अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टुआर्ट म्याकगिललाई अपहरण गरेकाेआरोपमा चारजना पक्राउ

सिड्नी – अस्ट्रेलियाका पूर्व टेष्ट क्रिकेटर स्टुआर्ट म्याकगिललाई अपहरण गरेकाे आरोपमा न्यूसाउथवेल्स प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

प्रहरीले घटनाका पीडित व्यक्तिको नाम सार्वजनिक नगरे पनि डेली टेलिग्राफले घटनाका पीडित व्यक्ति पूर्वक्रिकेटर स्टुआर्ट म्याकगिल रहेको पुष्टि गरेको छ।

न्यूसाउथवेल्स प्रहरीले गत अप्रिल १४ तारिखका दिन बेलुकी आठ बजेतिर म्याकगिललाई न्यूसाउथवेल्सको क्रिमोर्नस्थित पाराविन र विनी स्ट्रिटको चोकबाट केही व्यक्तिले एउटा कारमा हालेर लगेको र तत्पश्चात् सिड्नीको पश्चिमी क्षेत्रमा पर्ने ब्रिञ्जेली भन्ने ठाउँको एक घरमा लगेर यातना र धम्की दिएको दाबी गरेको छ।

म्याकगिललाई एक घण्टापछि सिड्नीको बेलमोरमा छोडिएको थियो भने घटनाबारे बुधबार २० अप्रिलमा प्रहरीलाई रिपोर्ट गरिएको पनि न्यूसाउथवेल्स प्रहरीले जनाएको छ।

अनुसन्धानपछि प्रहरीले आज बिहान २७, २९, ४२ र ४६ वर्षीय चार व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउपछि ती चार व्यक्तिलाई स्थानीय प्रहरी कार्यालयमा लगिएको छ भने उनीहरूमाथि मुद्दा दायर गर्ने पनि प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको पनि न्यूसाउथवेल्स प्रहरीले जनाएको छ ।

स्टुआर्ट म्याकगिलले अस्ट्रेलियाका लागि सन् १९९८ देखि सन् २००८ सम्म ४४ टेष्ट र ३ एकदिवसीय म्याच खेलेका छन् ।

बैशाख २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्