको ४२ रुपैयाँ थाप्ने मानिसले एकैचोटि डाइरेक्टर हुने त कल्पना गर्नु पनि मुर्खता जस्तै हुन्थ्यो।

यस्तो अवस्थमा दाबी गर्न जाने कुरा पनि आएन। बिनासित्तिमा बेवकुफ बनिएला भन्ने डर। त्यसैले चुपचाप बसेँ। अलिक दिनसम्म पनि त्यो मानिसबारे थप जानकारी नआएपछि धेरैले ‘तिमी नै होला’भन्न थाले। फेरि अर्काथरि मानिसहरु चाहिँ‘नजाउ है कोहि अर्कै रहेछ भने लाजले मर्नु भएर फर्किनु पर्ला’ पनिभन्थे। उता सायद सरकार पनि सत्यमोहन जोशीलाई पर्खेर बसिरहेको थियो। यता म पनि त्यो सत्यमोहन जोशीलाई नै कुरेर बसिरहेको थिएँ।

थप समय बित्यो।

एकदिन त ‘जे पर्ला पर्ला’ भने जस्तो भयो। विभागीय अर्थात् शिक्षामन्त्री परशुनारायण चौधरी थिए। बसन्तपुरतिरै उनको मन्त्रालय थियो। सोधखोज गर्दा उनी त युनेस्कोको कुनै सम्मेलनमा भाग लिनका निम्ति विदेश पुगेका रहेछन्। यस्तो अवस्थामा उनले हेर्ने शिक्षा मन्त्रालय गृहको जिम्मामा रहेछ।

त्यो बेला सूर्यप्रसाद उपाध्याय गृहमन्त्री थिए। म‘सत्यमोहन जोशी’को जिज्ञासा लिएर गृहमन्त्री भेट्न गएँ। त्योबेला गृहमन्त्रीको अफिस अहिलेको जस्तो भब्य थिएन। एउटा‘पार्टिसन’जस्तो गरेर राखेको थियो। त्यहिँभित्र मन्त्री बस्थे। बाहिर निजी सचिव हुन्थे। मैले सचिवलाई गएर भेटेँ। चिट लेख्न लगाए। पिउनले मन्त्रीलाई दिएपछि एकैछिनमा बोलाइयो।

मन्त्रीको अगाडि बस्ने मेच भएता पनि म उभिएरै आमनेसामने भएँ।

‘किन आउनु भयो?’मन्त्रीले सोधे।

मैले कारण बताएँ।

उनले यसो घुरेर हेरे। भर्खरको ठिटो अगाडि उभिएको छ।

उनी पाको मानिस थिए। आँखाको भाव हेर्दा पत्यार नलागेको मानिसलाई नियालिरहे जस्तो गर्दै थिए।

‘त्यो हाम्रो लोक संस्कृति भन्ने किताब लेख्ने मानिस थाहा छ तपाइलाई?’ उसैगरि घुरेरै सोधे।

मैले ‘थाहा छ’भनेँ।

‘को हो?’ उनीबोले।

‘त्यो त मैले नै लेखेको हो’ भनेँ।

‘तपाइँले हो?’ उनका घुरिरहेका आँखा अचम्म मान्न थाले। त्यसपछि लगत्तै आफू अगाडिको मेचमा इशारा गर्दै भने, ‘ल बस्नुस्।’

म बसेँ।

उनले फेरि ‘त्यो मदन पुरस्कार तपाईँले नै पाएको हो?’ भनेर सोधे।

मैले पनि ‘हो मैले नै पाएको हो’ भनेर जवाफ फर्काएँ।

‘त्यसो हो भने यो डाइरेक्टरको नियुक्ति पनि तपाईँलाइ नै दिएको हो’ उनले भने।

मलाई भित्रभित्रै आश्चर्य र छटपटी दुवै चल्न थाल्यो।

त्यो पुस्तकको सन्दर्भ बेग्लै थियो।

निकैअघि सरकारले मलाई सर्भे गर्न तनहुँ लमजुङतिर खटाएको थियो। त्यति बेला काम गर्दागर्दै मलाई त्यो भेगमा प्रचलित पश्चिमका लोकभाकाहरुले असाध्यै प्रभावित पारेको थियो। मैले भ्याएसम्म ती भाकाहरु संकलन गरेको थिएँ। फर्केर काठमाडौं आएपछि रेडियोमा गएर गाउने काम पनि गरेँ। त्यसैगरि तिनै लोकभाकाहरुलाई समेटेर एउटा पुस्तक पनि निकालेको थिएँ। त्यो पुस्तक ‘हाम्रो लोक संस्कृति’ले नै मलाई तीनवर्ष अघि मदन पुरस्कार दिलाएको थियो। त्यो पुरस्कारको घोषणा हुनासाथ २०१३ सालमा पहिलो पटक मैले नै पाएकोले पनि त्यसको धेरै चर्चा भएको थियो।

सत्यमोहन जोशीको संकलनमा रहेको मुद्रा। तस्बिर: गिरीश गिरी/देशसञ्चार

तर, पुस्तक लेख्नु र डाइरेक्टर हुनु त बेग्ला बेग्लै कुरा थियो।

‘एक त त्यो किताब मेरो मौलिक रचना नभई लोकले गाउने शब्दलाई मैले संकलन मात्रै गरेको हुँ,’ मैले गृहमन्त्रीलाई सोधेँ, ‘यस्तो अवस्थामा यो पुरातत्व भनेको चाहिँ के हो र यहाँ के काम गर्ने हो भन्ने मलाई थाहा नै छैन। आज्ञा होस्।’

गृहमन्त्री फेरि घुरेर हेर्न थाले।

‘झन् तपाईँ जान्ने मान्छे हो भनेर हामीले तपाईँलाई नै नियुक्ति गरिरहेका छौं,’ उनले भने, ‘अब तपाईँले नै जे जे मन पर्छ गर्नुस्।’

त्यसपछि म फर्कें, पुरातत्व तथा संस्कृति विभाग गएँ र दिइएको पद सम्हालेँ। अब जानेसम्म र भ्याएसम्मको काम गर्नुबाहेक मसँग अरु विकल्प थिएन।

यस्तोमा मैले त्रिचन्द्र कलेज पढ्दा बखतका क्षण सम्झेँ। त्योताका कलेजमा पढाइको बीचबीच थुप्रै ‘ग्याप’ हुन्थे। त्यस्तो समय कहाँ जाऔं के गरौं हुन्थ्यो। धेरै विद्यार्थी त त्यो बरण्डामा ओहोर दोहोर गरेरै बिताउँथे। म चाहिँ वरपर के के रहेछ भन्दै नियाल्थेँ। छेवैमा घन्टाघरको मुन्तिर पछाडिपट्टि वीर पुस्तकालय थियो।

पुस्तकालयको परिसर बाहिर जहिले पनि थुप्रै कागजपत्र र पाण्डुलिपिहरु सुकाएर राखिरहेका हुन्थे। दिनभरि घाममा सुकाइसकेपछि फेरि पोका पारेर बाँध्दै भित्र थन्क्याउन लैजान्थे। मलाई त्यो दृश्य निकै चाखलाग्दो भएकाले नजिकै गएर तीगतिविधि हेरिरहन्थेँ। त्यसको धेरै वर्षपछि यसरी पुरातत्व विभागको डाइरेक्टर भएपछि मलाई फेरि त्यहि दृश्यहरुले झक्झक्यायो। मैले वीर पुस्तकालयलाई सम्झेँ।

लगत्तै मेरो कार्यालयमा वीर पुस्तकालयका हाकिम आइपुगे। उनी राजपरिवारसँगै जोडिएका कुनै चौतारिया पनि थिए।उनका साथमा पण्डितहरु पनि विभागमा आएका थिए। भेटघाट र औपचारिक कुराकानी सकिएपछि फर्कने बेलामा ‘अब वीर पुस्तकालय हेर्न कहिले आउनुहुन्छ?’ भनेर सोधे।

त्यो मेरो चाहनाकै कुरो थियो। मैले‘छिट्टै आउँछु’भनेर जवाफदिएँ। एकदिन पूर्व जानकारी दिएरै गएँ। उनीहरुले त्यहाँ भएका पाण्डुलिपिदेखि लिएर पुराना पौभा चित्रहरु एक एक गरेर देखाए। मेरो आँखाका सामुन्ने कलेजका तिनै पुराना यादहरु दौडिरहेका थिए। त्यसै क्रममा एकजना कर्मचारीले त्यहिँकतै राखिएको एउटा घैँटो ल्याएर मेरै सामुन्ने खन्याए। त्यस घैँटोमा पुराना मुद्राहरु अझ खासगरि लिच्छविकालीन सिक्काहरु थुपारिएर राखिएको थियो। मैले त्यसका बारेमा थप जिज्ञासा राखेँ। उनीहरुले पनि मलाई जानेसम्मका कुरा बताइदिए।

त्यो दिनसम्म मैले मुद्रा भनेको बजारमा चलनचल्तीका सिक्काहरुलाई मात्रै बुझ्दै आएको थिएँ। त्यसपछि भने यस भित्र पनि इतिहासदेखि सभ्यता र संस्कृति सम्मका महत्वपूर्ण जानकारीहरु अटाएका हुँदा रहेछन् भन्ने थाहा पाएँ। अझ त्यो भन्दा पनि बढ्ता त राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताका प्रामाणिक इतिहासहरु यसले समेटेर राख्दो रहेछ भन्ने बुझ्न पाइयो। त्यसभन्दा पहिले मैले पृथ्वीनारायण शाहकै पालाको मुद्राधरि देखेको थिइँन। जबकि त्यो घैँटोबाट लिच्छविकालीन मुद्राहरुसमेत निस्कँदै थिए।

सत्यमोहन जोशीको संकलनमा रहेको लिच्छिवीकालीन मुद्रा। तस्बिर: गिरीश गिरी/देशसञ्चार

मलाई मुद्राले थप जिज्ञासु बनाउँदै लग्यो।

यसरी म अब विभाग फर्केर यो मुद्रा सम्बन्धी कामलाई पनि आफू मातहत ल्याउने र यसबारे थपखोजी तथा अनुसन्धान बढाउने निधोमा पुगेँ।

ऐतिहासिक अन्वेषण र पुरातात्विक उत्खनन्‌का क्षेत्रहरु खोज्दै जाने क्रममा म काभ्रेको खोपासी पुगेँ। त्यहाँ गाउँकै हाराहारीमा एउटा ज्यादै भग्न अवस्थाको पुरिएको पुरानो इनार थियो। त्यो इनारमा उत्खनन गराउँदा त्यहाँ प्राचीन मूर्ति र भाँडाकुँडाका अतिरिक्त लिच्छवीकालीन मुद्राहरु पनि भेटिए। त्यस्तै प्रयोगात्मक उत्खनन् कार्य सुरु गराउँदा काठमाडौं उपत्यकाभित्रै पनि लैनचौरबाट गैह्रीधारा जाँदा टुकुचे खोलाको फाँटमा लिच्छवीकालीन थुप्रै मुद्राहरु भेटिए।

यसरी धमाधम महत्वपूर्ण मुद्राहरु फेला पर्दै जान थालेपछि मैले विभाग अन्तर्गत एउटा ‘मुद्राशाखा’ नै खडा गरेँ। मुद्राको संकलन, अन्वेषण, अध्ययन र प्रकाशनको जिम्मेवारी त्यो शाखालाई दिएँ। यसरी लिच्छवीकालीन मात्र नभई मल्लकालीन र शाहकालीन महत्वपूर्ण मुद्राहरुको समेत विवरण र ऐतिहासिक अभिलेखसहितको सूची तयार हुँदै गयो।

यसै क्रममा यो विषयलाई लिएर मेरो कार्यालयमा मानिसहरुको आउजाउ र भेटघाट पनि बाक्लिँदै जान थाल्यो। त्यो एक दिन म अहिले पनि सम्झन्छु। एकजना नपत्याउँदो मानिस मेरो कार्यालयमा आइपुगे। उनी साथमा एउटा चाँदीको मुद्रा बोकेर आएका थिए।

‘यो अलिक पुरानो मुद्रा छ,’उनले भने, ‘के कस्तो मुद्रा हो एकपटक हेरिदिनु पर्‍यो।’ मैले एकैछिन यसो नियालेँ। त्यो त महेन्द्र मल्लको पालाको असाध्यै दूर्लभ मुद्रा पो रहेछ। त्यो मुद्रा विभागलाई सुम्पनका निम्ति उनलाई के कसो गर्नुपर्छ भनेर यसो बुझेर हेरेँ। त्यसपछि ती मानिसलाई चित्त बुझ्नेगरी ‘पत्रमपुष्पम’को तत्काल बन्दोबस्त गर्न लगाएँ। उनी खुशीखुशी गए। त्यो दुर्लभ मुद्रालाई मैले विभागमा सुरक्षित ढंगले राख्न लगाएँ।

त्यही मुद्रालाई केन्द्रमा राखेर मैले थप मुद्राहरुको खोजीलाई झनै तीब्रता दिएँ। शाह, मल्ल सबै कालका पैसाहरु थुपारेँ। त्यो सस्तोको जमाना थियो। मैले पैसा तिरेरै मुद्रा संकलन गर्न खोजेपछि अलिअलि गरेर मानिसहरुले पनि दिन थाले। यसरी गर्दागर्दै टन्न मुद्रा संकलन भयो।

यसरी मुद्रा जम्मा भएपछि एकजना मोतीलाल नामका परिचित शिल्पकार थिए। उनी अंग्रेजी पढ्नका निम्ति नियमितजसो मेरै घरमा आउँथे। उनैलाई मैले काठको क्याबिन बनाउने र त्यसमा मखमल हालेर पैसा सजाएर देखाउन मिल्ने हिसाबले तयार पार्न लगाएँ। मोतीलालले तयार पारेको फ्रेममा राखेर मुद्राको तस्बिर खिच्दै क्याटलग पनि बनाउन लगाएँ।

त्यतिबेलै राजा महेन्द्रबाट २०१७ सालको कदम चालियो। पुस १३ गते गठित नयाँ मन्त्रीमण्डलमा भूवनलाल प्रधान शिक्षा सहायक मन्त्री बनेर आए। उनैलाई उद्घाटन गर्न लगाएर वीर पुस्तकालयमा मुद्राको प्रदर्शनी आयोजना गरेँ। त्यसले मुद्राको महत्व र यस सम्बन्धी चेतनालाई झनै धेरै चर्चामा ल्यायो।

प्रदर्शनी सकिएपछि सम्पूर्ण मुद्राहरुलाई फ्रेमसहित हनुमान ढोकामै राख्न लगाएँ। त्यसरी सुम्पिएको ती मुद्रा अहिले पनि संग्रहालयमा छ। त्यसमध्ये पनि विशेष त उहि महेन्द्र मल्लको मुद्रा हो। त्यसले हाम्रो सार्वभौमसत्तासँग जोडिएको इतिहासलाई नै नयाँ मोड दिएको छ। अहिले पनि छाउनीस्थित राष्ट्रिय संग्रहालयमा महत्वका साथ राखिएको त्यो मुद्राका बारेमा म यो श्रृंखलाको आगामी अंकमा विस्तारमा भन्नेछु।

यता शाहीकदमबाट शासनसत्ता पल्टिएपछि सबै क्षेत्र डगमगाउन थाल्यो। जननिर्वाचित सरकार अपदस्त गरेको दुईमहिना पनि नबित्दै फागुनको २० गते गृह मन्त्रालयबाट एउटा पूर्जी आएको जानकारी मैले पाएँ। त्यो पूर्जी कता बुझाइएको थियो त्यो त अहिले याद भएन। तर, त्यसमा मलाई पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टरबाट हटाइएको जानकारी चाहिँ घरैमा पाएको थिएँ।

मैले जानकारी पाएको भोलिपल्टै नवनियुक्त गृहमन्त्री विश्वबन्धु थापालाई भेट्न गएँ। भेटघाटमा आफ्नो सम्पूर्ण कुरा राखेँ। ‘म माथियस्तो नहुनुपर्ने’ भनेर सुनाएँ। मेरो कुरा सुनिसकेपछि गृहमन्त्री थापाले ‘हुने कुरा भइसक्यो। अब के गर्ने? राजालाई निवेदन गरे हुन्छ’भनेर सुनाए।

मैले राजालाई किन निवेदन दिने? निवेदन दिने कुरै थिएन र दिइँन। पछि उतिबेला खोसिएका धेरै मानिसलाई फेरि फिर्ता गरिएता पनि मलाई पुननियुक्त गरिएन। मैले कसैसँग सोधीखोजी पनि गरिनँ। विश्वबन्धुले मेरो ठाउँमा उनैको भतिजा रमेशजंग थापालाई नियुक्त गरिदिए।

मानिसहरु अहिले सबै बिग्रेको भन्छन्। मैले देख्दा त बिग्रेको त्यसै बेलादेखि हो।

जतिसुकै इमान्दारीपूर्वक काम गरे पनि, कतै कुनै लागलपेट नभएको मानिसलाई अचानक बर्खास्त गरिदिने र आफ्ना मानिसलाई भर्ति गर्ने काम उतिबेलै देखि भएको हो। आफ्नै पार्टीका तर्फबाट नियुक्ति दिएका मानिसहरुलाई त त्यतिबेला निकालेका मन्त्रीहरुले म कुनै पार्टीमा नलागेको मानिसलाई झन् किन फिर्ता बोलाउँथे?

त्यसमाथि म भन्दा पनि उ बेलाका कत्राकत्रा प्रशासकहरु हिमालय शम्शेर, भीमबहादुर पाँडे, कुलनाथ लोहनीदेखि लिएर हुलाकका जीवनलाल सत्यालसम्म खोसिएको बेला मेरो मात्र के कुरा थियो? अब घरमा त्यत्तिकै बसिरहनु संभव थिएन। मैले आफूलाई ब्यस्त राख्ने कुनै उपायको खोजी सुरु गरेँ। पुरातत्व विभागमा कार्यरत रहँदा मलाइ असाध्यै रुची जागेको विषय त्यहि मुद्रा थियो। डाइरेक्टर छँदै मैले सकेसम्म मुद्राहरु संकलन गर्ने र तिनको इतिहास तथा विकासक्रमबारे जानकारी समेटिसकेको थिएँ। मैले फूर्सदको सदुपयोग गर्दै थप खोजी सुरु गरेँ।

मुद्रामार्फतै पाँचौ सताब्दीका राजा मानदेवदेखि तत्कालीन राजा महेन्द्रसम्मको जानकारी जम्मा पारेँ। त्यसो त महेन्द्रले मलाई खोसेका थिए। तर, त्यस्तो कुरामा रिसइवी गरेर बस्नु बुद्धिमानी हुन्थेन। मैले इमान्दारितापूर्वक सबै जानकारी संकलन गरेँ। अझ मुद्राकै कारणले राजाका शक्तिशाली सचिव काजी हंशमान सँग नजिकिएँ। त्यो बेला उनी काजी पनि भइसकेका थिएनन्, सरदारै थिए।

काजी तुलसीमान सिंहका छोरा हंसमानसँग पुराना मुद्राहरुको असाध्यै ठूलो संकलन रहेछ। तर, मुद्रा मात्र भएर के गर्नु? कुन मुद्राको के कस्तो महत्व हो भन्ने चाहिँ उनलाई थाहा थिएन। उनी यस विषयमा आफूलाई सघाइदिन सक्ने कुनै मानिसको खोजीमा थिए। यता म पनि थप महत्वपूर्ण मुद्राको खोजी गरिरहेकै थिएँ। यस्तोमा हंसमानका आसेपासेहरुले मैले मुद्राको अध्ययन गरिरहेको जानकारी उनीसम्म लगिदिएछन्।

राजा त्रिभुवनदेखि वीरेन्द्रसम्मै नारायणहिटीका प्रमुख सचिव रहेका हंसमानसँग भेट्न पाउनु चानचुने कुरा थिएन। दरबारको प्रमुख सचिव मात्र नभइ त्यो समय निजामती सेवाकै सर्वोच्च व्यक्ति पनि उनै थिए। नेपालमा पढाइ सकेर उतिबेलै उनले बनारसबाट स्नातकोत्तर गरेर आएका थिए। उनले पुस्तकहरु पनि लेखिसकेका थिए।

विभिन्न सुत्रहरुबाट सरदारले मसँग भेट्न चाहेको जानकारी पाएपछि मैले पनि ‘हुन्छ’भनिहालेँ। उनी प्रत्येक बिहान बागमती किनारको पचली पुग्दा रहेछन्। त्यहाँ एउटा काजीघाट छ। त्यहीँ सरदार हंसमानसँग भेटघाट भयो। सामान्य औपचारिकता पूरा गरेपछि हामी मुद्राकै विषयमा केन्द्रित भयौं।

‘मसँग मुद्राको संकलन भएता पनि त्यसबारे उति राम्रो जानकारी नभएकोले वर्गीकरण गर्न सकेको छैन,’उनले मलाई भने, ‘थुपारेर राख्ने काम मात्रै गरिरहेको छु। तपाइँ यसै विषयमा काम गर्न खोज्नुभएको रहेछ। एकपटक आएर मसँग भएका मुद्रालाई हेरिदिनुस् न।’

त्यो ताका संकलन गर्नेहरुसँग अनेक किसिमका मुद्रा हुन्थे। त्यो सक्कली मुद्रा हो कि होइन वा त्यसको महत्व के छ भनेर थाहा पाउन सीप नै चाहिन्थ्यो। म यस्ता कुरा मोटामोटी थाहा पाउन सक्ने भइसकेको थिएँ। देवनागरि त अहिलेको भइहाल्यो। लिच्छविलिपिमा लेखिएको हो कि?त्यसको प्रवृत्ति कस्तो छ? बुट्टा कस्तो छ? कुन राजाको पालाको हो? चाँदिको हो कि सुनकै मुद्रा हो? त्यसैगरि तामाका मुद्रा पनि प्रशस्तै हुन्थे।

पचलीको अलिकता मात्र पर सरदार हंसमानको घर थियो। केहि मिनेटको मात्र दूरीमा। उनले मलाइ घर लगे। मैले उनलाई सक्दो सहयोग गरिदिएँ। यसरी हामीबीच मुद्राको जिज्ञासाले नजिक्याएको सम्बन्ध त्यसपछि पनि अगाडि बढ्यो।

हामीबीच अन्तरंग कुराकानी हुन थाले। तर, जतिसुकै नजिकको सम्बन्ध भएता पनि मैले राजाको कदमपछि जागिर खोसिएको विषयमा उल्लेखै गरिनँ। त्यो मलाई लागेको आलो घाउ भएता पनि यी दरबारका प्रमुख सचिवसँग किन खोलिराख्नु भन्ने लाग्यो। फेरि यस्तो कुराबारे उनी जानकार नहोलान् भन्ने पनि त थिएन। हामी मुद्राकै कुरामा बढी केन्द्रित भयौं र तिनै कुराले हामीलाई बाँध्दै पनि लगे।

मैले यसरी संकलन गरेका जानकारीहरु समेटेरै पुस्तक तयार पारेँ।उक्त पुस्तक अर्थात् ‘नेपाली राष्ट्रिय मुद्रा’ले मलाइ दोश्रो पटक मदन पुरस्कार दिलाएको थियो। त्यसलगत्तै त्यो पुस्तकलाई त्रिभुवन विश्वविद्यालयले पनि स्नातकोत्तर तहमा समावेश गरेपछि त्यसको महत्व झनै बढ्न पुग्यो।

(प्रस्तुति: गिरीश गिरी)

बैशाख २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्